नेपालमा सबैभन्दा पछि २०६७ (सन् २०१०) मा घोषणा गरिएको राष्ट्रिय निकुञ्ज ‘बाँके राष्ट्रिय निकुञ्ज’ हो । हालसम्म नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज घोषणा भएका छन् ।
अब त्यसमा फेरि अर्को एक राष्ट्रिय निकुञ्ज थपिएछ – त्यो हो, ‘मेरापिक राष्ट्रिय निकुञ्ज ।’ यो निकुञ्ज मकालु बरुण राष्ट्रिय निकुञ्जबाट छुट्याएर अलग्गै बनाइँदैछ । हुन पनि पहिलेको मकालु बरुण राष्ट्रिय निकुञ्जमा रहेको वेला सोलुखुम्बु जिल्लाको उत्तर पूर्वी भाग, ‘महाकुलुङ’ क्षेत्रका जनताहरु मकालु बरुण राष्ट्रिय निकुञ्जभित्र केही छिसिक्क भयो कि उजुरबाजुर गर्न, काठदाउरा, जडीबुटी संकलन, जंगली जनावरले दिने दुःख, बाढीपहिरो, अल्लो संकलन, चरिचरन, प्राकृतिक स्रोतसाधनको प्रयोगजस्ता कामका परेमा निवेदन दिन र मुद्दामामिला परेमा मकालु बरुणको कार्यलय रहेको संखुवासभा जिल्लाको सेदुवासम्म पुग्नुपर्ने अवस्था थियो ।
फलस्वरुप, सोलुखुम्बु जिल्लातर्फका जनताले मकालु बरुण राष्ट्रिय निकुञ्जबाट सेवाभन्दा पनि दुःख पाउँदै आएका छन् ।
त्यसैले सोलुखुम्बु जिल्लाको उत्तर पूर्वी भाग खासगरी महाकुलुङ क्षेत्रका जनताले राष्ट्रिय निकुञ्ज हुनैपर्ने भए सोलुखुम्बुतर्पmको भूभागलाई छुट्याएर अलग्गै राष्ट्रिय निकुञ्ज घोषणा गर्र्न धेरै समयदेखि मागगर्दै आएका थिए ।
नेपाल सरकारले भने धेरैपछि मात्रै स्थानीय जनताको माग सुनेर विसं २०७८ मंसिरमा वन तथा वातावरण मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट प्रस्तावित ‘मेरापिक राष्ट्रिय निकुञ्ज’ सम्भाव्यता अध्ययन कार्यदल गठन गर्यो । कार्यदलले विसं २०७९ वैशाखमा आधिकारिकरुपमा स्थानीय जनताका लागि सूचना जारी गर्यो । यसको अर्थ स्थानीय जनताहरुसँग ‘मेरापिक राष्ट्रिय निकुञ्ज ’ अलग्गै गठन गर्न आवश्यक भए नभएको बारे राय, सुझाव माग्ने रहेको थियो । तर, प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा सम्भाव्यता अध्ययन कार्यदलले सूचना जारी गर्नेबित्तिकै मौकामा चौका हान्न अपायकका जिल्ला र गाउँपालिकाले समेत आफूहरु पनि समेटिनुपर्ने दाबी गरे ।
कार्यदलले वास्तविकता बुझेपछि सो समस्या सल्टिनेवाला छ । पहिलेको राष्ट्रिय निकुञ्जले ओगटेको भूक्षेत्रमध्ये सोलुखुम्ब जिल्लामा पर्ने साबिक गुदेल, छेस्खाम र बुङ गाविस हाल महाकुलुङ गाउँपालिकामा पर्ने भूभाग छ सय ४८ दशमलव पाँच वर्ग किलोमिटर क्षेत्रको मेरापिक नै राष्ट्रिय निकुञ्ज घोषणा गरिनुपर्छ ।
अझ ‘मेरापिक राष्ट्रिय निकुञ्ज’ भन्दा पनि ‘महाकुलुङ राष्ट्रिय निकुञ्ज’ र नभए कम्तीमा मेरापिक–महाकुलुङ राष्ट्रिय निकुञ्ज वा ‘महाकुलुङ–मेरापिक राष्ट्रिय निकुञ्ज नाम राख्दा राम्रो हुने देखिन्छ । किनभने, महाकुलुङ भूक्षेत्रमा कुलुङ जातिको लगभग ९०/९१ देखि ९३/९४ प्रतिशतसम्म (एकल बस्ती ) जनसंख्या रहेको छ । कुलुङ जातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि पनि हो – ‘महाकुलुङ क्षेत्र ।’ देशका कुनै पनि जातजाति वा भाषाभाषीको अन्तराष्ट्रियस्तरमा चिनारी हुनु, विकास हुनु, उत्थान हुनु र नाम रहनु भनेको देशकै चिनारी हुनु हो, नाम रहनु हो विकास हुनु हो, उत्थान हुनु हो ।
