site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपक–दीपाको सिनेमाको शैलीमा नेपाली चलचित्र उद्योग
SkywellSkywell

काठमाडौं । पछिल्लो केही समययता सिनेमा हलमा रिलिज भएका र बक्सअफिसमा राम्रो रेकर्ड बनाएका चलचित्र कुन–कुन हुन् ? ‘कबड्डी–४’, ‘झिँगे दाउ’ र ‘दुई नम्बरी’ । सामाजिक विषयवस्तु उठान गरिए पनि यी चलचित्र हास्यप्रदान हुन् । प्रत्यक्ष होस् वा परोक्ष कमेडी जानरासँग जोडिएका चलचित्र हुन् । ‘दुई नम्बरी’ कमेडी रोमान्स हो ।

शुक्रबारदेखि प्रदर्शनमा आएको ‘के घर के डेरा’ले पनि हँसाउने प्रयास गरेको छ । काठमाडौंमा घरको सपना देख्ने पात्रहरू चलचित्रमा छन् । तर, चलचित्रको जानरा कमेडी ड्रामा हो । ‘गोपी’ र ‘घामपानी’ बनाउने निर्देशक दीपेन्द्र लामाले ‘दुई नम्बरी’ र ‘छ माया छपक्कै’ निर्देशन गरे ।

‘चिसो मान्छे’, ‘पशुपतिप्रसाद’, ‘आमा’ निर्देशन गरेका दीपेन्द्र के खनालले ‘चंगा चेट’, ‘के घर के डेरा’ निर्देशन गरे । अब ‘चंगा चेट–२’ निर्देशनको तयारीमा छन् । यो तथ्यले गम्भीर र क्रिएटिभ सिनेमा बनाउने मेकर पनि विस्तारै कमेडी जानरातिर ढल्किएका हुन् ? 

KFC Island Ad
NIC Asia

यसको विकल्प नरहेको कलाकार तथा निर्माता दीपकराज गिरी बताउँछन् । कलाको नाममा चलचित्रमा कला मात्र प्रस्तुत गर्नु ‘रिस्क गेम’ भएको दीपक बताउँछन् । नेपाली सिनेमामा त्यति धेरै दर्शक नै नरहेको र त्यसमा पनि गम्भीर सिनेमाका दर्शकको संख्या निकै न्यून रहेको यथार्थ भुल्न नहुनेमा उनको जोड छ ।

हिट ‘भनिएका’ चलचित्रले नै दुई/तीन करोड कमाउने तर त्यति त औसतमा सिनेमाको लगानी नै हुने गरेको उनको भनाइ छ । एकाध सिनेमाले मात्र राम्रो कमाइ गर्ने अन्यथा लगानी गुमाइरहेको अवस्थामा कस्तो चलचित्र चल्छ भन्ने मूल कुरालाई नजरअन्दाज गर्न नहुनेमा उनको जोड छ ।

Royal Enfield Island Ad

“पैसा उठाउनु पर्दैन, लगानी जेसुकै होस् म सिनेमा आफ्नै लागि मात्र बनाउँछु भन्ने हो भने ठिकै छ,” दीपक भन्छन्, “चलचित्र व्यवसाय पनि हो र यसले पैसा पनि कमाउनुपर्छ भन्ने हो भने गम्भीर र मिनिङफुल चलचित्र बनाएर अहिले नेपालमा चल्दैन ।”

दर्शक रमाइलोका लागि चलचित्र हेर्न हलमा जाने उनी बताउँछन् । “म मेरा चलचित्रकर्मी साथीहरूलाई प्रश्न गर्छु– मान्छे आज बोर भयो सिनेमा हेर्न जाऊँ भन्छ कि लौन केही सिक्न आज हलमा जाऊँ भनेर भन्छ ?”, उनी अगाडि थप्छन्, “दर्शकको उद्देश्य आज मनोरञ्जनका लागि सिनेमा हल जाऊँ भन्ने हो । हलमा गएर रोदन, पीडा मात्रै हेर्न दर्शकको चाहना छ कि छैन भन्ने मुख्य कुरा हो । दर्शक हलमा जाने वा नजाने यसले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छ ।”

