काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चुनाव नलड्ने घोषणा गरेका छन् ।
सभामुख पदबाट बिदा लिँदै गर्दा पत्रकार सम्मेलन गरी सापकोटाले चुनाव नलड्ने घोषणा गरेका हुन् ।
न्यायपालिका प्रमुखको भूमिकापछि अन्य जिम्मेवारीमा नजाने व्यवस्था जस्तै व्यवस्थापिकाको प्रमुख पनि उच्चतम जिम्मेवारी भएको भन्दै नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहेका सापकोटाले आफू पुनः जनप्रतिनिधिका लागि चुनाव नलड्ने बताएका हुन् ।
“निरन्तरतामा क्रम भंग गर्न लागेको छु । पदमा पुगेको व्यक्तिहरुले नै एउटा मानक बनाउने हो,” सापकोटाले भने, “न्यायपालिकाको नेतृत्वमा पुगेको व्यक्ति अन्य जिम्मेवारीमा जाँदैन । व्यवस्थापिकाको नेतृत्वमा पुगेको व्यक्तिले पनि मानक बनाउने हो । म त्यो मानवक स्थापित गर्न चाहन्छु ।”
उनले २०७९ मंसिर ४ मा हुने चुनावमा आफू उमेदवार नबन्ने बताए । आफू देश र जनताका पक्षमा अझ धेरै सक्रिय भएर काम गर्ने बताएका सापकोटाले सञ्चारमाध्यमसँग अझ नजिक भएर काम गर्नसक्ने बताएका थिए ।