काठमाडौं । नेपाली रजतपटमा कसको जोडी व्यवसायिक रूपमा सफल छ ? हिरो, हिरोइन अथवा सेम जेन्डरका हेभीवेट कलाकारमध्ये कसको जोडी सफल छ ? धेरै चलचित्रमा उही कलाकार दोहोरिँदैनन् । दोहोरिए पनि लगातार चलचित्र चलेका छैनन् । पछिल्लो समय थिएटरको पृष्ठभूमिबाट आएर बाक्लै रूपमा स्क्रिन सेयर गर्ने कलाकार सेम जेन्डरमा दयाहाङ राई र सौगात मल्ल हुन् । उनीहरूले पनि त्यति धेरै सँगै काम भने गरेका छैनन् । उनीहरूले स्क्रिन सेयर गरेका चलचित्र हुन्, ‘लुट’ सिरिज, ‘फन्को’, ‘लप्पन छप्पन’, ‘हाइवे’, ‘मुखौटा’, ‘बधशाला’, ‘छड्के’, ‘कबड्डी’ सिरिज र ‘२ नम्बरी’ ।
यीमध्ये कुन–कुन चले र कुन–कुन चलेनन् ? ‘लुट’ र ‘कबड्डी’ सिरिज राम्रोसँग चले । ‘छड्के’ले इनिसियल दर्शकको साथ पायो । राम्रो हाइप बनाएको ‘फन्को’, ‘लप्पन छप्पन’, ‘छड्के’, ‘मुखौटा’, ‘हाइवे’, र ‘बधशाला’ हेर्न दर्शकले उत्साह देखाएनन् । बाँकी रह्यो, २ नम्बरी । यो चलचित्रले हलमा दर्शक तानिरहेको छ । बक्सअफिसमा उत्साहजनक ग्रस कलेक्सन गरिरहेको छ ।
त्यसो भए के दयाहाङ र सौगाताको जोडीलाई नेपाली रजतपटको हिट जोडी भन्न मिल्छ ? दुवै नाटकको बाटो हुँदै सिनेमामा आइपुगे । दयाहाङले ‘दासढुंगा’बाट आफूलाई रजतपटमा पदार्पण गरे, सौगातले ‘कागबेनी’बाट ।
दुवैको अभिनयमा अब्बल रहेको छवि छ । फ्यान फलोइङ र लोभलाग्दो क्रेज छ । त्यसैले उनीहरूमा निर्माता र निर्देशकको नजर छ । परिणाम, उनीहरूले थुप्रै चलचित्रमा अभिनयको अवसर पाए । यहीबीचमा सौगातले थोरै क्रेज बिगारे । कारण, उनले स्क्रिप्ट र निर्माण टिम नहेरी चलचित्र खेले । जसका कारण उनका चलचित्र दर्शकले करिब–करिब नोटिस गर्न छोडेभन्दा अतित्युक्ति हुँदैन । सौगातका चलचित्र पर्खिएर बस्ने दर्शकको संख्या घट्यो । दयाहाङले भने केही होस पुर्याए । अफर आएजति सबै चलचित्र खेलेनन् ।
बल्लबल्ल जुरेको दयाहाङ र सौगातको जोडी
पछिल्लो समय दयाहाङ र सौगातले सँगै अभिनय गरेको चलचित्र २ नम्बरीमा यी दुई कलाकार कसरी जोडिए ? सुरुमा दयाहाङ रहे पनि सौगात थिएनन् । सौगातको ठाउँमा विपीन कार्की थिए । स्क्रिप्ट पढेर विपीनले ‘खेल्छु’ पनि भनिसकेका थिए । तर, पछि ‘प्रसाद–२’ छायांकन पनि त्यही समयमा हुने भनिएपछि विपीनले भ्याएनन् । उनी सल्लाहले नै बाहिरिए ।
त्यसपछि दयाहाङको साथीका रूपमा आइपुगे, निश्चल बस्नेत । उनले पनि सिनेमाको कथा मन पराए । उनैले आफूसँग राम्रो गीत आइपुगेको भन्दै दीपेन्द्र लामालाई सुझाए । दीपेन्द्रलाई पनि गीत मन पर्यो । उनले सिनेमामा राखे ।
सम्झौता गर्ने समय आयो । त्यसका लागि टुंगो लाग्नुपर्थ्यो पारिश्रमिक । त्यसमै कुरा अड्कियो । पारिश्रमिकमा कुरा मिलेन । निश्चलले ‘२ नम्बरी’ नखेल्ने भए ।
