काठमाडौं । धेरै मेकरले चलचित्र चलाउने योजना नै नबनाई सिनेमा बनाउने गरेको अभिनेता हरिवंश आचार्य बताउँछन् । “चलचित्र बनाउने बनाउने भन्यो बनायो । त्यसैगरी चलचित्र बनिरहेका छन् । बनिसकेपछि कसरी चलाउने, धेरैभन्दा धेरै दर्शकसामु कसरी पुर्याउने भन्ने कुरा सोचेको पाइँदैन,” उनी भन्छन्, “लगानी कसरी सुरक्षित गर्ने, प्रोडुसरले गरेको लगानी कसरी फिर्ता हुन्छ भन्ने सोचेको पाइँदैन ।”
कुनै निर्देशकले दर्शकको अपेक्षा पूरा गर्ने आत्मविश्वास प्रोडुसरलाई भएपछि मात्र सिनेमा बनाउने जिम्मा दिनुपर्ने उनको धारणा छ । यसमा निर्देशक स्वयं पनि आफूले गर्ने काममा दृढ हुनुपर्नेमा उनको जोड छ ।
नेपालमा अहिले बनेका संख्यामा चलचित्र आवश्यक नरहेको हरिवंश बताउँछन् । नेपालमा वार्षिक सयवटासम्म चलचित्र बन्न थालिसकेका छन् । “नेपालमा अहिले बनेजति चलचित्र बन्न आवश्यक छैन । वर्षमा १०/१२ वटा चलचित्र बने हाम्रो नेपाली बजारलाई पुग्छ,” उनी अगाडि थप्छन्, “संख्यामा धेरै भएर मात्रै हुँदैन, थोरै भए पनि राम्रो भए पुग्छ ।”
अहिले चलचित्रको माहोल बनाउनेसँग भने राम्रा सिनेमाको अपेक्षा गर्न सकिने उनको विश्वास छ । नयाँ आउने र सिनेमासम्बन्धी पूर्ण जानकारी नभएका व्यक्तिलाई सुरुमै निर्देशन गर्न दिन नहुने उनको धारणा छ ।
“नयाँ आउनेलाई सिधै निर्देशन गर्न दिनुभन्दा पनि कम्तीमा ५/६ वटा सिनेमा असिस्ट गरेर मात्रै निर्देशन गर्ने व्यवस्था मिलाउन सके सम्भवतः धेरै राम्रो र क्वालिटीको काम हुन्छ,” उनले बाह्रखरीसँग भने, “अनुभव नभएको व्यक्ति एकैपटक निर्देशक भइरहेका छन्, यसको पनि नेपाली सिनेमा उद्योगमा असर परिरहेको छ ।”
निर्देशक ज्ञानेन्द्र देउजाको मत पनि हविंशको भन्दा फरक छैन । नेपालमा बनिरहेका चलचित्रको संख्यालाई उनी ‘ओभर फ्लो’ भन्छन् । आवश्यकताभन्दा धेरै चलचित्र बन्दा मिहिनेत पनि नपुगेको उनी सुनाउँछन् ।
“चलचित्र जति धेरै बन्छन्, त्यति नै मिहिनेत पनि कम हुन्छ । राम्रो कथा छैन । राम्रो गीत छैन । चलचित्र चलाउने राम्रो भिजन निर्माणमा मिहिनेत छैन,” ज्ञानेन्द्र भन्छन्, “यो भनेको संख्या धेरै हुँदा त्यसमा मिहिनेत नपुगेको हो । त्यसैले अहिलेका लागि हाम्रोमा बनिरहेका चलचित्रको संख्या ओभर फ्लो हो ।”
