टोकियो । जापानको मौसम विज्ञान निकाय (जेएमए)ले शनिबार दक्षिणी क्युशु टापुतर्फ खतरनाक’ आँधी आउने जोखिम रहेको जनाएको छ । आँधीबाट अकल्पनीय क्षति हुन सक्ने भन्दै त्यहाँका बासिन्दालाई आँधीपूर्व नै सुरक्षितस्थलमा जान प्रशासनले आग्रह गरेको छ ।
‘नानमाडोल’ नाम दिइएको आँधी प्रतिघण्टा २७० किलोमिटरको गतिमा आउने भन्दै यसलाई ‘भयानक’ आँधीका रूपमा वर्गीकृत गरिएको छ ।
दिउँसो अबेरसम्म आँधी ओकिनावा टापुबाट ४०० किलोमिटर पूर्वमा रहेको दुर्गम मिनामी दाइतो टापुनजिक आइपुगेको थियो ।
यो आँधी आइतबार क्युशुको दक्षिणी कागोशिमा प्रान्तमा प्रवेश गर्ने र त्यसको अर्को दिन उत्तरतर्फ सर्ने र त्यसपछि जापानको मुख्य टापुतर्फ अघि बढ्ने अनुमान गरिएको छ ।
“भयानक प्रकृतिको आँधीबेहरी, उच्च छाल, र व्यापक रेकर्ड वर्षाको जोखिम देखिएको छ,” जापानको मौसम विज्ञान निकायको पूर्वानुमान एकाइका प्रमुख र्युता कुरोराले सञ्चारकर्मीसँग भने ।
उनले थपे, “अधिकतम सावधानी आवश्यक छ । जोखिमको प्रभावित क्षेत्रका बासिन्दाहरूलाई चाँडोभन्दा चाँडो खाली गर्न आवश्यक देखिन्छ । यो निकै खतरनाक आँधी हो ।”
कुरोराका अनुसार कागोशिमा क्षेत्रका लागि शनिबारपछि पनि उच्च चेतावनी अपनाउन आवश्यक छ । जेएमएले केही दशकमा एकपटक देखिएको अवस्थाको पूर्वानुमान गरेपछि मात्र ‘विशेष चेतावनी’ चेतावनी जारी गर्छ ।
सन् २०१३ मा वर्तमान प्रणाली सुरु भएयता ओकिनावा क्षेत्रबाहिर जारी गरिएको यो पहिलो आँधीसँग सम्बन्धित विशेष चेतावनी हो ।
कुरोराले पत्रकारसँग भने, “हावाहुरी यति भीषण हुनेछ कि केही घरहरू ढल्न सक्छन् । बाढी र पहिरोको जोखिम पनि उत्तिकै छ ।”
जापानमा अहिले आँधीबेहरीको मौसम छ र एक वर्षमा लगभग २० आँधीबेहरीको सामना गर्नुपरिरहेको छ । आँधीका कारण भारी वर्षा हुने र पहिरो वा आकस्मिक बाढी आउने खतरा भएको बताएपछि प्रभावित क्षेत्रका मानिस भयभीत बनेका छन् ।
सन् २०१९ मा जापानमा रग्बी विश्वकप आयोजना गर्ने क्रममा ‘ह्यागिबिस’ नामक आँधीका कारण १०० भन्दा बढीको ज्यान गएको थियो । एक वर्षअघि ‘जेबी’ आँधीले ओसाकाको कान्साई विमानस्थल क्षेत्रमा असर पारेको थियो । यसमा करिब १४ जनाको मृत्यु भएको थियो ।
सन् २०१८ मा पश्चिमी जापानमा आएको बाढी र पहिरोका कारण २०० भन्दा बढीको मृत्यु भएको थियो ।
जापान एयरलाइन्स र अल निप्पोन एयरवेजको वेबसाइटका अनुसार नानमाडोल आँधी आउनुअघि नै उडान रद्द हुँदा कागोशिमा, मियाजाकी र कुमामोतोलगायत क्षेत्रीय विमानस्थलको गतिविधि प्रभावित हुन थालेको छ ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण जापानमा आँधीबेहरीको गम्भीरता बढिरहेको छ र अत्यधिक गर्मीको लहर, खडेरी र बाढीजस्ता चरम मौसमहरू बारम्बार र तीव्र हुँदै गएका छन् । रासस/एएफपी