त्यस्तै नेपालका प्राचीन जातिहरुमा पर्ने किरात महाजातिभित्रका एक कुलुङ जातिको उद्गम थलो ‘महाकुलुङ’ भूमिलाई “महाकुलुङ सम्पदा पदयात्रा मार्ग’ (महाकुलुङ हेरिटेज ट्रेल’) को रुपमा विकास गर्नुपर्छ । रसुवामा “तामाङ सम्पदा पदमार्ग” निर्माण गरिएको छ । सोलुखुम्बु जिल्लाको उत्तरपूर्वी क्षेत्रको तत्कालीन छेस्खाम, बुङ, गुदेल, सत्तो (सोताङ), पावै आदि गाविसलाई ‘महाकुलुङ भूमि’ भनी चिनिन्छ । हाल किरात संवत् (यले दोङ ५०८२) चल्दै छ भने कुलुङ समुदायको जीवनचक्रअनुसार गएको पुस १५ गतेदेखि यले दोङ ५०८२ सुरु भयो । पहिलो महिनाको नाम ‘चाक्चाकूर’ हो । विक्रम संवत्को पहिलो महिनाको नाम वैशाख भने झंै कुलुङ जीवनचक्र अनुसार यले दोङको पहिलो महिनाको नाम हो ‘–चाक्चाकूर ।’
कुलुङ जातिभित्रै विभिन्न भाषिका छ । ऐतिहासिक र परम्परागत भूमि छ । त्यसबाहेक जसरी अरु समुदायमा आफ्नै थर र उपथरहरु रहेको हुन्छ, कुलुङ जातिमा पनि विभिन्न थर, उपथर रहेको छ । त्यसैले कुलुङ जातिभित्रै बिहाबारी गर्ने चलने छ । केही समय अघिसम्म समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी माल सामान आफैँ बनाउने गर्थे ।
जस्तै शिकार खेल्न चाहिने बन्दुक, भाला आदि अनि कृषिका लागि चाहिने कोदालो, कुटो, फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडाहरु कुलुङ समुदायभित्रकै विभिन्न थरका कुलुङहरुले नै बनाउँथे । जस्तै गोक्तूलू, मोरोखू, वारोखू आदि थरका कुलुङहरुले त्यस्ता सामग्रीहरु बनाउँथे । तर, कुलुङ जातिमा त्यसरी काम गरेकै आधारमा छुवाछूत मान्ने/गर्ने प्रचलन भने थिएन ।
यस पंक्तिकारसँगको भेटमा पहिले महाकुलुङ क्षेत्रको गुदेल गाविसको चाचालुङ गाउँमा बसेका र हाल बुङ गाउँमा बसाइँ सरेर आएका रामकाजी सेन्च्युरी (विश्वकर्मा) आफैँले तत्कालीन गुदेल गाविसको चाचालुङ गाउँमा एक मोरोखु थर (थरलाई कुलुङहरु पाछा भन्छन्) का मान्छेले बटुका बनाएको देखेको र फलाम, तामा आदि कुट्दा पाता अढ्याउने (कुलुङ भाषामा लिङ/लिङ्खो/लिक्खो) देखेको बताउँछन् ।
जसरी रसुवा जिल्लाको ब्रिदिम, थोङमेन, तातोपानी आदि क्षेत्रलाई समेटेर ‘तामाङ हेरिटेज टे«ल’ बनाइएको थियो त्यसरी नै हुँगा उपत्यकामा रहेका छेम्सी, छेस्खाम, मामेर्कू, बुङ, खार्दो, गुदेल, चाचालुङ/चोचोलुङ नाम्लुङ, सनम त्यु, बूकूर, साल्पा, केन्पा, सिलिछो आदि गाउँठाउँलाई समेटेर ‘महाकुलुङ हेरिटेज ट्रेल’ घोषणा गर्न र, पर्यटकीय गतिविधि बढाउन स्थानीय वासिन्दाले तयारी गर्नुपर्ने देखिन्छ ।
यस कामका लागि केन्द्रमा पनि पहल गर्नुपर्ने हुन्छ । त्यसो गर्न सकेमा ‘मेरापिक राष्ट्रिय निकुञ्ज’ वा ‘महाकुलुङ राष्ट्रिय निकुञ्ज’ गठन भएसँगै पछिसम्मका लागि राज्यका साथै स्थानीय बासिन्दाका लागि पनि फलदायी हुनेछ ।