काठमाडौं । ‘हामीलाई पनि अमेरिकामा नेपाली सिनेमा ‘प्रेम गीत–३’ पहिलो दिन पहिलो शो हेर्ने अवसर पहिलोपटक मिल्यो । यसरी पहिलोपटक अमेरिकाको सिनेमा घरमा नेपाली सिनेमा हेर्न पाउनु गर्वकै कुरा हो ।’ अमेरिकामा रहेकी साहित्यकार उषा शेरचनले शनिबार बिहान फेसबुक वालमा सगर्व पोस्ट गरिन् । नगरून् पनि किन ? पहिलोपटक अमेरिकाको सिनेमाघरमा नेपाली चलचित्र नियमित शोमा चलेको थियो ।
यसअघि पनि अमेरिकामा नेपाली सिनेमा नचलेका होइनन् । तर, नेपालीले सिधै निर्मातासँग किनेर केही दिन हल भाडामा लिएर नेपालीलाई देखाउँथे । ती चलचित्र नेपाली डायस्पोरालक्षित हुन्थे । तर, अमेरिकी सिनेमा वितकरले नै चलचित्र किनेर हलमा लगाएको यो पहिलो नेपाली चलचित्र थियो । अमेरिकी सिनेमाघरको बक्सअफिसमा टिकट काटेर हेर्न पाएको यो पहिलो नेपाली चलचित्र हो । त्यसैले त उषाले गर्वले उद्वेलित हुँदै आफ्नो फेसबुकका सहहृदयी साथीहरूमाझ खुसी साटिन् ।
र, यो खुसी दिएका थिए, निर्माता तथा निर्देशक सन्तोष सेनले । सन्तोषको चलचित्र हो, ‘प्रेम गीत–३’ । कोभिड–१९ अगाडि नै सकिएको चलचित्र कोरोनाका कारण हलमा रिलिज हुन सकेन । लकडाउन भयो । सन्तोषसहितको टिम फुर्सदिलो भयो । सन्तोषलाई लाग्यो, भारतीय बजारमा नेपाली चलचित्र देखाउन पाए कति गज्जब हुने थियो ।
यसका मुख्य पात्र प्रदीप खड्का ‘भारतीय टेलिभिजनमा आउने कतिपय हिन्दी सिनेमाभन्दा त हाम्रो चलचित्र राम्रो छ’ भन्थे । त्यसपछि बन्यो मुम्बई जाने योजना । गए । त्यहाँका स्टुडियोको ढोका ढक्ढक्याउन थाले । महिनौँको प्रयासपछि उनले भेटे, स्टुडियो । र, वितरक पनि । अनि सुरु भयो हिन्दीमा डबिङ । नेपाली भाषा भारतीयले बुझ्दैन थिए । हिन्दीमा डबिङको विकल्प थिएन । सुरु गरे ।
यता, नेपाली मेकर भन्दै थिए– लहडी सन्तोषको बहुलट्टीपन, भारतमा नेपाली चलचित्र प्रदर्शन ? दिवा सपना मात्रै हो, विनाशकाले विपरीत बुद्धि ।
मुम्बईका सयौँ गल्लीमा जुत्ताका तलुवा खियाउँदा पनि बलिउडका स्टुडियोको ढोका नउघ्रिएपछि लखतरान भएर फर्किएकाहरूले यस्तो भन्नु अस्वाभाविक पनि थिएन ।
सन्तोषले चलचित्र नगरीमा पाइला टेकेको पाँच वर्ष मात्र नाघेको थियो । तर, सन्तोष भन्दै थिए– भाग्यमा छ भनेर डोकोमा दूध दोएर कहाँ अडिन्छ ? दूध अडिन त बाल्टिमै दुहुनुपर्छ ।
उनले मिहिनेत गरे । मुम्बईका गल्लीगल्ली चाहारे । ढोका ढकढक्याए । जसै भारतीय स्टुडियो र वितरकले ग्रिन सिग्नल दिए, उनी कम्मर कसेर लागे । जसै ढोका खुल्दै गयो, सन्तोषको सिनेमाले हाइप उचालिँदै गयो ।
पोस्टर, टिजर, ट्रेलर आयो । भीएफएक्सझैँ देखिने नेपालका हिमाल र लेकका सिनले भारीयत वितरकलाई लोभ्यायो । पाँच करोड रुपैयाँमा यस्तो भव्य लोकेसनमा सिनेमा ? भारतीय वितरकले यो पहिलो इन्डो नेपाली सिनेमा भनेर प्रचार गर्यो । थिएटरमै सिनेमा रिलिज हुने भयो । मुम्बई सहरका चोकचोकमा इतिहासमै पहिलोपटक नेपाली चलचित्रको बडेबडे होर्डिङ बोर्ड टाँगियो ।
