काठमाडौं । सरकारले भाइरल रोग रेविजबाट जोगिन आग्रह गरेको छ । रेविज जनावरको टोकाइबाट सर्ने प्राणघातक भाइरल रोग हो । रेविजबाट संक्रमित कुकुर, जङ्गली जनावर जस्तैः स्याल, फ्याउराले टोकेमा, चिथोरेमा वा सम्पर्कमा आउँदा तिनीहरूको यालबाट रेविज सर्छ । रेविजमा मुख्यतः भाइरसले मस्तिष्कमा असर पुर्याउँछ र लक्षण देखिएपछि रेविज घातक हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुकुर वा अन्य जनावरले टोकेमा के गर्ने ?
कुकुर, फ्याउरोलगायतले टोकेको खण्डमा टोकेको घाउमा १५ मिनेटसम्म साबुनपानीले सफा गर्नुपर्छ । त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेविजविरुद्धको खोप लगाउनु पर्ने मन्त्रालयले जनाएको छ ।
रेविज विरुद्धको खोप देशैभरिका प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निःशुल्क उपलब्ध पाइने पनि मन्त्राले जानकारी दिएको छ ।
रेविजबाट कसरी बच्ने ?
रेविज लाग्नबाट बच्न कुकुरलगायत जंगली जनावरको टोकाइबाट बच्नुपर्छ । “कुकुरको टोकाइबाट बच्न सुतिरहेको कुकुरलाई एक्कासी उठाउनु हुँदैन । लात्ताले हान्नु हुँदैन । कुकुर तर्सिएको वा रिसाएको बेला नजिक जानु हुँदैन,” मन्त्रालयले भनेको छ, “कुकुरले खाना खाइरहेको बेला नजिस्काऔं, नतार्साऔँ ।”
कुकुरले पछयाएमा दौडनु हुँदैन । शान्त भएर उभिनु पर्छ । नचिनेको कुकुरको नजिक जाँदा ख्याल गर्नु पर्ने जनाएको स्वास्थ्य मन्त्रालयले अनिवार्य रुपमा घरपालुवा वा सडक कुकुरहरूलाई पशु चिकित्सकको सल्लाहमा रेविजविरुद्धको खोप लगाउन सुझाव दिएको छ ।