काठमाडौं । मेक्सिकोमा गोली हानी मेयरसहित १८ जनाको हत्या भएको छ ।
हिंसाग्रस्त दक्षिणपश्चिम राज्य गुरेरोमा दुई प्रतिद्वन्द्वी समूहबीच झडप हुँदा एकजना मेयर र पूर्वमेयरसहित १८ जनाको मृत्यु भएको हो । थप दुईजना घाइते भएका मेक्सिकोका अधिकारीहरूले बिहीबार बताएका छन् ।
बुधबार सान मिगुएल टोटोलापनमा गोली लागेर मारिनेमा मेयर कोनराडो मेन्डोजा, उनका पिता पूर्वमेयर जुआन मेन्डोजा र अरू स्थानीय अधिकारीहरूसमेत रहेको गुरेरो राज्य सरकारको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मेक्सिकोका उपरक्षामन्त्री रिकार्डो मेजियाले यो घटना आपराधिक गिरोहहरूबीचको विवादको सन्दर्भमा भएको बताएका छन् । संगठित अपराधिक समूह ला फेमिलिया मिचोआकाना र लस टेकिलरोस संलग्नता रहेको उनको भनाइ छ ।
बन्दुकधारीहरूले मेयरको हत्या गर्ने उद्देश्यका साथ भवनभित्र श्रृङ्खलाबद्ध आक्रमण गरेको देखिएको सञ्चार माध्यमले बताएका छन् ।
एनडीटीभीबाट ।