सन्तोषले निर्णय गरेका थिए, असोज ७ गते चलचित्रको रिलिज । एकैदिन नेपाल र भारतमा चलचित्रको रिलिज मिति तय गरियो । डबिङ आर्टिस्टको लोभलाग्दो डाइलग डेलिभरी देखेर नेपाली दर्शक लोम्भिए । भन्न थाले– हिन्दी संस्करण पनि हेर्ने हो । हलमा लगाउनुपर्यो ।
दर्शककै लागि बनाएको चलचित्र दर्शकले नै माग गरेपछि किन नलगाउने ? उनले निर्णय गरे लगाउने । त्यो पनि एकैदिन ।
नेपाली चलचित्र सेन्सर भयो । उनले हिन्दी सेन्सरका लागि पनि चलचित्र विकास बोर्डमा निवेदन दिए । बोर्डले भन्यो– हिन्दीमा स्वरांकन भएको चलचित्र नेपाली हुन सक्दैन । हिन्दी चलचित्र सेन्सरमा जसरी आउँछन्, त्यसैगरी आऊ ।
सन्तोषले भने– हाम्रो चलचित्र नेपाली हो । नेपाली सेवा सुविधा देऊ ।
बोर्डले हुँदैन भन्ने अडान लियो । त्यसपछि सुरु भयो वाद, प्रतिवाद र विरोध ।
निर्माता संघका अध्यक्षले यसलाई ‘देशद्रोही’ चलचित्र भने । दीपकराज गिरीले ‘माग्नेजति मात्रै माग्दा राम्रो’ भने । निर्माता संघले हिन्दी भाषाको चलचित्रलाई नेपाली नमान्न बोर्डलाई सुझायो । आफ्नै देशमा आफ्नै सहकर्मी तथा स्वयं निर्माताहरूबाटै एक्लिए सन्तोष ।
हिन्दी चलचित्रसरह सेन्सरमा आउन भनेपछि उनी सोहीअनुसारको प्रक्रिया अपनाएर बोर्डमा पुगे । बोर्डले सेन्सरका लागि सञ्चार मन्त्रालयमा सिफारिस गर्यो । तर, निर्माण पक्षले प्रेम गीत–३ के कति कारणले हिन्दी सिनेमा हो, स्पस्ट पारिदिन भन्दै निवेदन दियो । बोर्डले बोर्डका अध्यक्ष भुवन केसीलाई बोलाएर छलफल गर्यो । र, उनलाई भन्यो– प्रेम गीत–३ हिन्दी होइन, नेपाली चलचित्र हो । नेपाली निर्माता भएको, नेपाली कलाकार र प्राविधिकले काम गरेको, अधिकांश सिन नेपालमा छायांकन गरेको र नेपालमा इजाजत लिएर बनेको चलचित्र हिन्दी होइन, नेपाली हुन्छ भन्ने निर्णय गर्यो ।
त्यसपछि सन्तोषले भने– राजनीति अति भएको थियो, मन्त्रालयले टुंगो लगाइदियो ।
तर, यति हुँदासम्म ७ गते चलचित्र लगाउन ढिलो भइसकेको थियो । त्यसैले हिन्दी संस्करण नेपालीसँगै एकैदिन लागेन ।
पहिलोपटक कसैले नेपाली चलचित्र एकसाथ विश्वका धेरै देशमा पुर्याइदियो त के बिग्रियो ? कसैले यति प्रयासमै होला भनेर कल्पना पनि नगरेको सन्तोषले गरेर देखाइदिए त उनले के गल्ती गरे ? सरकारले गर्नुपर्ने काम उनले व्यक्तिगत प्रयास र लगानीमा गरे, कसलाई कहाँ क्षति पुग्यो ? अरू राज्यको मुख ताकेर बसिरहेका थिए, सन्तोष आफैँ अग्रसर भएर के बिराए ? के कारण एकमुख भएर उनको विरोध गर्न लाग्नुपर्यो ?
आफूलाई नेपाली रजतपटकै संरक्षक र अग्रज मान्नेहरूले आधा शताब्दीसम्म नेपाली चलचित्रको ढोका विदेशमा खोल्न नसकेको जगजाहेर छैन र ? नीर शाह, यादव खरेल, तुलसी घिमिरे, उद्धव पौडेल, नकिम उद्धिन, मनोज राठीहरूले चाहेर होस् वा नचाहेरै नसकेको वा नगरेको होइन र ? एउटा युवाले एकल प्रयास गरेर आज नेपाली चलचित्र विश्वका ठूला देशमा पुर्याउँदा विरोधको स्वर किन ?
