site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लिङ्देन र सिटौलाको भिडन्तमा एमालेका बागी उमेदवार बन्लान् निर्णायक ?

बिर्तामोड (झापा) । झापा निर्वाचन क्षेत्र नम्बर ३ मा यसपटक पनि ०७४ कै जस्तो चुनावी प्रतिस्पर्धा हुने धेरैको अनुमान छ । एकातिर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेको समर्थन छ भने अर्कोतिर पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । अर्थात् मुख्य प्रतिस्पर्धीका रूपमा ०७४ कै अनुहार चुनावी मैदानमा छन् ।

फरक के छ भने ०७४ मा एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनले लिङ्देनलाई साथ दिएको थियो । तर, अहिले त्यतिबेलाको वाम गठबन्धनको एउटा घटक माओवादी केन्द्र र एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको साथ सिटौलालाई छ । लिङ्देनलाई भने एमालेको साथ छ ।

तर, एमालेकै एक नेताको बागी उमेदवारी लिङ्देनका लागि टाउको दुखाइको विषय बन्ने देखिएको छ । राप्रपालाई समर्थन गरेपछि एमालेका जिल्ला सचिवालय सदस्य डम्बरबहादुर गिरीले बागी उमेदवारी दिएका छन् । जसले गर्दा एमालेको मत विभाजन हुने देखिन्छ ।

बागी उठेका गिरी आफैँ आफ्नो उमेदवारी लिङ्देनविरुद्ध भएको बताउँछन् । “यसअघि पनि हाम्रो पार्टीको समर्थन राप्रपालाई नै थियो । हाम्रै सहयोगमा लिङ्देनले जित्नुभएको पनि हो । तर जितपछि हामीलाई खेद्न उहाँ नै लाग्नुभयो । त्यसैले उहाँकैविरुद्धमा मेरो उमेदवारी हो,” उनले भने । 

उसो त उनी पार्टीको कारबाहीमा परिसकेका छन् । बिहीबार मात्र एमालेले गिरीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । तर पनि उनले राप्रपालाई जाने एमालेका मत काट्न सक्ने देखिन्छ ।

लिङ्देन भने आफू जित्नेमा ढुक्क देखिन्छन् । अघिल्लो कार्यकालमा धेरै काम भएको र गर्नुपर्ने बाँकी कामलाई पूर्णता दिन आफूले उमेदवारी दिएको उनको भनाइ छ । “सुशासन कायम गर्न र देशलाई नयाँ बाटो लैजान मेरो उम्मेदवारी हो,” उनले भने । 

अर्कोतिर पार्टी राजनीतिमा महत्त्वपूर्ण पदमा रहिसकेका कांग्रेसका पूर्वमहामन्त्री सिटौला यसपटक वाम गठबन्धनका कारण ०७४ मा भोग्नु परेको पराजयलाई उल्ट्याउने दाउमा छन् । उनलाई गिरीको बागी उमेदवारीले केही राहत पनि मिलेको देखिन्छ । एमालेको मत गिरीलाई गएमा आफ्नो जित सुनिश्चित उनको विश्लेषण छ । 

“मेरो गृहनगर भद्रपुरसहितको क्षेत्रमा मैले लामो समयदेखि काम गरिरहेको छु । अविछिन्न र निरन्तर काम गरेको कारण पनि म यहाँका जनताको सबै सुखदुःखसँग परिचित छु,” सिटौलाले भने ।

एमालेबाट उठेका बागी उमेदवार, गठबन्धनलाई माओवादी केन्द्र र एमालेबाट विभाजन भएको एकीकृत समाजवादीको साथ कांग्रेसका सिटौलालाई भएकाले लिङ्देनलाई ०७४ को चुनावजस्तो सहज देखिँदैन ।

०७४ मा लिङ्देन ४४ हजार ६१४ मत ल्याएर विजयी भएका थिए । सिटौलाले ३१ हजार १७१ मत ल्याएका थिए ।

प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट वीरबहादुर राई, नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल छुस्यावाग, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट देवेन्द्र किशोर ढुंगाना, जनमत पार्टीबाट लाल राजवंशी, मौलिक जरोकिलो पार्टीबाट चूडामणि अधिकारी, हाम्रो नेपाली पार्टीकाका तर्फबाट योगेन्द्रप्रसाद खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट देवीरमण भट्टराईले उमेदवारी दिएका छन् ।

यसैगरी मंगोल नेसनल अर्गनाइजेसनबाट श्यामबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट डम्बरबहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीबाट गजेन्द्र लिम्बू, नेपाली कांग्रेस (बीपी)को तर्फबाट भक्तिप्रसाद पनेरू, सचेत नेपाली पार्टीबाट ओमप्रकाश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक र प्रेम प्रसाद खनाल, डम्बर बहादुर गिरी र मनोरथ राजवंशीले स्वतन्त्र उमेदवारी परेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro