पर्वहरु मान्ने, मनाउने क्रम अन्तःशुद्धिको लागि प्रयोग गर्नुपर्छ । पर्व केही सांस्कृतिक छन् देव, देवीसँग जोडिएका ।
धार्मिक आस्था र विश्वासले बाँधिएका पर्व प्रचलनमा निरन्तर छन् । पर्वको विविधता छ तर समय अगम्य, गम्य दुवै छ ।
हाम्रो नेपाली समाज यतिबेला पर्वहरुको ‘मुड’मा छ । भर्खरै दसैँ सकियो । संघारमा तिहार छ । उज्यालो तत्त्वबोधको सात्विक पर्व । सँगै उपस्थित छ राजनीतिक चुनावी पर्व – चुनावी माहोल । चाडबाडको उद्गम समय तालिका कहिले ? अगम्य छ, अनुमानित होला । चुनावी पर्वको जन्म तालिका करिब पाँच शतकको होे । गम्य छ ।
दसैं, तिहार अध्यात्मबोधी पारम्परिक पर्व । कतिऔं वर्षदेखि हाम्रो समाजलाई यस चाडले उद्वेलित स्फूर्त गरिरहेछ ? थाहा छैन तर हामी प्रत्येक वय वर्षसँगै उक्लिँदै यसरी नै रमाइरहेका छौँ । वा दुःखी रहेका छौँ । स्थापित संस्कृतिको निरन्तरतामा कडी जोड्दै ।
पर्व पहिचान पनि हो अर्थात् संस्कृति । चुनाव पनि संस्कृति हो । आध्यात्मिकभन्दा अधुना राजनीतिक संस्कृति । संस्कृति सभ्यताको पहिचान हो । चाहे आध्यात्मिक परम्पराबोधी संस्कृति वा राजनीतिक संस्कृति । दुबैले आआफ्नो पहिचान दिन्छन् ।
अध्यात्मआश्रित संस्कृतिको स्थापित परम्परा (निरन्तरता) भिन्न कारण र राजनीतिक संस्कृतिको परम्परामा अर्कै कारण छ । मूलतः दुवै परम्पराले ग्रहण गरेको सांकृतिक आकृतिको सम्बोधन भने मानव समुदाय केन्द्रित नै छ ।
पूजा गाईको होस् कि गोरुको वा रुखको होस् वा नाग (सर्प)को । त्यस्तै कुकुर पूजा नै किन नहोस् । हाम्रो संस्कृति अनन्तको पुजारी हो । मूर्तिकै सही तर सबैको प्रयोक्ता पुजारी मानिस नै हो ।
मुख्यतः पर्व वा चाड जसलाई भन्ने गरियो त्यो धेरै पुरानो, पराप्राचीन छ । शब्दको अर्थ विस्तारले राजनीतिक प्रतिनिधिको चुनावलाई पनि अचेल पर्व वा चाड भन्न थालिएको छ । अर्थात् राजनीतिक पर्व । पर्व समूहमा सबैले एकसाथ मनाउने हुँदो रहेछ । एक्लै त के पर्व होला र ?
हामीले छनोट गरेका देवी, देउतालाई पुकारेर दसैं, तिहार पर्व मनाउँदै गर्दा यस वर्ष ‘जनता जनार्दन’ले राजनीतिक प्रतिनिधि छनोट गर्ने छन् । छनोट दुवै हाम्रा आफ्नै हुन् । राजनीतिक सन्दर्भमा ‘जनता जनार्दन’ सैद्धान्तिक उक्ति हो । व्यवहार त देखे, भोगेकै छ ।
हामीले मनाउने पारम्परिक खास भनिने चाडपर्व प्रत्येक वर्ष समाजिक रंग भर्दै आउँछन् । जान्छन् पनि प्रत्येक वर्ष आआफ्नै प्रकारको अनुभूति बाँडेर । सबैको आफ्नै सीमा, सरोकार छन् । संस्कृति विविधता, जातीय विविधताकै रुप पहिचान हो ।
जातीय मात्रै किन ? प्राकृतिक बहुरुप पनि संस्कृतिको बहुलता वा विविधता नै हो । विविधता पुँजी हो । पुँजीले विविधतालाई ग्राह्य बनाउँछ, समेट् छ । त्यसैले त आध्यात्मिक चिन्तन प्रेरणा दिने सामाजिक पर्वहरुलाई प्रकृतिसँग पनि जोडियो । कर्म जस्तै–कृषि कर्मसँग पनि जोडिएको छ र अर्थतन्त्रमा सांस्कृतिक पर्वको प्रभाव पनि विश्लेषण गरिन्छ ।