विरोध होइन, सन्तोषलाई सहयोगको हात दिन सक्नुपर्थ्यो । त्यो पनि नसके ‘स्याबास’ भन्न सक्नुपर्थ्यो । त्यो पनि नसके कम्तीमा चुप लागेर बस्नुपर्थ्यो । किनकि, सन्तोष एउटा सिनेमा होइन, समग्र नेपाली चलचित्र क्षेत्रका नायक हुन् । नेपाली चलचित्रलाई विदेशी बजारमा ढोका खोलिदिने पौरखी पात्र हुन् । जसले नेपाली सिनेमा उद्योगलाई ठूलो गुन लगाएका छन् ।
उनले बनाएको सिनेमा राम्रो होस् वा नराम्रो त्यो अहिलेका लागि गौण विषय हो । उनको चलचित्रले कोरेको बाटो हुँदै नेपाली सिनेमाले लामो बाटो यात्रा तय गर्न सक्छ । अब कम्तीमा नेपाली सिनेकर्मीले मुम्बईका स्टुडियोको ढोकाबाटै फर्किनु पर्दैन । कम्तीमा कन्टेन्ट कस्तो छ भनेर उनीहरूले सहजै हेर्नेछन् । नेपालमा पनि चलचित्र उद्योग छ र त्यहाँ पनि चलचित्र बन्छन् भन्ने जानकारी विश्व बजारले थाहा पाएको छ । भलै, यसमा कति र कसरी काम गर्ने त्यो व्यक्तिमै भर पर्नेछ ।
विदेशी बजारमा नेपाली चलचित्रको ढोका खोल्न यो बहुलट्टीपन देखाएँ भनेर सन्तोषले जतिसुकै दाबी र जिरिह गरून्, उनले आफ्नै चलचित्रको व्यापारका लागि गरेका हुन् । आफ्नो व्यापार बढाउन नै गरेका हुन् । तर, बजार यसरी नै फैलिने हो । इतिहास यसैगरी बन्दै र लेखिँदै जाने हो ।
उनले आफ्नो चलचित्र मात्र विदेशमा फैलाएनन्, सँगै नेपाली भूगोल पनि विदेशमा देखाए । नेपालको सुन्दर हिमाल विदेशीमाझ पुर्याए । यो सिनेमा हेरेर पर्यटक आए भने त्यसको फाइदा कसलाई हुन्छ ? बलिउड र हलिउडबाट सिनेमा छायांकनका लागि आए त्यसको नाफा कसलाई हुन्छ, सन्तोष सेनलाई कि सरकारलाई ? निःसन्देह सरकारलाई ।
तर, सन्तोषको चित्त त्यति बेला दुखाए, जति बेला उनलाई चलचित्र विकास बोर्डले सोध्यो– तिम्रो चलचित्र हिन्दी भाषामा स्वरांकन भएर इन्डिया वा अरू देशमा लागेर हामीलाई के फाइदा ? सायद ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड’ उखान यहीँ सान्दर्भिक होला ।
त्यसैले त प्रेम गीत–३ भारतमा रिलिज हुने भएपछि बोर्डले आफूलाई सम्मान गरेकोप्रति चित्त दुखाउँदै सन्तोषले शनिबार लेखे– हामीलाई सम्मानको कुनै खाँचो थिएन । विगत सात वर्षदेखि चलचित्र निर्माणमा छु । अवार्डको पछि कहिले लागिएन । बोर्डले सम्मान गर्दा हल्का मन खुसी थियो । तर, त्यो पछाडिबाट हानिएको वाण रहेछ । देश फर्किएलगतै फिर्ता गर्ने वाचा गर्छु । हामीलाई हौसला चाहिएको हो । हतोत्साही गर्ने नुनचुक हैन ।
अन्त्यमा, हिन्दीमा स्वरांकन भएको प्रेम गीत–३ पनि नेपालमा लाग्दै छ । नेपाली भर्सनभन्दा हिन्दी संस्करण दर्शकले मन पराए र त्यसले लोभलाग्दो व्यापार गर्यो भने के हुन्छ ? त्यसपछि हरेक नेपाली चलचित्र हिन्दीमा डबिङ गरेर नेपालमा चलाउन थालियो भने के हुन्छ ?
स्वाभाविक रूपमा अनुमान लगाउन सकिन्छ, नेपाली कला, साहित्य र संस्कृतिमाथि हस्तक्षेप हुनेछ । नेपालमा नेपाली भाषा होइन, हिन्दीमा डबिङ गरेर चलचित्र चलाउने लहड चल्नेछ । ती सबै चलचित्रले नेपाली सेवा सुविधा नै माग्न थाले भने ? पक्कै पनि त्यो नेपाल र नेपालका लागि हितकर हुने छैन । त्यसैले यसले गलत नजिर बसाउला भन्ने डर धेरैमा छ । विदेशी बजारमा नेपाली चलचित्रको ढोका खोल्ने पहिलो चलचित्र भएकाले यसलाई सफ्ट कर्नरबाट हेरिएको भन्दै अन्ततः आफ्नो पुरानै नियम, कानुनमा फर्किन सकिन्छ । किनकि, विशेष योगदान गर्ने व्यक्तिलाई सम्मानस्वरूप विशेष छुट पनि त दिन सकिन्छ । योगदानको कदर नहुने हो भने कसले किन गर्छ योगदान, जसले अरूको भलाइ होस् ।