काठमाडौं । देशका केही ठूला नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार चिसापनीस्थित कर्णाली, समजीघाटस्थित भेरी, दिपायलस्थित पश्चिम सेती, पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ ।
यस्तै, मैनाचुलीस्थित कन्काई, वेलस्रोतस्थित कमला, पधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । अरू केही ठूला नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ ।
देशका केही साना नदीहरूमा पनि बहाव बढ्न सक्ने तथा केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ । आज झापा, कञ्चनपुर र डडेलधुरामा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।
यस दिन झापा, कञ्चनपुर, डडेलधुरा, इलाम, पाँचथर, मोरङ, सोलुखुम्बु, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, उदयपुर, मकवानपुर, धादिङ, नुवाकोट, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), दाङ, बाँके, बर्दिया, कैलाली, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ, बाजुरा र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्न सक्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
यस्तै, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, रुपन्देही, कपिलवस्तु, गोरखा, लमजुङ, कास्की, पर्वत, अर्घाखाँची, गुल्मी, रुकुम पश्चिम, रुकुम पूर्व र आसपास भई बहने केही साना नदीहरूमा बहाव सामान्य बढ्ने पूर्वानुमान छ ।
उक्त नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।