प्रदेश सभा र प्रतिनिधि सभाको दोस्रो निर्वाचन प्रक्रिया तीव्र भएको छ । गणतन्त्रात्मक प्रणालीअन्तर्गत यो दोस्रो चुनाव हो । संवैधानिक व्यवस्थाअनुरुप चुनिएका दुई सभाको पाँचवर्षे कार्यावधि लडखडाउँदै, उठ्दै पूरा भयो । यसपटकको चुनावी यात्रा आलोचनात्मक चेतको बन्ध्याकरणबाट सुरु गरिएको छ ।
निर्वाचनको लागि आधिकारिक राजनीतिक दलहरुले समानुपातिक र प्रत्यक्ष उम्मेदवारी बाँडफाँटको सौदाबाजी पूरा गरेका छन् । तालमेलमा स्थानीय तहको चुनाव सम्पन्न भएलगत्तै सुरु भएको गठबन्धन प्रयत्नले सबै जिम्मेवारीलाई ओझेलमा पारेर बल्ल आकार पाएको छ । समानुपातिकको असमावेशी दलीय छनोट पनि उदाङ्गो भएको छ ।
आकार पाएको दुईतर्फी गठबन्धनले परिणाम प्रभावित पार्न अब ‘साम, दाम, दण्ड, भेद’ सबै उपायको दोहन गर्ने निश्चित छ । किनभने प्रत्याशी बनाउन अर्थात् प्रचलित शब्दमा चुनावी टिकट दिन दलका नेताहरुले पहुँच, पैसा र सम्बन्धप्रति देखाएको मोहले यही कुरा देखाइसकेको छ ।
निष्ठा, त्याग, समर्पण र सिद्धान्तको तिलाञ्जलि, आलोचनात्मक चेतलाई किनारीकृत र टिकट पाउने धेरैजसो पात्र कहीँ न कतैका परिचरको प्रस्तुति हो भन्ने टिप्पणी कसको कानसम्म पुगेको छैन होला र ?
भनिन्छ, यो लोकतन्त्रको आवधिक चुनाव हो । चुनाव लोकतन्त्रको आधारशीला रे । चुनावमात्रै लोकतन्त्रको आधारशीला बन्ने भए कुन चाहिँ तानाशाही र अधिनायकवादी मुलुकमा चुनाव भएको छैन र ? त्यसैले लोकतान्त्रिक चुनाव नै लोकतन्त्रको आधारशीला हो ।
लोकतान्त्रिक चुनावका केही मूल्य, मान्यता र सर्त पनि हुँदा हुन् । त्यस्ता मान्यताको खिल्ली उडाएर गरिने चुनाव लोकतान्त्रिक भनिन सक्दैन । सबैभन्दा पहिले चुनाव सिद्धान्तबीच हुने हो । मुद्दा (एजेण्डा) को छनोट चुनाव हो । यसपटक हामी कहाँ सिद्धान्तको चुनाव हुँदैछ त ? कहाँ छ सिद्धान्त ? मुद्दा के ? टिकट त दलको पनि होइन, नेताको गोजीमा थियो । जो ‘निहिरीमुन्टी न’ लाई दिइयो ।
यसअघिका चुनावमा पनि यस प्रकारका पक्षपात भए होलान् तर अलि लाज जोगाएर । यसपटक चाहिँ किसुन जीले भन्नेगरेजस्तो ‘एकं लज्जा परित्याज्य सर्वत्र विजयी भवेत् ।’ लज्जाको पनि सम्पूर्ण मर्यादा तोडेर सबै दलले टिकट बाँडेका छन् । टिकटार्थी कसैले त किनेका पनि छन् रे । राजनीति क्रय विक्रयको व्यापार बनाइयो ।
दुई गठबन्धन चुनावी कुस्ती मैदानमा पाखुरा सुर्कँदै छन् । एकातिर कम्युनिस्ट नामको नेकपा (एमाले) पुरातनपन्थी दुःस्वप्नका पुनरुत्थानवादीको नेता हो भने अर्कोतर्फ ‘नारामा सीमित ?’ लोकतन्त्रको पर्याय नेपाली कांग्रेस नेता छ ।