केही समीक्षक र चलचित्रकर्मीले आफूलाई ‘यस्तो पनि चलचित्र बनाउने ?’ भन्दै गाली गर्ने गरेको दीपक बताउँछन् । यद्यपि, ‘छक्का पञ्जा’लाई नै दर्शकले लालमोहर लगाइदिएको उनको भनाइ छ । “दर्शकको चाहना दीपक–दीपाले बनाउने खालको सिनेमा रहेछ भनेर बुझ्नुपर्नेमा उल्टै यस्तो हावा सिनेमा पनि चल्न थाले भनेर अपव्याख्या गरेर बसे,” उनी सुनाउँछन्, “तर, अन्ततः इतिहासमा कि धेरै कमाउने चर्चामा रहेको चलचित्रको नाम रहन्छ कि अन्तर्राष्ट्रियजगत्मा गएर अवार्ड पाएको सिनेमाको नाम लेखिन्छ ।”

अन्तर्राष्ट्रिय बजारमा जान नसक्ने र घरेलु बजारमा पनि दर्शकले मन पराउँदैनन् भने केका लागि चलचित्र बनाउने भन्दै दीपक प्रश्न गर्छन्, “कि म नेपाली चलचित्र नेपाली कथा राम्रोसँग भनेर विदेशी बजारमा पुर्‍याउँछु, तर नेपालमा नचले पनि ठिकै छ भनेर बनाउन सक्नुपर्‍यो, होइन भने मेरो चलचित्र नेपाली बक्सअफिसमा चलेन भनेर टाउको दुखाउनु हुँदैन ।” 

दीपन्द्र के खनालको चलचित्र ‘चिसो मान्छे’ नेपालमा चलेन भनेर गुनासो गर्न नहुने दीपकको धारणा छ । ‘पानीफोटो’ मिनिङफुल होला, तर यहाँ यो चलचित्र चलेन भनेर गुनासो गर्न नहुनेमा उनको जोड छ । “यी चलचित्रमा जुन पीडा र हाम्रो कालो अतीतलाई देखाएको छ, यसका दर्शक सीमित छन् । यी चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लगेर हामी यो स्थितिबाट गुज्रिएर आयौँ भनेर भन्न सकिन्छ,” उनी भन्छन्, “होइन भने रमाइलो चलचित्र बनाएर दर्शकलाई दुई घण्टा मनोरञ्जन दिनुस्, चलचित्र चल्छ ।”

विस्तारै आफू र आफ्नो टिमले वकालत गरेको धारमा सिनेमाहरू आउन थालेको दीपक बताउँछन् । तर, तिनै गाली गर्नेहरूले आफूहरूलाई फलो पनि गर्न थालेको उनको जिकिर छ ।

बलिउडका सिनेमा हिट हुन कठिन भइसकेको भन्दै दीपक सुनाउँछन्, “अहिले साउथ इन्डियनहरू बलिउडका सिनेमा कलात्मकता भन्दै हलिउडका सिनेमाको नक्कल गर्ने चक्करमा नचलेको भनिरहेका छन् । त्यही बजारमा साउथका सिनेमा हिट भइरहेका छन् । कारण, उनीहरू आफ्नै तरिकाले कथा भनिरहेका छन् ।”

नेपालमा बलिउड वा हलिउडका कथा भन्ने शैली पछ्याउन जरुरी नरहेको उनी बताउँछन् । आफूले आफ्नै शैलीमा ‘छक्का पञ्जा’को भनिरहेको र ‘कबड्डी’ टिमले आफ्नै शैलीमा कथा भनिरहेको तथा त्यसैलाई दर्शकले लालमोहर लगाइदिएको सत्यलाई स्वीकार गर्नुपर्नेमा उनको जोड छ ।

कसैको शैली फलो नगरी आफैँले नयाँ शैली विकास गर्न आवश्यक रहेको उनी औँल्याउँछन् । अरूको फर्मुलामा सिनेमा बनाएर नचल्ने उनको भनाइ छ ।

गम्भीर विषयवस्तु उठान गरेका प्रयोगवादी सिनेमा नचलेको हास्यकलाकार हरिवंश आचार्य बताउँछन् । आफूले पनि हेरेका प्रयोगवादी सिनेमा हलमा नचलेको उनको भनाइ छ ।

“मैले पनि केही समय अगाडि रिलिज भएका चार÷पाँचवटा प्रयोगवादी सिनेमा हेरेँ । मलाई राम्रो पनि लाग्यो । तर, दर्शकलाई कमर्सियल पञ्च भएन । जति राम्रो व्यापार हुनुपर्ने थियो, त्यति भएन भन्ने सुनियो,” हरिवंश भन्छन्, “मेरो अनुभवका आधारमा भन्ने हो भने २०/२५ वर्ष अगाडि हामीले सिनेमा बनाउने ट्रेन्ड पनि छोड्नुपर्छ । र, पूर्ण प्रयोगवादी धार पनि छोड्नुपर्छ ।”

