
काठमाडौं । चौध जिल्ला रहेको प्रदेश १ मा २ निर्वाचन क्षेत्र भएको पहाडी जिल्ला हो, इलाम । जहाँ १० स्थानीय तह छन् । झापा, मोरङ, डडेलधुरा, काठमाडौंसहितका जिल्लामा जस्तै इलामको निर्वाचन चासोका साथ हेरिन्छ ।
इलाममा ०७४ सालसम्म एमालेको एकक्षत्र राज थियो । एमालेबाट लगातार चुनाव जित्दै झलनाथ खनाल प्रधानमन्त्री बने । ०५१ सालमै कानुनमन्त्री बनेका सुवास नेम्वाङ पनि दुईपटक संविधानसभा अध्यक्ष यही जिल्लाबाट निर्वाचन जितेर बने ।
०७८ सालसम्म झलनाथ र सुवास दुवै एमालेमा थिए । तर, पार्टी विभाजनसँगै झलनाथ नेकपा (एकीकृत समाजवादी) को सम्मानित नेता बनेका छन् । उता पार्टीको चितवन महाधिवेशनबाट सुवास भने एमाले उपाध्यक्ष बनेका छन् ।
इलामलाई ०४८ सालदेखि 'लालकिल्ला' बनाएका यी दुई नेता अहिले फरकफरक दलबाट राजनीति गरिरहेका छन् । पहिलोपटक दुई शीर्ष नेता फरक दलबाट चुनाव लड्दैछन् । यद्यपि उनीहरूको चुनाव क्षेत्र पनि फरक नै छ । त्यसैले पनि इलामको चुनावमा थप रौनकता छाएको छ ।
कांग्रेसबाट भने इलाममा केबी गुरुङपछि ‘टावरिङ फिगर’ बनाएका नेता छैनन् । माओवादी केन्द्रले यहाँ प्रदेश मात्र पाएको छ । त्यसकारण चर्चाको शिखरमा झलनाथ र सुवास नै छन् ।
झलनाथको भिडन्त आफैँले हुर्काएका नेतासँग
झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ बाट चुनाव लड्दै छन् । उनी ०४८ सालपछि निरन्तर यहाँबाट ६ वटा चुनाव लडिसकेका छन् । उनी ०५६ सालमा कांग्रेस नेता बेनुपराज प्रसाईंसँग पराजित भएका थिए । त्यसपछि उनले उनले कुनै चुनाव हारेका छैनन् ।
उनको भिडन्त उनकै पूर्व पार्टी एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग हुँदै छ । बस्नेत ०७४ को स्थानीय तह निर्वाचनबाट इलाम नगरपालिकाको मेयर थिए । बस्नेतको निर्वाचन क्षेत्र भने २ हो । तर, उनी १ बाट चुनाव लड्दै छन् ।
खनाल ०६४ देखि ०६६ महासचिव र ०६६ देखि ०७१ सम्म पार्टी अध्यक्ष बनेर एमालेलाई हाकेका हुन् । ०४६ पछिका सबै निर्वाचन उनले लडेका छन् । ०४७ सालको सरकारमा वनमन्त्री बनेका उनी ०६८ सालमा ९ महिना प्रधानमन्त्री बनेका थिए ।
एमालेबाट उमेदवार बनेका महेश बस्नेत पनि इलामका परिचित नेता हुन् । पार्टीको साधारण सदस्य बन्दै एमाले राजनीतिमा होमिएका हुन् । पार्टीका विभिन्न संरचनामा बसेर काम गरेका उनी जिल्ला सचिव हुँदै पार्टीको १० औँ महाधिवेशनबाट जिल्ला अध्यक्ष बने । इलाम नगरपालिकाको मेयर बनेर स्थानीय सरकार सञ्चालनको स्वाद उनले चाखिसकेका छन् ।
०७४ को निर्वाचनमा एमाले फुटेको थिएन । अझ माओवादीसँग वाम गठबन्धन गरेर एमाले चुनावी मैदानमा थियो । उक्त निर्वाचनमा खनालले कांग्रेसका भुपेन्द्र कट्टेललाई भारी मतान्तरले पराजित गरेका थिए ।
कुल मतको ५९.२५ प्रतिशत मतका साथ खनाल विजयी भएका थिए । कट्टेलले ३१.६२ प्रतिशत मत पाएका थिए । त्यतिबेला खनालले ३६ हजार ८०५ मत ल्याउँदा कट्टेलले १९ हजार ६३८ मत ल्याएको निर्वाचन अयोगको तथ्यांकमा उल्लेख छ ।
पाँच वर्षपछि परिस्थिति फेरिएको छ । झलनाथ कांग्रेस, माओवादीसहितको सत्ता गठबन्धनको सहयोगमा चुनाव मैदानमा छन् । गएको स्थानीय तह निर्वाचन पनि उनीहरूबीच गठबन्धन थियो । स्थानीय चुनावमा एकीकृत समाजवादीले सूर्योदय नगरपालिका जितेको थियो भने कांग्रेसले रोङ गाउँपालिका जितेको थियो । गठबन्धन भएपनि माई नगरापालिका भने एमालेले सानदार मतका साथ जितेको थियो ।