भन्ने गरिएको चाडपर्व प्रत्येक वर्ष । राजनीतिक पर्व, आवधिक निर्वाचनको पाँच वर्षमा एकपल्ट । प्रजातान्त्रिक प्रणालीअन्तर्गत हुने निर्वाचनको आवधिक समय सामान्यतः पाँच वर्ष तोकिएको हुन्छ । तर अमेरिकामा चाहिँ चार वर्षको छ ।
पर्व संस्कृति हो । संस्कृतिमा विकृति पनि आउँछ । मनाउँदै, मान्दै विकृतिलाई पन्छाउँदै संस्कृतिको शुद्धीकरण गर्ने हो । शुद्धीकरण गर्न छोडेर विकृतिकै कति रोइलोमात्रै गाउने ? आखिर संस्कृति र विकृति त सँगसँगै छन् नि साथीजस्ता । के ठीक हो ? चिन्ने र बेठीक पर्गेल्ने त हामीले नै हो नि । त्यसैले त मानिसलाई विवेकी बनाएको हो प्रकृतिले ।
हो, राजनीतिक पर्व सामु हामी छौँ । प्रजातान्त्रिक अभ्यासले विकसित गरेको पाँच वर्षमा हाम्रो घर आँगनमा आउने चुनावी पर्व आएको छ । राजनीतिमा आएको विकृति, भित्र्याइएको विसंगति र लोकतन्त्रलाई कुरुप पारिएको वा दुर्गतिविरुद्ध जनशक्तिले प्रहार गर्ने मौका हो यो । चुक्नु हँुदैन । चुकेपछि चुक्चुकाउनुको अर्थ नै के रहन्छ र ?
राजनीतिक शुद्धीकरणको लागि चुनावी पर्व मौका हो । समग्र राजनीतिको शुद्धीकरण । दलको, नेताको शुद्धीकरण । नेतृत्वको परिमार्जन । नेतृत्वको हस्तान्तरण । मतदाताले गर्दिने हस्तान्तरण । हराएर, जिताएर । यस्तो मौका र अवसर मतदाता नागरिकलाई छ प्रतिनिधि छनोटबाट । मौका छ – सुयोग्य पात्र वा दल छनोट गर्ने ।
सबभन्दा राम्रो, समावेशी र जनपक्षीय मानिएको अहिलेसम्मको प्रणालीमा प्रजातान्त्रिक, बहुदलीयता नै हो । दलीय राजनीतिको विकल्प छैन । दलीय राजनीतिमा जतिसुकै राम्रो सिँगारिए पनि स्वतन्त्रको हैसियत खासै रहँदैन । जति गरे पनि ऊ मूलधारबाट बाहिरै हो प्रभावहीन । विगतले पनि देखाएको यही हो ।
हाम्रो प्रणालीमा जित्ने त दलले नै हो । दलको चाहिँ शुद्धीकरण गर्दिनुपर्छ, यो आवश्यक छ । स्वतन्त्र उमेदवारी प्रजातन्त्रले नै दिएको स्वतन्त्रता प्रतिकूल त मानिदैन तर प्रजातन्त्रमा विकृतिको द्योतक चाहिँं हो यस्तो उमेदवारी ।
शुद्धीकरणको लागि मुक्त आलोचनात्मक चेत चाहिन्छ । त्यही चेतले निर्देशित गरेको मार्ग अवलम्बन गर्दा नै आलोचनात्मक चेतको मर्म र प्रभाव रहने हो । कुरा काट्नु चेतनाको प्रतीक हुँदैन । लिने आलोचनात्मक चेत, हिँड्ने अर्को बाटो त हामी कसैलाई पनि सुहाउँदैन ।
आलोचनात्मक चेतको विस्तार र प्रभावको लागि पनि लोकतन्त्र जो चाहिन्छ । लोकतन्त्रले नै राजनीतिमा विविध बहुलता चुन्ने, छान्ने र रोज्ने स्वतन्त्र अवसर दिएको छ । विचार होस् कि व्यक्ति रोज्ने स्वतन्त्र अवसर । पाँच वर्षमा आएको, पाएको अवसर खेर फाल्नु भएन । यो शुद्धीकरणको पर्व जो हो ।
मान्दै, मनाउँदै पर्वहरुलाई शुद्धीकरण र खुसी वा सुखी बनाउँदै जाने हो । राजनीतिक होस् कि अध्यात्म निर्देशित नै किन न हुन् । विकृतिहरुलाई न्यून पार्दै, नियन्त्रण गर्दै । समयलाई अग्रगामी शुद्धीकरण दिने हो । बुझिल्याए, पर्व भनेकै यही त हो नि । शुद्धिीकरणमै प्रयोग, उपयोग वा सदुपयोग गर्ने हो पर्वलाई । चाहे जुनसुकै पर्व होउन् ।