पहिलाको चलचित्रको केही ट्रेन्ड र नयाँबाट पनि केही कुरा लिएर दुवैलाई मर्च गरी बनाउन सके दर्शकले रुचाउने उनको विश्वास छ । दुवैको फ्युजन गरेर बनाइएका चलचित्रले बजार बनाउने उनको अपेक्षा छ ।

“यसका लागि मेकर दक्ष हुनुपर्नेछ । प्रोडुसरले काम दिँदा यसले काम गर्न सक्छ भनेर नाडी छामेर दिनुपर्छ । काम गर्ने व्यक्तिमा त्यो आत्मविश्वास पनि हुनुपर्छ,” उनी अगाडि थप्छन्, “हाम्रोमा अहिले चलचित्र बनाउने भनेर मात्रै बनाइरहेको अवस्था छ जस्तो लाग्छ । बनिसकेपछि त्यसलाई दर्शकले कसरी लिन्छन्, चल्छ कि चल्दैन, लगानी कसरी सुरक्षित गर्ने भन्ने कुरामा खासै ध्यान नदिएजस्तो लाग्छ ।”

क्रिएटिभ सिनेमालाई लगानी उठाउन नै हम्मेहम्मे पर्न थालेपछि यस्तो चलचित्र बनाउँदै आएका मेकरलाई समस्या हुन थालेको छ । क्रिएटिभ सिनेमाकेन्द्रित हुँदा लगानी गुम्ने डर र मनोरञ्जनात्मक चलचित्र बनाउँदा आत्मसन्तुष्टि नहुने मजधारमा निर्देशक तथा निर्माता रहेको निर्देशक नरेशकुमार केसी बताउँछन् ।

बजारले मागेजस्तो र आफूले चाहेजस्तो सिनेमा सँगैसँगै बनाउनुपर्ने अवस्था रहेको नरेशको अनुभव छ । उनैले सुरुमा ‘डाइङ क्यान्डल’ निर्देशन गरेर पछि ‘रोमियो एन्ड मुना’ निर्देशन गरे ।

व्यक्तिगत रूपमा एक्लै क्रिएटिभ सिनेमा बनाउन कठिन रहेको उनको भनाइ छ । “बजारले खोज्ने पपुलर सिनेमा बनाउने कि मनैदेखि बनाउन चाहेको मिठो कथा क्रिएटिभ तरिकाले भन्ने भन्ने दोधारमा मेकर पुगेका छन्,” नरेश भन्छन्, “क्रिएटिभ सिनेमा नचल्दा प्रोडुसरलाई लगानी गर्न डर छ । दुवै खालका सिनेमा बनाउन सक्ने ठूला कर्पोरेट हाउस र स्टुडियो छैनन् ।”

लगातार लगानी डुब्दै जाने र ठूलठूला स्टुडियो र कर्पोरेट हाउसको लगानी सिनेमामा नहुँदा क्रिएटिभ मात्र बनाउँछु भन्न सकिने अवस्था नरहेको उनी बताउँछन् । “सबै खालका सिनेमा बनाउने स्टुडियो र कर्पोरेट हाउस भएको भए क्रिएटिभ सिनेमा मात्रै बनाउने निर्देशक तथा लेखकले म पपुलर सिनेमा बनाउँदिनँ भनेर बस्न सक्थ्यो होला,” उनी भन्छन्, “तर, एउटा सिनेमा डुब्दा अर्को सिनेमा बनाउन नसक्ने हाम्रो सिनेमा उद्योगमा रिस्क लिन नै कठिन छ । त्यसैले निर्देशकले रोजेर म यस्तो सिनेमा गर्दिनँ भन्ने अवस्था नभएकाले पपुलर सिनेमा गर्नुपर्ने अवस्थामा धेरै निर्देशक पुगिसकेको अवस्था छ ।”

पछिल्लो समय चलचित्र बनाउन कम्तीमा साढे दुई करोड रुपैयाँ लगानी लाग्न थालेको छ । त्यसैले व्यक्तिविशेषले बनाउने एउटा सिनेमाको लगानी डुबे उसले पुनः अर्को सिनेमा बनाउन सक्ने अवस्था निकै कम हुने उनको भनाइ छ । यही कारण नेपालमा अधिकांश प्रोडुसर दोहोरिँदैनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  ०५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro