एक वर्षको चक्र पूरा भयो । यो वर्ष २०७९ को दसैँँ सकियो, विदा भयो । दसैँँलाई आधार मान्दा एक वर्ष सकिएको हो ।
अर्को वर्ष पनि दसैँँ त आउनेछ तर त्यो असी सालको दसैँ हुनेछ । दसैँँ त्यसै भने सकिएन । यसले धेरै सन्देश दिएर गएको छ । सबैभन्दा बढी सांस्कृतिक विस्तारको सन्देश दिएको अनुभूति भएको छ ।
संस्कृतिको विस्तार हुन्छ । सायद, संकुचन पनि हुँदो हो । कैयौं पर्व स्मृतिमा सीमित भएका छन् । जस्तै यही दसैँँ जसलाई बडा दसैँँ पुकारिन्छ तर कुनै समय चैते दसैँँ भव्य मानिन्थ्यो भनिन्छ । अहिले चैते दसैँँ सम्झनामा वा रामनमवी पुकारिने अर्थमा सीमित छ ।
किन चैते दसैँँ संकुचित भयो र अहिलेको बडा दसैँँलाई नेपाली समाजले बढी धुमधामले मनायो ? यसको पनि त कारण होला ? चैते दसैँँ रामनवमी अर्थात् भगवान् रामसँग बढी जोडियो तर नेपाली समाजले शक्तिदात्री भगवती दुर्गासँग मोह समर्पित गर्यो । त्यसैले यो बडादसैँँले यहाँ बढी हर्सोल्लास पायो ।
दसैँँ भारततिर ‘दसहरा’ पनि भनिन्छ । यो शब्द पर्व बोधक जस्तोसमेत लाग्छ यहाँ चाडबाड भनेजस्तै । खासगरी दसहरा (दसैँँ) भारतमा बढी रामसँग जोडिएको पाइन्छ तर त्यहाँ पनि दुर्गाभगवतीका भव्य मूर्तिहरुको समेत पूजाअर्चना गरिन्छ । प्रधान राम भक्ति हो । रामको प्रशस्तिमा त्यहाँ रावणको प्रतीक दहन गरिन्छ । अहिले त भारतीय सत्ता नै रामनामको राजनीतिमा केन्द्रित छ ।
प्राकृतिक कारण पनि होला, नेपालीहरुले शारदीय दसैँँलाई बढी रुचाए । हाम्रा पुर्खा प्रकृति प्रेमी । हाम्रोमा चैत रुखो गर्मीको प्रकृति अर्थात् ग्रीष्म ऋतु । अहिले शरद् ऋतुको शीतल सौन्दर्य । त्यसैले दसैँँको प्रकृति महिमा गाउँदै कवि शिरोमणि लेखनाथले – ‘हट्यो सारा हिलो मैलो...’ भनेका हुनन् । प्रकृतिले यतै डोर्यायो । संकृतिमा प्रकृतिको प्रभाव छ तर प्रकृतिमा संस्कृतिको प्रभाव सायदै पाइएला ? भनिन्छ, हाम्रो चाडपर्वको उपजीव्य कृषि कर्मको प्रभाव पनि हो । यसपटक प्रकृतिको प्रभाव यस्तो झरी पर्यो कि दसैँं हिले भयो ।