कांग्रेससँग कम्युनिस्ट नामका अधिनायकवादी चिन्तनको धङधङी बोकेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) जोडिएका छन् । यी सबैलाई लोकतान्त्रिक हुन कति कठिनाइ परिरहेको छ ? त्यो देखिँदै छ अहिले । सैद्धान्तिक धरातललाई धुल्याउँदै लगेको कांग्रेसको कुरा छोडौँ । नाममा कम्युनिस्टको अधिनायकी फुर्को रहुञ्जेलका कुनै पनि दल लोकतान्त्रिक बन्न सम्भव छैन । नामैले समेत त्यो दिँदैन र लोकतान्त्रिक भन्न पनि सुहाउँदैन । मात्र लाजको पसारो ।
नेपालमा पुनस्र्थापित लोकतन्त्रलाई कसले पथभ्रष्ट गर्न थाल्यो ? गणतन्त्रात्मक लोकतन्त्रलाई कसले पछार्न थाल्यो ? पहिलो त संरक्षक भनिने राष्ट्रपति नै अहिलेको प्रणाली व्यवस्थित गर्ने संविधानको हुर्मत लिँदैछिन् भन्ने सप्रमाण चर्चा सार्वजनिक भएकै छन् । उनी लोकतन्त्रलाई दुस्मन मान्ने अधिनायकवादी स्कुलकी प्रशिक्षार्थी जो हुन् ।
लोकतन्त्रलाई पथभ्रष्ट गर्ने, कमजोर पार्ने र बहुलता मास्ने त कम्युनिस्टहरुको मूल उद्देश्य नै हो । वर्गीय अधिनायकवादको एकाकी तानाशाही चलाउने उनीहरुको साध्य नै हो । त्यसैले कम्युनिस्टहरुले स्थापित लोकतन्त्रलाई बदनाम र कमजोर पारे भन्नु यथार्थ भए पनि रोइलो गर्नु प्रजातन्त्रवादी भनिनेको लागि असैद्धान्तिक कुरा हो ।
‘मान्छेमार’ माओवादी कथित युद्धको घोषित नारा वा उद्देश्य पुनः सम्झिए पुग्छ । कम्युनिस्टहरु त ताक पर्ने वा नपर्ने दोसाँधमा छन् । नेपालको सन्देशमूलक पुख्र्यौली उखान नै छ, भन्न मिल्छ कि मिल्दैन ? कतै चोट पुगेजस्तो लागे क्षमा गर्नुहोला – ‘ताक परे तिवारी नत्र गोतामे’ । यस्तै जता पनि फर्कन मिल्ने दोसाँधे बाटोमा छन् कम्युनिस्टहरु ।
चिन्ता उखान, बखान र कम्युनिस्टहरुको कथनीभिन्न करनीको होइन । दोष आफूलाई लोकतन्त्रको पर्याय घोषित गर्ने नेपाली कांग्रेसको कथनी र करनीको ३६ से स्वरुप हो । भन्दा लोकतन्त्रवादी गर्दा विकृत अलोकतान्त्रिक चरित्र । लामो फेहरिस्त किन ? लोकतन्त्रमा विकृतिको लामो सिलसिला चल्दा कांग्रेसको विकृत अनुहारको छायाँछवी टर्लक्कै छ । त्यसैले लोकतन्त्रलाई पथभ्रष्ट गर्नेमा कांग्रेस नै प्रथम दोषी हो ।
लोकतन्त्रको संरक्षक कांग्रेस नै बन्नुपर्ने तर ‘जो मुखिया उही बाटो ...वा’ भनेजस्तो भएको छ । क्रमशः खुम्चिँदै, साँघुरिदै र नेतातन्त्रमा बदलिँदै लगिएको कांग्रेसले यसपटक टिकट वितरणमा आलोचनात्मक चेतमाथि तानाशाही प्रहार गरेको स्पष्ट नै छ ।
कम्युनिस्टहरु त विचार विरोधी हुन्, विविधता विरोधी । तिनले आलोचनात्मक चेतलाई ठाउँ दिने र संरक्षण गर्ने भए ‘मालेमा’ हुनै सक्दैनन् । त्यसैले विचार स्वतन्त्रताको मामलामा कम्युनिस्टहरुलाई विश्वास गर्नु नै फट्याइँ हो । केही कम्युनिस्टहरु बडो विचार स्वतन्त्रताको कुरा गर्छन् नि त्यो उनीहरुको सिद्धान्तविपरीतको बुद्धिविलासमात्र हो ।