वैशाख ३० मा भएको स्थानीय तह निर्वाचन परिणामअनुसार इलाम क्षेत्र नम्बर १ मा पहिलो दल एमाले नै हो । वडा तहको मत जोड्दा उसले २६ हजार २३३ मत ल्याएको छ । दोस्रो बनेको कांग्रेससँग २५ हजार ७७२ तथा एकीकृत समाजवादीसँग ९ हजार ४८१ मत छ । यता गठबन्धनमा भएको अर्को दल माओवादीसँग एक हजार २३५ मत छ । एमालेसँग गठबन्धनमा रहेको राप्रपासँग एक हजार १६९ तथा जसपासँग एक हजार ८२९ मत छ ।
सूर्योदय नगरपालिका र रोङ गाउँपालिका झलनाथको 'भोट बैंक' हो । यता, बस्नेतको 'भोट बैंक' माई नगरपालिका र आसपास हो । स्थानीय तहको मत जस्तै गठबन्धनलाई मत आएमा झलनाथलाई जित्न कठिन हुने देखिन्छ ।
पाँचौँ जितको खोजीमा नेम्वाङ : गठबन्धन इमान्दार भएमात्र खड्काको सम्भावना
एमाले उपाध्यक्ष सुवास नेम्वाङ यसपटक पनि इलाम क्षेत्र नम्ब २ बाट चुनाव लड्दै छन् । ०५६ मा आफ्नै गुरु तथा कांग्रेस नेता केबी गुरुङलाई हराएर नेपाली राजनीति र एमाले शक्तिमा उदाएका उनी अहिले पार्टी अध्यक्ष ओली विश्वासपात्रका रूपमा चिनिन्छन् । नेम्वाङ ०७४ को निर्वाचनपछि पार्टी संसदीय दलका उपनेता समेत बनेका थिए ।
कानुन व्यवसायी पृष्ठभूमिबाट आएका नेम्वाङ ०४८ र ०५२ सालको राष्ट्रियसभा सदस्य बने । उनले २०५६ देखि कुनै पनि प्रत्यक्ष चुनाव हारेका छैनन् । ०५१ सालमा मनमोहन अधिमकारीको ९ महिने सरकारमा सुवास राज्यमन्त्री बनेका थिए । न्यायपरिषद् बैठकमा राज्यमन्त्री बस्न नपाउने संवैधानिक व्यवस्था भएपछि उनी कानुनमन्त्री बनेका थिए ।
त्यसयता ०६३ मा जनआन्दोलनबाट पुनर्स्थापित भएको प्रतिनिधिसभाको सभामुख, ०६४ को संविधानसभाको अध्यक्ष तथा ०७० को संविधानसभा अध्यक्ष बने र संविधान जारी गरे ।
उनका प्रतिष्पर्धी छन् गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्का । विद्यार्थी राजनीतिबाट उदाएका खड्का नेविसंघ पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । पार्टीमा संस्थापन निकट खड्काले ०७४ को निर्वाचनमा प्रदेश सभा सदस्य लडेका थिए । निर्माण व्यवसायीको पृष्ठभूमिका उनी पछिल्लो समय पार्टी राजनीतिमा सक्रिय छन् ।
पार्टीको १३ औँ महाधिवेशनमा जिल्ला सभापति लडेका उनले १४ औँ महाधिवेशनमा भने जिल्ला सभापति बन्न सफल भए । क्षेत्र नम्बर १ मा चुनाव लड्ने चाहाना राखेपनि गठबन्धनका कारण उनी क्षेत्र नम्बर २ बाट उमेदवार बनेका हुन् ।
०७४ को निर्वाचनमा नेम्वाङदे कांग्रेस उमेदवार केशव थापालाई पराजित गरेका थिए । नेम्वाङ कुल मतको ५३.४० मतका साथ विजयी भएका थिए । थापाले भने ३९.२८ प्रतिशत मात्र मत ल्याए । नेम्वाङले ३६ हजार ५१७ मत प्राप्त गर्दा थापाले २६ हजार ८६५ मत ल्याएका थिए ।
गएको स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार यहाँ कांग्रेस पहिलो शक्ति हो । वडा तहको मत जोड्दा कांग्रेसले यहाँ ३२ हजार ९७८ मत ल्याउँदा एमालेले ३२ हजार ५२७ मत पाएको थियो । माओवादीले दुईहजार ७१७ मत प्राप्त गर्दा एकीकृत समाजवादीको एकहजार मत पनि कटेन ।
पाँचपटक चुनाव जित्ने प्रयास गरिरहेका नेम्वाङलाई यसपटक राके–रवि सडक खण्डले समस्या पार्न सक्छ । आफ्नै दलको सरकार हुँदा समेत यो सडक खण्डले पूर्णता पाउन सकेन । तर, यो क्षेत्रमा जातीय भोटको प्रभाव पर्ने निश्चित छ । स्वयम् नेताहरू पनि जातीय प्रभावलाई अस्वीकार गर्न सक्दैनन् । जातीय सेन्टिमेन्ट सुवासले बढी पाउने कांग्रेसका एक नेताले बाह्रखरीसँग स्वीकार गरे ।
“उहाँ लिम्बू समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ । लारुम्बा जस्ता ठाउँबाट यहाँको मत राम्रो आउँछ,” ती नेताले बाह्रखरीसँग भने, “हामीले यसमा ध्यान दिनुपर्छ । जातीय भोटलाई कसरी तान्ने त्यसको रणनीति आवश्यक छ ।”
प्राविधिक विषय मिलाउने र गठबन्धनबाट इमान्दार भोट खसेमा मात्र नेम्वाङ र खड्काबीच रोचक प्रतिष्पर्धा हुने देखिन्छ ।