काठमाडौं । रूपान्तरणकारी योजनाका रूपमा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्राे जलविद्युत परियोजनाको उत्पादनतर्फको निर्माणस्थल र वितरणतर्फको प्रसारण लाइनको प्रगतिको सम्बन्धमा आज एक उच्चस्तरीय अनुगमन भ्रमण सम्पन्न गरिएको छ ।
उक्त भ्रमणको नेतृत्व नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले गरेका हुन् । भ्रमणमा नेपाल सरकारका सचिवहरू, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत लगायत उच्चपदस्थ अधिकारीहरू तथा परियोजना विकासकर्ता कम्पनीका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो ।
भ्रमणका क्रममा परियोजनाको बाँधस्थल, विद्युत गृह, प्रसारणलाइन क्षेत्रसमेतको स्थलगत अनुगमन गरी स्थानीय तह, स्थानीय प्रशासन तथा अन्य सरोकारवालासँग संखुवासभा र धनुषा गरी दुई स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा अरुण तेस्राे जलविद्युत परियोजना र प्रसारण लााइन तोकिएको समयमै सम्पन्न गर्ने सम्बन्धमा विकासकर्ताले उठान गरेका साथै परियोजना प्रभावित क्षेत्रका स्थानीय सरोकारका विषयहरूमा छलफल भएको बताइएको छ ।
छलफलका क्रममा नेपाल सरकारका मुख्यसचिव बैरागीले परियोजना कार्यान्वनयका क्रममा आउन सक्ने विभिन्न अवरोध तथा सार्वजनिक सरोकारका विषयहरू समाधान तथा सहजीकरणका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिए । साथै, उनले विकासकर्ताले निर्वाह गर्नुपर्ने वातावरणीय र सामाजिक दायित्व तथा विभिन्न स्थानीय लाभका योजनाहरू तोकिएको समयमै कार्यान्वयन गर्न समेत निर्देशन दिएका छन् ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले अरुण तेस्राे जलविद्युत परियोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन नमुना परियोजना रहेको चर्चा गर्दै यसलाई बिना अवरोध प्रभावकारी रूपमा अन्तरनिकाय समन्वयबाट तोकिएको समयमै सम्पन्न गरी मुलुकमा लगानीमैत्री वातावरण रहेको सन्देश प्रवाह गर्नुपर्ने बताए । उनले परियोजनाबाट प्रत्यक्ष र अप्रत्यक्ष लाभ स्थानीय बासिन्दा र नेपाल सरकारले समेत प्राप्त गर्ने हुँदा छिटोछरितो ढंगले परियोजना सम्पन्न गर्न सबै सरोकारवालासमक्ष आवश्यक सहयोगका लागि आह्वान गरेकाे बोर्डका सूचना अधिकारी राजु प्रसाद गुरागाईंले जानकारी दिए ।