चितवन राष्ट्रिय निकुञ्जले आगामी वर्ष आफ्नो स्वर्ण महोत्सव मनाउँदैछ । गत वर्षको दसैंतिहार छेक चितवनको सौराहा, कसरा तथा त्यस वरिपरिका होटल, लज, मचान तथा घरवास अर्थात् ‘होमस्टे’हरु आन्तरिक पर्यटकले खचाखच भरिएका थिए । एउटा समाचारअनुसार चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल, लज, मचान तथा घरवास सञ्चालकहरुले समेत त्यस्तो अपेक्षा गरेका थिएनन् । त्यसरी सो क्षेत्रका होटल, लज, मचान तथा घरवास सञ्चालकले अपेक्षै नगरेको संख्यामा आन्तरिक पर्यटक भ्रमणमा जाँदा पर्यटन व्यवसायीका साथै स्थानीवासीलाई पनि आर्थिक फाइदा भएको थियो ।
त्यसो त गएको दुई वर्षको कोरोना महामारीको बेला पनि दसैं, तिहार तथा छठपर्वको अवसरमा ‘चितवन राष्ट्रिय निकुञ्ज’मा विदेशी पर्यटक आगमन लगभग शून्य हुँदा पनि आन्तरिक पर्यटक राम्रै संख्यामा आएका थिए । चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपर आन्तरिक पर्यटक आकर्षित हुनुको अर्काे कारण कोभिड–१९ का कारण लगभग एक÷डेढ वर्ष बन्दाबन्दी र निषेधाज्ञामा निस्सासिएर बस्न बाध्य काठमाडौंलगायत सहरी क्षेत्रका मध्यम वर्गीय परिवार र युवामा घुमफिरको रुची बढ्नु पनि हो ।
त्यसैले तिनले विसं २०७७, ७८ का दसैं ताका नेपालको अन्य पर्यटकीय क्षेत्रलाई सुरक्षित नठानेर पनि चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, पोखरा, पुनहिल, मार्दी हिमाल, लाङटाङ, मुस्ताङ, गोसाईँकुण्ड आदिलाई आफ्नो गन्तव्य बनाएका थिए । चितवन राष्ट्रिय निकुञ्ज काठमाडौंदेखि भगौलिक दूरी, यातायातको सहजता, खर्चबर्च आदिका कारणले पनि दसैं, तिहार, छठ, नयाँ वर्ष आदिको अवसरमा अन्यत्रभन्दा अलि बढी नै नेपाली पर्यटकको भिड लाग्ने गरेको छ ।
पर्यटन क्षेत्रमा आएको विविधीकरणसँगै पर्यटकलाई नयाँपन दिने लहरले गर्दा हाल विश्वका सौखिन पर्यटकले रोजीछानी आफ्नो गन्तव्य फेर्न थालेका छन् । त्यसैले विश्वका अनेकौं देशले पर्यटकलाई विभिन्न सेवा सुविधा दिइरहेका छन् । पर्यटन व्यवसाय गरिहेका छन् । विविध प्रकारको पर्यटनले फस्टाउने अवसर पाएको छ ।
नेपाल पर्यटनका लागि अनेकौं संभावना भएका विश्वका केही देशमध्येमा पर्छ । भौगोलिक, जातीय, भाषिक, सांस्कृतिक, जैविक विविधताका आधारमा विश्वका कुनै पनि देशसँग दाँज्न सकिने सम्पदा र संभावना नेपालमा विद्यमान छ ।
नेपाल आउने पर्यटकलाई पर्वतारोहण, बन्जी जम्पिङ, साइक्लिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ, हाइकिङ, ध्यान,स्वास्थ्य पर्यटन, साहसिक पर्यटन, सांस्कतिक पर्यटन, अध्ययन पर्यटन, नगर भ्रमण, सांस्कृतिक अध्ययन, सामाजिक अध्ययन, जातजाति विशेषको धर्म, संस्कृति, भाषा आदिको सम्बन्धमा अध्ययन, सिकार, चरा र वन्यजन्तु अवलोकन, सफारी, वन्यजन्तु अध्ययन अनुसन्धान पर्यटनको संभावना धेरै नै छ । यहाँ चर्चा गर्न खोजिएको विषयचाहिँ विश्व पर्यटन दिवस र निकुञ्ज पर्यटनका बारेमा हो ।
निकुञ्ज पर्यटन खासगरी सम्बन्धित क्षेत्रकोग्रामीण भेगका बासिन्दाका लागि आर्थिक आधारको रुपमा रहेको छ हुँदैन ।
अधिकांश निकुञ्ज गाउँघरका आसपासमा छन् । हालसम्म नेपालमा सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज , से फोकसुन्डो राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्जलगायत लगभग एक दर्जनको हाराहारीमा राष्ट्रिय निकुञ्ज छन् । निकुञ्जको आम्दानी र पर्यटकको भ्रमण संख्या हेर्दा सगरमाथा राष्ट्रिय निकुन्ज, लाङटाङ राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुञ्जलाई निकुञ्ज पर्यटनको आधारस्तम्भ मान्नुपर्ने देखिन्छ ।
नेपालको पर्यटन विकासको क्षेत्रमा प्रारम्भमा विदेशीको योगदान देखिन्छ । आधुनिक होटल व्यवसायदेखि पदयात्रा पर्यटन वा हिमाल आरोहण सबैतिर विदेशीले नै थालनी गरेका थिए । आधुनिक र सुविधा सम्पन्न होटलको थालनी ‘रोयल होटल’ बाट रुसी नागरिक बोरिस लिसानोभिचले गरेजस्तै नेपालमा निकुञ्ज पर्यटनको आधारस्तम्भ खडा गर्नमा पनि विदेशी नागरिककै हात छ । सन् १९६० को दशकमा बेलायतका नागरिक जिम एडवर्डस्ले पहिलोपटक चितवनमा ‘टाइगर टप्स’ नामक होटल खोलेर निकुञ्ज क्षेत्रमा पर्यटन व्यवसायको थालनी गरेका थिए ।
ninamkirat123@gmail.com