चलचित्र बनाउनभन्दा पनि चलाउन कठिन रहेको उनको अनुभव छ । प्रदर्शन हुने हलको अभाव र दर्शकको अभाव चलचित्रको ओभर फ्लो पनि एउटा कारण भएको उनको बुझाइ छ । “चलचित्र बनाएर मात्रै पनि हुँदैन, त्यसलाई चलाउनुपर्छ । चलाउन चलचित्रको संख्या नै धेरै हुँदा हलको पनि अभाव हुन्छ,” निर्देशक ज्ञानेन्द्र भन्छन्, “अर्को महत्त्वपूर्ण पक्ष त दर्शकले नै हेरिदिनुपर्छ । यसका लागि मिहिनेत गरेर बनाइएको राम्रो चलचित्र नै चाहिन्छ ।”
सय चलचित्र बने पनि वार्षिक रूपमा ५/६ वटाभन्दा धेरै नचलेको उनको भनाइ छ ।
धेरैको रोजीरोटी सिनेमा उद्योगबाटै चलेकाले यसका लागि छिटो–छिटो चलचित्र बनाउँदा पनि गुणस्तरमा कमी आएको उनको बुझाइ छ । तर, सस्तोमा कमजोर चलचित्रमा काम गर्नुभन्दा मिहिनेत गरेर त्यहीअनुसारको पारिश्रमिक लिन सकिने र गुणस्तरीय काम गर्नेतर्फ ध्यान दिनुपर्ने उनको धारणा छ ।
निर्देशक निश्चल बस्नेतको धारणा भने सिनेमाको संख्यालाई लिएर केही फरक छ । जति धेरै सिनेमा बन्यो, त्यसबीचबाट त्यति धेरै राम्रो चलचित्र आउने उनी बताउँछन् ।
“संख्या कम हुँदैमा राम्रो सिनेमा बन्छ भन्ने ग्यारेन्टी गर्न सकिँदैन । धेरै सिनेमा बन्द धेरै च्वाइसबाट राम्रो सिनेमा बन्ने सम्भावना धेरै हुन्छ । जति धेरै बनायो, त्यति धेरै अनुभव हुन्छ र बजारका बारेमा बुझिन्छ,” निश्चल भन्छन्, “जति धेरै सिनेमा बन्यो, त्यति धेरै आर्ट र क्राफ्ट बुझिन्छ । यति मात्रै हो, धेरैभन्दा धेरै सिनेमा राम्रो बन्यो भने चलचित्र उद्योगलाई फाइदा हुन्छ ।”
हरेक ग्रेडको चलचित्र नेपालमा बनेको बताउने निश्चल क्षमता भएको व्यक्तिले मोबाइलबाटै सिनेमा बनाउन सक्ने अहिलेको समयमा कसैले कसैलाई रोक्न नसक्ने बताउँछन् ।
सिनेमा स्टोरी टेलिङको माध्यम भएकाले कुन चलचित्रले कति बेला प्रभाव राख्न सक्छ भन्ने दायरा नहुने भन्दै उनी अगाडि थप्छन्, “जुनसुकै व्यक्तिले जतिसुकै बेला आश्चर्यजनक रूपमा प्रभाव पार्ने स्टोरी टेल गर्न सक्छ । आर्टमा सधैँ यो सम्भावना हुन्छ ।”
ग्राहकले राम्रो चलचित्र हेर्ने भन्दै क्वालिटी भएको सिनेमा जतिसुकै संख्यामा आए पनि चल्ने र दर्शक हलमा जाने उनको जिकिर छ । प्रदर्शकले सिनेमाको मेरिटलाई हेरेर शो दिने गरेको भन्दै उनी भन्छन्, “तीनवटा उस्तैउस्तै सिनेमा बने भने प्रदर्शकले जुन राम्रो र मनोरञ्जनात्मक छ, त्यसैलाई प्राथमिकता दिन्छ होला । दर्शक जेमा आउँछन्, त्यसैले हल पाउँछ,” निश्चल भन्छन्, “जुन सिनेमा डिजर्भिङ छ, त्यसले हल पाइरहेको छ र दर्शक पनि आइरहेका छन् ।”