संकृतिको पनि विस्तार र संकुचन हुने रहेछ । संकेतमा माथि पनि भनियो । शारदीय दसैँँ र चैते दसैँँ । यहाँ आस्थाको पनि भिन्नता छ । नेपालीहरुले भगवती दुर्गा रोजे अर्थात् मातृशक्तिलाई बढी पुजे, मान्यता दिए । अब, अलि विस्तारमा भन्नुपर्दा संस्कृति फैलनु र खुम्चनुको दृश्य पूरै स्पष्ट नभए पनि भुकभुके नै सही थप केही स्पष्ट होला ।
प्रयोगमा पनि भिन्नता छ । गण्डकी क्षेत्रतिर खासगरी ब्राह्मण, कतै त क्षेत्री समुदायमा पनि दशमीको एक दिनमात्र आशीर्वचन टीका ग्रहण गरिन्छ । अन्यत्र पूर्णिमासम्म । यो प्रचलनमा पनि फेरबदल अर्थात् विस्तार र संकुचन देखिन थालेको छ ।
भाषा विज्ञानमा शब्दको अर्थ विस्तार, संकुचन र अर्थको अनर्थ जस्ता सिकाइ हुन्छ । अर्थ विस्तार पनि हुन्छ, संकुचन पनि । जस्तै कुनै जमाना थियो रे ‘प्रवीण’ शब्दको अर्थ विणा (सितार) बजाउन पोख्त कलाकारलाई मात्र प्रवीण भनिन्थ्यो रे । अर्थ विस्तारकै कारण अहिले प्रवीण शब्दको अर्थ हरेक विषयमा पोख्त र सिपालु वा निपुणलाई भन्ने गरिएको छ । यो अर्थ विस्तार हो ।
यस्तै ‘तेल’ शब्द कुनै बेला तीलको तेललाई मात्र भनिन्थ्यो रे अहिले सबै भट्ट, सूर्यमुखीफूल वा भुसबाट बनाइने तरल तत्त्वलाई पनि तेल नै भनिन्छ । जसबाट चिल्लो तरल तत्त्व तेलजस्तै आउँछ र त्यस्तै घातक पाम आयल पनि बोलीचालीको भाषामा तेलकै शब्दभित्र छ । यी भए विस्तारका उदाहरण ।
संकुचनमा नेपाली भाषाविज्ञहरु भन्छन्–‘गुरु’ शब्दको अर्थ संकुचन भएको छ । सुरुमा गुरु शब्दको अर्थ गुरुत्व हो, अन्धकार नाशक र सही बाटो वा उज्यालो निर्देशक । अहिले चाहिँ गाडी चालक ‘ड्राइभर’ पनि गुरु कहलिन थालेका छन् । यसलाई उनीहरु अर्थ संकुचन मान्छन् । मलाई चाहिं यो अर्थको अनर्थ हो कि जस्तो लाग्छ ।
त्यसो त ड्राइभर (गाडी चालक) को काम पनि गन्तव्यमा पुर्याउने हो । जसले पहिले यो शब्द वा गुरु सम्बोधन ‘ड्राइभर’लाई प्रयोग गर्यो त्यसले गन्तव्यमा पुर्याउने अर्थमा नै प्रयोग गर्यो कि ? त्यसो भए अनर्थ मान्ने कि संकुचन ? आफ्नै तर्कमा घोत्लिनु परेको छ । गुरु शब्द सम्बोधनको अर्थ विस्तार हो कि संकुचन वा अनर्थ ? शिक्षकलाई पनि गुरु भन्न छोडिएको छैन भनिएकै छ । थप ड्राइभरलाई पनि भनियो । अर्थ के भयो ?