घनश्याम भुसाल हुन् कि भीम रावल वा हरिबोल गजुरेल । यी यस्ता सबै आफैँले बोकेको सिद्धान्तको चाबुकी प्रताडनाले डामिएका हुन् । कम्युनिस्टमा विपरार्थीलाई डामिनु वा खत्तम गर्दिनु अनौठो होइन । पारम्पारिक संस्कार नै हो ।
नेपाली कांग्रेस त वैचारिक स्वतन्त्रताको संरक्षक, आलोचनात्मक चेतको प्रबर्धक र बहुल लोकतन्त्रको प्रवक्ता थियो । अहिले चाहिँ कांग्रेस उल्टो दिशामा हिँडेको अनुभूति नागरिकमात्रै त्यही दलका कार्यकर्ताले सबैभन्दा धेरै गरेका छन् । उदाहरण, अहिले पार्टी निर्णयलाई अन्यायी ठानेर विद्रोह गर्ने कार्यकर्ताको संख्याले नै पीडाबोध उजागर गरेको छ ।
कांग्रेसले आफ्नो निर्णयको औचित्य र इमान प्रमाणित गर्न नसकेर नै कार्यकर्तालाई कारबाहीको धम्की र डण्डा चलाएको छ । धम्की, डण्डा र प्रलोभनको भयले केहीको अडान डगमगाएको छ । केहीले ‘प्राण जाए पर वचन नजाए’ भनेजस्तै ‘स्वतन्त्र विद्रोही’ मैदान छोडेनन् ।
कांग्रेसको निर्णयले पार्टीभित्र औचित्य, इमान, न्याय र लोकतन्त्रको पुष्टि गथ्र्यो भने सयौं कार्यकर्ता विद्रोहको लागि उद्वेलित हुँदैनथे । यसपटक किन यति धेरै भए ? संगठनको शक्ति डण्डा हो र आँखा चिम्लिएर भैँसीलाई जस्तै हिर्काउने ?
नेताहरुको दिव्योपदेश हुन्छ – पार्टीमा अनुशासन हुन्छ, कार्यकर्ताले अनुशासन पालना गनुपर्छ । यहाँसम्म ठीक छ तर अनुशासन नेता भन्नेलाई लाग्दैन ? उसलाई मनपरी गर्ने छुट हुन्छ ?
अनुशासन कायम गर्ने त पद्धतिप्रति हो, सिद्धान्तप्रति हो, नीतिप्रति हो र नैतिक मर्यादाप्रति हो । हाम्रा नेता के यस्ता लोकतान्त्रिक मूल्यको मर्यादा राख्न सक्षम भए त ? आर्जन गर्नसक्ने भए व्यक्ति नेताप्रति सम्मान हुन्छ, रहन्छ । चाकर समर्पण होइन । तर दुर्भाग्य कांग्रेसमा अहिले भइरहेछ यही । पराक्रम निरर्थक, परक्रमी सार्थक ।
अहिले देखियो – कांग्रेसमा आलोचनात्मक चेतना र स्वतन्त्र विवेकको अभिव्यक्तिप्रति घातक बन्ध्याकरण भएको । व्यक्तिको कुनै पक्षपोषण होइन तर प्रतिनिधि उदाहरण – यस्तो वा विवेक बन्ध्याकरणमा परेका तीन डाक्टर मिनेन्द्र रिजाल, स्वर्णीम वाग्ले र गोविन्द पोखरेल हुन् ।
यी तीनै जना परिआउँदा सम्भावित अर्थमन्त्री हुनसक्ने व्यक्ति, अहिले नै यिनको बाटो ‘नालायकहरु’ले छेके । लायकहरुले बाटो छेक्दैनन् प्रतिस्पर्धा रुचाउँछन् । लोकतन्त्र रोज्छन् ।
दुःखद कुरा, नेपाली कांग्रेसलाई लोकतन्त्रको मूल विन्दुबाट बाहिर धकेलिँदै छ, लघारिँदै र लछारिँदै छ । बाँकी त पुनर्जीवनको प्रतीक्षा न हो ।