काठमाडौं । वर्तमान संसद्को अन्तिम बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सवाल–जवाफ भएको छ ।
ओलीले आफूले संसद् विघटन गरेर निर्वाचन घोषणा गर्दा प्रतिगमन भनिएको बताएका थिए । तर, अहिले घोषणा गरिएको चुनावलाई आफूले प्रतिगमन नभनेको बताएका थिए ।
त्यसको जवाफमा प्रचण्डले आफूहरूले निर्वाचनलाई प्रतिगमन नभनेको भन्दै हठात् संसद् विवघटनलाई मात्र प्रतिगमन भनेको बताए ।
“प्रमुख प्रतिपक्षी नेताको कुरा सुनेर लाग्यो, लोकतन्त्रमा जस्तो व्याख्या गरे पनि हुँदो रहेछ । पार्टीको बैठक जारी रहँदा त्यहाँ एकपटक समेत छलफल नगरी संसद् विघटन गर्ने, गणतन्त्रलाई अँध्यारो सुरुङतर्फ धकेल्ने काम प्रतिगमन नभएर के हो ?,” प्रश्न गर्दै प्रचण्डले भने, “तपाईंले घोषणा गरेको चुनाव र यो चुनाव उस्तै हो ? उस्तै अवस्थामा संसद् विघटन गरेर अहिले चुनाव घोषणा भएको हो ?”
उनले वर्तमान सत्ता गठबन्धनले लोकतन्त्र ‘ट्रयाक’मा ल्याएको कुरा जनताले बुझिसकेको भन्दै भ्रममा राख्न सकिन्छ कि भन्ने प्रयास छोड्न ओलीलाई सुझाव दिए ।
“प्रतिपक्षी दलका नेताले मंसिर ४ को चुनावमा जनताले ‘देखाइदिन्छन्’ भन्नुभयो । राष्ट्रियसभा चुनावमा देखिएको होइन र ? पत्रकार महासंघको चुनावमा देखिएको होइन र ? नेपाल बार एसोसिएसनको चुनावमा देखिएको होइन र ? ल हेरौँ न त मंसिर ४ को निर्वाचनमा !”
उनले नागरिकता विधेयक संसद्मा लैजाऔँ भन्दा हिजो नमानेको भन्दै अहिले भ्रम छर्दैमा जनताले विश्वास नगर्ने बताए ।
“तपाईं प्रधानमन्त्री हुँदा म पनि त्यही पार्टीको अध्यक्ष थिएँ । हामीले नागरिकता विधेयक राज्य व्यवस्था समितिको प्रतिवेदनानुसार नै संसद्मा लैजाऔँ, संसद्ले जे गर्छ गर्छ भन्दा नमान्नुभएको होइन ?,” ओलीलाई प्रश्न गर्दै प्रचण्डले भने, “तपाईंले ल्याएको अध्ध्यादेशमा के थियो, हामीले देखेका छैनौँ ? म यहीँ हुँदाहुँदै झुटो कुरा गर्न तपाईंलाई नैतिक रूपमा अप्ठेरो लाग्दैन ?”