प्रश्न, तर्क, आदि इत्यादि जे भए पनि विस्तार र संकुचन सर्वव्यापी सँगसँगै छन् । एकको अनुपस्थितिमा अर्कोको उपस्थिति सम्भव छैन । कहीँ संकुचन हावी कतै विस्तार प्रभावी । यो संस्कृतिजस्तै छ, प्रकृतिजस्तै छ ।
कुरा हो, संस्कृतिको विस्तार । नव दुर्गा पुकारिने दसैँँ मनाउँदै गर्दा आएका समाचार, साथीभाइसँगको कुराकानी र आफ्नै जिन्दगीको वर्षौं भोगाइले दसैँँ संस्कृति विस्तार भएको वा नेपाली समाजमा फैलिएको जस्तो लाग्छ । दसैँँ जसलाई केही वर्ष अघिसम्म नेपालमा पहाडिया चाड भनिन्थ्यो । त्यतिमात्रै किन ? यसलाई समुदाय र जाति विशेषको करार गरेर बहिष्कारको नारा पनि लगाइन्थ्यो ।
हेर्दै र भोग्दै जाँदा संस्कृतिमा पाचनशक्ति अत्यन्त बढी हुने बोध भएको छ । संस्कृति प्रकृतिसँग मिलाप गर्छ । धर्म जोड्छ तर अर्थ र काम वा क्रियासँग अविच्छिन्न देखिन्छ ।
त्यसैले दसैँँले सबै विरोधबारोध पचाइ दियो । कोही रातो टीकामा पुलकित छन्, कोही सेतो टीकामा हर्षित । जसरी हामी विविध छौँ त्यसरी नै दसैँँ विविध प्रक्रियामा स्वीकृत छ । हिजो कुन समुदायले कहाँ माने ? प्रश्न होला तर आज नेपाली समाज नै प्रारम्भमा जस्तै प्रभावित छ । जमरा, पूmलपाती सिउरेर पुलकित छ । यही हो विस्तार भनेको । टीका नलगाओस् तर ऊ अर्थलाभी व्यापारमा मरिहत्ते गरेकै छ ।
जसरी तराई मधेसबाट उक्लिएर छठ पर्व पहाड, हिमाल वा सबै नेपालीको भएको छ । संस्कृति विस्तारको यसभन्दा अर्को उदाहरण दिनुपर्ला र ? थप बढी ‘रमदान र बकरिद’ इस्लामी पर्व इस्लाम धर्मावलम्वी र हिन्दुहरुले सँगसँगै मनाएको थाहा पाउँदा कति आनन्द अनुभूति हुन्छ ? यही हो समर्थन वा स्वागतयोग्य विस्तारको प्रभाव ।
यसरी विस्तारको कुरा गर्दा संकुचनको पीडादायी पक्ष पनि छ । परम्परा वा प्रचलनको दीर्घ प्रयोग नै संस्कृति हो ।
संकृति पहिचानको सूत्र तर यसभन्दा बढी अहिले पर्वहरु आर्थिक र सामाजिक पक्षमा अत्यन्त दृश्य पारिन थालिएको छ । संस्कृति संकुचन, सम्पत्ति सम्पन्नता प्रदर्शन विस्तार गर्न थालिएको छ ?
त्यसो त यस्ता सामूहिक परम्परा सामाजिक सोचका उपज हुँदा हुन् । जतिबेला पर्वहरु प्रयोगमा ल्याइए त्यति बेलैदेखि अर्थ वा सम्पन्नताको प्रभावार्थ रहन्थ्यो होला । भलै अहिलेको जस्तो उत्ताउलो र गरिबीलाई घोच्ने प्रकारको नभए पनि । गरिबीमा दसैँँको सांस्कृतिक गरिमा खुम्चिएको छ ।
के खाऊँ र के लाऊँको अवस्थामा बाँचेका परिवारका बालबच्चालाई दसैँँ संस्कृति के हो ? अभाव वा अरुको तामझाम देखेर रुनु, तड्पिनु र तिनका बाबुआमा पिरोलिनु ? यही हो अर्थ, सामाजिक पक्षमा (विभेद) संस्कृतिको संकुचन । प्रश्न छ विस्तार केमा भयो, संकुचन कहाँ ?
विस्तार, मेरै परिवारका बेलायती सदस्यले जब नेपाली पहिरनमा टीका, जमरा लगाएको फेसबुकमा देखियो, यो पनि त सांस्कृतिक विस्तार हो भन्ने लाग्यो । नेपालीहरु जहाँ छन् त्यहाँ दसैँँ मनाएको थाहा पाउँदा यहाँ बस्ने संस्कृति प्रेमीलाई आफ्नो मौलिकताप्रति गौरव हुने नै भयो ।
गौरव र खुसी त आल्हादित र पुलकित संस्कृतिले दिन्छ नै तर आर्थिक, सामाजिक हैसियतमा सबैले यस्तै रमाइलो गर्न पाए संस्कृतिले पनि थप विस्तार हुने फाँटबारी पाउँछ । गरिबीको आँगनमा कसोरी फैलनु संस्कृतिको फूल ? यही हो संस्कृतिको पीडादायी संकुचन ।