त्यसपछि आइपुगे चकलेटी हिरो, पल शाह । दयाहाङको एक प्रकारका दर्शक छन् । पलको क्रेज युवापुस्तामा थियो । कमर्सियल हिसाबले पनि निर्माण पक्षले पललाई भित्र्यायो ।
पाँच दिन छायांकन पनि भएको थियो । तर, कोरोना संक्रमणको त्रासका कारण लकडाउन सुरु भयो । छायांकन रोकियो । त्यहीबीचमा पलविरुद्ध बलात्कारको आरोपमा मुद्दा दायर भयो । उनी प्रहरी हिरासत हुँदै जेल पुगे । पल २ नम्बरीबाट स्वतः बाहिरिए ।
छायांकन सुरु भइसकेको थियो । अब दयाहाङको नयाँ साथी फेरि खोज्नुपर्ने भयो । दीपेन्द्रको दिमागमा आए सौगात । अफर गरे । उनले स्क्रिप्ट मागे । चित्त बुझेछ । ‘खेल्छु’ भने । र, सौगातसँग जोडी बाँधियो दयाहाङको ।
हेभीवेटमा प्रतिस्पर्धाको जोखिम
दयाहाङ र सौगात नेपाली सिने नगरीका हेभीवेट अभिनेता हुन् । उस्तै पृष्ठभूमिबाट क्यारेक्टर आर्टिस्टका रूपमा उदाएर ‘राज’ गरिरहेका उनीहरूलाई एउटै चलचित्रमा काम गराउन भने त्यति सहज नहुने दीपेन्द्र बताउँछन् । अर्कोको भन्दा आफ्नो भूमिका कमजोर रहेको अवस्थामा हेभीवेट कलाकारलाई एउटै चलचित्रमा खेलाउन समस्या हुने गरेको उनी सुनाउँछन् ।
“सुरुमा स्क्रिप्ट लेख्दै हेभीवेट कलाकारलाई खेलाउने हो भने त्यहीअनुसार लेख्नुपर्छ । एउटाभन्दा अर्कोको भूमिका कमजोर भयो भने खेल्दैनन् र अफर गर्न पनि सहज हुँदैन,” उनी भन्छन्, “अर्कोको भन्दा आफू सिनेमामा कमजोर देखिने भएपछि धेरैले बीचमै सिनेमा छोडेका हामीले धेरै देखे/पढेका छौँ ।”
हेभीवेट कलाकार लिँदा निर्देशक र निर्माताले भोग्ने समस्या भनेको समय नै हो । सिनेमा, विज्ञापन र अरू काममा व्यस्त हुने भएकाले प्रि–प्रोडक्सनमा उनीहरूले खासै धेरै समय दिन पाउँदैनन् । यो समस्या दीपेन्द्रले पनि अनुभव गरे ।
दयाहाङ अक्सर स्क्रिप्टको परिमार्जनमा बस्छन् । र, सानो–सानो कुरा केलाएर फिडब्याक दिन्छन् । आफ्नो मात्र होइन, समग्र स्टोरीमा नै उनले प्रतिक्रिया दिन्छन् । सकेसम्म वर्कसपमा बस्छन् ।
सौगातको नेचर अलि फरक छ । उनी वर्कसपमा खासै धेरै बस्दैनन् । “सायद समय नभएर पनि हुनसक्छ । वर्कसपका लागि खासै धेरै बस्दैनन्,” दीपेन्द्र भन्छन् ।
सौगात आफ्नो क्यारेक्टरमा केन्द्रित रहेर परिमार्जनका लागि सुझाव दिन्छन् । आफ्नो क्यारेक्टरमा निकै धेरै ध्यान दिने अभिनेता हुन्, सौगात ।
सौगात निर्देशकसँग पर्याप्त समय माग्छन् । त्यो समयमा आफ्नो क्यारेक्टर थप परिमार्जन र जीवन्त बनाउन उनले उक्त समय खर्चिन्छन् ।
परिमार्जन र लाइनक्रसको डर
