
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्यु भएको दिन नै राजतन्त्र सकिएको बताएका छन् । वीरेन्द्र र दीपेन्द्रको निधन भइसकेपछि भाईलाई राजा बनाएर नेपाली नेताहरूले ठूलो गल्ती गरेको उनको टिप्पणी छ ।
मंगलबार काठमाडौंमा हुलाक टिकटहरूमा प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भइरहेको राजालाई दरबारबाटै मारिएको उनको आरोप छ । उनले वीरेन्द्रको निधनपछि ज्ञानेन्द्रलाई राजा बनाउनु सर्पको बच्चा पाले सरह भएको टिप्पणी गरे ।
"जुन दिन वीरेन्द्रको हत्या भयो र दीपेन्द्रको पनि नाश भयो । राजतन्त्र त्यही दिन सकिएको थियो । भइरहेको राजा मारियो, त्यसपछि हुने युवराज नै मारियो भनेपछि राजा सकियो । त्यो दरबारले सकेको हो । जनताले सकेको हो र ? त्यो बेला फेरि राजा बनाएर नेपालका नेताले अझ ठूलो गल्ती गरे । सापको बच्चा पाले, शेरको बच्चा पाले । नभएको राजा, हुँदै नहुने मान्छेलाई राजा बनाइदिए । सबै खाइदियो । जनताले आन्दोलन गरे, जनतासँग हारेर भाग्यो," उनले भने ।
अब राजालाई बोकेर मुलुकको विकास नहुने बताए । हालको संघीय लोकतान्त्रिक गणतन्त्रमा आएर पनि राजतन्त्र खोज्ने भनेको बिजुलीको साटो अगुल्टो चाहिन्छ भनेको जस्तै भएको टिप्पणी गरे ।
"अब हामीले बुझ्नुपर्छ । राजालाई बोकेर मुलुकको विकास हुँदैन । जस्तो जन्मिए पनि राजाको कोखमा जन्मिएकाले तीन करोड नेपालीभन्दा राम्रो हुन्छ भन्ने सिद्धान्त राम्रो होइन । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रमा आएर पनि राजतन्त्र खोज्ने भनेको बिजुलीको साटो अगुल्टो चाहिन्छ भनेको जस्तै हो," उनले भने ।
उनले राष्ट्रवादीले भारतको उत्तर प्रदेशको मुख्यमन्त्रीको फोटो ल्याउने कसरी गर्छ भन्दै प्रश्न गरे