देश चुनावमय भएको छ । निर्वाचनमा प्रतिस्पर्धा गर्ने उमेदवार, तिनलाई उठाउने राजनीतिक दल र स्वतन्त्ररुपमा उमेदवारी दिनेहरुको कुरा, प्रतिबद्धता र आश्वासन सुन्दो लाग्छ– चुनावपछि नेपालको काया पलट हुन बेर लाग्नेछैन । देश समृृद्धिको शिखरमा पुग्नेछ र नेपालीले विकासको उच्चतम प्रतिफल पाउनेछन् ।
बाहिर देखिएका, सुनिएका यस्ता कुरा एकछिन छोडेर राजनीतिभित्रका केही कूटिलता र घातअन्तर्घात सुन्दा देख्दा भने माथिको जस्तो पटक्कै देखिँदैन । केही दृष्टान्त हेरौँ :
१. देशको ठूलोमध्येको एउटा दलले समानुपातिक सूची निर्वाचन आयोगमा बुझाउन अन्तिम रुप दियो । त्यो अन्तिम भनिएको सूची र निर्वाचन आयोगले प्रकाशित गरेको नामावली भने फरक देखियो । दलका प्रमुखले हस्ताक्षर गरेर पठाउने भनेपछि ढुक्क भएका उमेदवारले निर्वाचन आयोगबाट प्रकाशित सूचीबारे थाहा पाउने बेलासम्म उनको समानुपातिकमा छनोटहुने सम्भावनै सकिएको थियो । यद्यपि, उनले हेरेको दलको सिफारिस सूचीलाई आधार मान्दा उनी निश्चित छनोट हुने अवस्थामा थिए । कसले र कसरी यो काम गर्यो ? यो कसरि सम्भव भयो ? कत्रो ठूलो घात, कत्रो ठूलो षडयन्त्र ?
२. यूवा पुस्ताले आश गरेकोमात्रै नभएर पत्याएको र क्षमता र दक्षता प्रमाणित गर्न समर्थ स्वर्णीम वाग्लेले टिकटै पाएनन् । ठेकेदार नेताको तावेदार नहुनु र समर्थ व्यक्तिको उदयले प्राधिकार भएर बसेकाहरुको जग भत्कने खतरा हुनु उनको अयोग्यता बन्यो । जतिसुकै परिवर्तन भयो भने पनि नेपालमा विद्यमान सामन्तवादको क्रुर सिकार हुन पुगे स्वर्णीम । किनभने हामी संस्थापन वा प्रधिकारभन्दा जान्ने हुने, हाम्रो स्वीकृति बेगर बोल्ने भनेर उनलाई हैसियत देखाइएको हो ।
यसलाइ थप पुष्टि गर्ने एउटा उदाहरण छ । एकजना स्थापित महिला नेतृले एकपटक मसँग उहाँको भविष्यको मार्गचित्र बनाउने सम्बन्धमा कुरा गर्दा मैले केही भनाइ राखेँ । उहाँ अत्यन्त उत्साहित हुनुभयो र धन्यवाद भन्नुभयो । कुरा भएको केहि महिनापछि उहाँसँग फेरि भेट हुँदा मैले मेरा सुझावहरुका बारेमा जिज्ञासा राखेँ । उहाँले मलाई दिएको जवाफले म त चकित नै भएँ र जीवनमा सामन्तवादको उपस्थितिका बारेमा पहिलोपटक राम्ररी बुझ्ने मौका पाएँ । उहाँको जवाफ थियो – जब मैले तपाइैँले दिएको सुझाव र अरु साथीहरुको सुझाव समेत ध्यानमा राखेर कार्य योजना बनाएर अघि बढन तयार भएँ तब मलाई के महसुस भयो भने मैले योजनाअनुसार अगाढि बढे नेतृत्वले यसलाई चुनौतीका रुपमा लिन्छ र मेरो राजनीतिक भविष्य नै सिध्याउन लाग्छसक्छ । म प्राधिकार नेतृत्वसँग जुध्न चाहन्न । यसैले मैले यसलाई कार्यान्वयनमा नलैजाने निर्णय गरेँ ।
३. प्राधिकार नेतृत्वसँग फरक मत राख्दाका सिकार भएका घनश्याम भुसाल, मीनेन्द्र रिजालजस्ता अनकौं आशालाग्दा र राम्ररी परीक्षण हुनै नपाएका सम्भावनाहरुले मौकै नपाउँदा दिन खोजिएको सन्देश स्पष्ट छ : नेपालका ठूला भनिएका कुनै पनि दलको शीर्ष नेतृत्वसँग फरक मत राखे भविष्य सुरक्षित हुँदैन । कि तावेदार बन, दास बन हैन भने तयार होऊ प्रकोप भोग्न !
४. विकास सूचकांकमा सबैभन्दा पछाडि रहेको मधेस प्रदेशको राजनीतिक घटनाक्रम हेर्दा सत्ताबाहेक कसैको पनि कुनै अभीष्ट नरहेको स्पष्ट हुँदैन र ? मधेसका मसिहाहरुले व्यक्तिगत महत्त्वाकांक्षा र लाभभन्दा पर जनताका विषयमा नसोचेको र काम नगरेको साबित भएको यो पहिलो पटक भने होइन । कुनै मूल्य मान्यता, निष्ठा नभएको जमातबाट शासित हुनपर्ने तर कुराचाँहि सधै सिद्धान्त र निष्ठाको सुन्नुपर्ने दुर्भाग्यबाट कहिले र कसरी मुक्ति पाउने मधेसका जनताले ? जोसँग पनि मिल्न र जस्लाई पनि धोका दिनसक्ने राजनीतिका धूर्त खेलाडीबाट कहिले उन्मुक्ति पाउने ?
राजनीति गर्ने मान्छेहरुले पदको मात्रै कामना गर्ने कुरा पनि सही नहोला तर सधैँ अवसरबाट वञ्चित भइरहनु पर्ने अवस्था पनि त अपेक्षित हैन । यीबाहेक अरु कति होलान् दलको मूल नेतृत्वसँग फरक मत राखेका कारण प्रताडितहरु । नेतृत्वमा पुगेपछि नीतिनियम, विधि पद्धतिभन्दा ममाथि हुँ, मैले नजानेको केही छैन, मैले जे गरे पनि ठीक भन्ने सामन्ती सोच भएका नेता भएसम्म विकास, स्वतन्त्रता, पद्धति आदिको कुरा हावादारी गफमात्र हुन्छ ।
मंसिर ४ मा आउने पाँच वर्ष हामीलाई शासन गर्ने दल र व्यक्ति चुन्दैछौँ । हामीसँग चुन्ने व्यक्तिहरुको विकल्प धेरै छैन । भएकामध्ये कम खराब छान्ने न हो । तैपनि, अक्षम प्रमाणित नेतृत्वलाई हामी हातमा शक्ति भएका बेला परास्त गर्न सक्छौँ । हनुमानलाई आफूसँग भएको शक्ति आफैँलाई पत्तो नभए झैँ हामी पनि भएको शक्तिको सदुपयोग नगर्ने तर सधैँ रोइकराई गर्ने प्रवृत्तिबाट बाहिर नआएसम्म अक्षम र नालायकबाट शासित हुन अभिशप्त रहिरहने छौँ । अतः मंसिर ४ आउन अझै समय छ । गम्भीर भएर विचार गरौँ र आफ्नो अमोघ शक्तिको सदुपयोग गरी सम्भावनाको ढोका खोलौँ ।