काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धनमा आवद्ध दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताएका छन् । शुक्रबार सत्तारूढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने बताए ।
उनले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर आफूले रुख चिह्नमा छाप लगाइसकेको र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाइसकेको टिप्पणी गरे । प्रचण्डले वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू मिलेर नै देशमा ठुल्ठुला परिवर्तन सम्भव भएको भन्दै प्रतिगमनलाई परास्त गर्न मिलेर अगाडि जानुपर्ने बताए ।
"रुखलाई हँसिया हथौडामा भोट हाल्न गाह्रो । रुख र हँसिया हथौडालाई कलममा भोट हाल्न गाह्रो । कलमलाई फेरि रुख, हँसिया हथौडामा भोट हाल्न गाह्रो भयो भनेको जस्तोपनि सुनिन्छ । कतिपयले प्रचार गर्दा आफ्नो त प्रचार गरिन्छ । अर्काको त प्रचार गरिँदैन । आफ्नो पार्टीको नभएको उमेदवारको त प्रचार गरिँदैन भनेको पनि मैले यदाकदा सुनेको छु । म साथीहरूलाई छातीमा हात राखेर विचार गर्न अनुरोध गर्न चाहन्छु, के सात राजनीतिक दलको तर्फबाट गिरिजाप्रसाद कोईराला र तत्कालीन विद्रोहीको तर्फबाट मैले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नु सही थियो कि गलत थियो । यदी त्यो सही थियो भने मैले भन्ने गरेको छु त्यही दिन हँसिया हथौडावाला म रुखमा मैले छाप लगाइदिएको हो । गिरिजाप्रसाद कोइरालाले रुख उहाँले हँसिया हथौडामा छाप लगाइदिनुभएकै हो," उनले भने ।