“२ नम्बरीमा काम सुरु गर्नु अगाडि सौगातले हामीसँग एक महिनाको समय मागेका थिए । लाखेको छायांकन भर्खरै सकेकाले आफूलाई एक महिनाको समय चाहिन्छ भन्ने उनको कुरा थियो,” दीपेन्द्र स्मरण गर्छन्, “तर, हामीले १५ दिनको मात्रै समय दियौँ । त्यही समयमा उनले क्यारेक्टरमा इनह्यान्स गर्ने काम गरेका हुन् ।”
सौगात अक्सर निर्देशकसँग समय माग्छन् । सेटमा पुगेर पनि केही हेभी सिन छ भने ‘म यसका लागि अहिले तयार छैन, अहिले यो होइन अर्को सिन गरौँ, यसका लागि मलाई यति दिन समय चाहिन्छ’ भन्छन् ।
दयाहाङको स्वाभाव भने सौगातको भन्दा ठिकविपरीत छ । उनी ‘यति दिनमा मेरो सिन सकिहालौँ, मेरो यस्तो काम छ, त्यसपछि म यो काममा यहाँ जान्छु’ भन्छन् । र, काम सकिहाल्छन् ।
दयाहाङले २ नम्बरीको सेट ज्वाइन गरेको ५/६ दिन भइसकेको थियो । उनको सिनको छायांकन पनि सुरु भइसकेको थियो । ११औँ दिनमा ज्वाइन हुन आइपुगे, सौगात । उनको पनि सिन सुरु भयो । दयाहाङ सौगातको छायांकन हेरिरहन्थे ।
एक दिनको साँझ दयाहाङले दीपेन्द्रलाई भने, ‘सौगातको क्यारेक्टर त स्क्रिप्टमा अर्कैै थियो, अर्कै भइरहेको छ । सौगातले यस्तो गर्छ भनेर थाहा भएको भए त म पनि त्यहीअनुसार केही परिमार्जन गर्थेँ ।’
“सँगै वर्कसपमा नबस्दाको घाटा यो । उनीहरू सुरुदेखि नै सँगै वर्कसपमा बसेका भए यो अवस्था आउने थिएन । व्यस्त कलाकारसँग काम गर्दा यस्तो हुन्छ र यो स्वाभाविक पनि हो,” दीपेन्द्र स्पष्ट पार्छन्, “एउटै पृष्ठभूमिबाट आएका, साथी रहेका र थुप्रै चलचित्रमा सँगै काम गरेकाले सौगात र दयाबीच अनहेल्दी प्रतिस्पर्धा छैन । होइन भने यस्ता कुराले ठूलो रूप लिएर सिनेमा छोड्ने र काममा हेलचेक्र्याइँ गर्दा सिनेमा नै बिग्रिने खतरा हुन्छ ।”
तर, दयाहाङ र सौगातबीच यो प्रतिस्पर्धा नरहेको दीपेन्द्र सुनाउँछन् । “उनीहरूबीच अनहेल्दी प्रतिस्पर्धाको सम्भावना छैन । यद्यपि, सबै उनीहरूजस्तै हुन्छन् भन्ने हुँदैन,” दीपेन्द्र भन्छन् ।
जुन उद्देश्य लिएर मेकरले एउटै चलचित्रमा दुई वा त्योभन्दा धेरै हेभीवेट कलाकार लिएर सिनेमा बनाउँछ, अक्कल नपुग्दा बिग्रिने जोखिम पनि उत्तिकै हुन्छ । आफ्नो क्यारेक्टरलाई बलियो बनाउन अनुभवी कलाकारले सेटमा पुग्दा स्क्रिप्टमा भएको डाइलग नबोलेर अरू नै बोलिदिने जोखिम हुन्छ ।
आफ्नो मात्रै क्यारेक्टरलाई बलियो बनाउने नाममा यसो गर्दा कथाको अन्तरसम्बन्ध बिग्रिन सक्ने सम्भावना उच्च हुन्छ । कहिलेकाँही त राम्रो होला, तर कहिले राम्रो गर्ला भनेर थपिएको शब्दले नै बिझाउन पनि सक्छ । त्यसैले यस्तो अवस्थामा निर्देशकले त्यस्तो परिमार्जनलाई पनि रोक्न सक्नुपर्ने अन्यथा सुधारका नाममा सिनेमा नै बिग्रिने सम्भावना उच्च हुने दीपेन्द्र बताउँछन् ।