काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । जिम्मेवारी सम्हालेको ४५ दिनमै उनले पदबाट राजीनामा दिएकी हुन् । तर, नयाँ प्रधानमन्त्री नचुनिएसम्म सरकारको नेतृत्व उनी आफैँले सम्हाल्नेछिन् ।
नेपाली समयअनुसार बिहीबार साँझ उनले डाउन स्ट्रिट बाहिर एक विज्ञप्तिमार्फत् कन्जरभेटिव पार्टीको नेता र प्रधानमन्त्रीबाट राजीनामा दिएकी हुन् । उनले अर्को हप्ताभित्र पार्टीको नयाँ नेतृत्व चयन भइसक्ने बताएकी छन् ।
असफल बजेट र अस्थिर अर्थतन्त्रलाई व्यवस्थापन गर्न नसकेको भन्दै उनकै पार्टीबाट उनको कडा आलोचना भइरहेको थियो ।
उनले आफू विश्वले ठुलो आर्थिक संकटको सामना गरिरहेका बेला सरकारको नेतृत्वमा आएको र युक्रेन युद्धका कारण अर्थतन्त्र बिग्रिएको बताएकी छन् ।
साथै उनले आफूले पार्टीबाट पाएको आदेशको डेलिभर गर्न नसकेको स्वीकार गरेकी छन् ।
ट्रसले गएको सेप्टेम्बर ६ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।
बीबीसीबाट ।