नयाँ दिल्ली । भारत सरकारले आतंकवादी समूहहरूसँग सम्बन्ध रहेको आरोपमा विवादास्पद मुस्लिम समूह 'पपुलर फ्रन्ट अफ इन्डिया (पीएफआई)' माथि पाँच वर्षका लागि प्रतिबन्ध लगाएको छ ।
गएको दुई सातामा सरकारी अधिकारीहरूले भारतका थुप्रै राज्यमा पीएफआईका कार्यालयहरूमा छापा मारेर धेरै नेतालाई गिरफतार गरेका थिए ।
सरकारले बुधबार बिहान प्रतिबन्धको घोषणा गरेको हो । पीएफआईले भने सरकारको आरोप अस्वीकार गरेको छ । साथै उसले सरकारी कदमविरुद्ध देशभर विरोध प्रदर्शनको आयोजना गरेको छ ।
मुलुकको सम्मान, सार्वभौम र सुरक्षाप्रति पूर्वाग्रह राख्ने खालका गैरकानुनी क्रियाक्रलापमा पीएफआई र यसका सहयोगीहरू आबद्ध रहेको पाइएकाले प्रतिबन्ध लगाइएको सरकारको दाबी छ । यस समूहको प्रतिबन्धित इस्लामिक समूहहरू द स्टुडेन्टस इस्लामिक मुभमेन्ट अफ इन्डिया (सिमी) र द जमात–उल–मुजाहिद्दिन बंगलादेश (जेएमबी) तथा इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आईएसआईएस)सँग सम्बन्ध रहेको सरकारले बताएको छ ।
भारतको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "पीएफआई र यसका सहयोगी समूहहरूले खुला रूपमा आफूलाई सामाजिक–आर्थिक, शैक्षिक तथा राजनीतिक संगठनको रूपमा सञ्चालन गर्दै आएका छन् । तर उनीहरूको गोप्य एजेन्डा भने समाजलाई लोकतन्त्रविरुद्ध डोर्याउने धारणामा आधारित रहेको छ ।"
२२ देखि २७ सेप्टेम्बरसम्म यसको कार्यालयहरूमा छापा मार्ने क्रममा २५० जना भन्दा बढी गिरफतार गरिएका छन् ।
सन् १९९२ मा बाबरी मस्जिद भत्काइएको केही वर्षपछि विवादास्पद संगठन नेसनल डेभलपमन्ट फ्रन्ट (एनडीएफ) स्थापित भएपछि पीएफआई अस्तित्त्वमा आएको हो ।
बीबीसीबाट ।