site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
संविधानमा प्रहार  

संविधान दिवस नजिकै छ । असोज ३ गते संविधान दिवसमा राज्यको तर्फबाट औपचारिक कार्यक्रम होला । विसं २०७२ सालमा घोषित वर्तमान संविधान जननिर्वाचित संविधान सभाले बनाएको मुलुकको पहिलो मूल कानुन हो । 

यस दिन राष्ट्रपति, प्रधानमन्त्रीलगायत प्रतिपक्षी दलका नेताहरुले शुभकामना देलान् । संविधानको बखान, व्याख्या गर्लान् । केही कोणबाट बदख्वाइँ होला । सत्तरी वर्षे अवधिमा सातौं संविधानको अभ्यासलाई शुभकामना दिने लहरका उल्लिखित प्रायः सबै पदासीनहरु संविधानमाथि छिद्रान्वेषी प्रहार गर्न जोगिएको भने देखिँदैन । 

संविधानको संरक्षक भनिने राष्ट्रपति स्वयं बारम्बार संविधानप्रति प्रहार गर्न उद्यत देखिएकी छन् । यसअघिका प्रधानमन्त्री तथा अहिलेका प्रमुख प्रतिपक्षी दलका नेता केपीशर्मा ओलीले संविधानमाथि निर्मम प्रहार गरेको र प्रतिगामी प्रयास गरेको आरोप खेपेकै हुन् । 

KFC Island Ad
NIC Asia

अहिलेको सरकारी सत्ता घटकमध्येका एक नेता पुष्पकमल दाहाल संविधानमाथि छिद्रान्वेषी प्रहार गर्नेमा नम्बर एक नै हुन् । त्यसैले उनी निरन्तर सपना देख्छन् – प्रत्यक्ष  निर्वाचित शक्ति सम्पन्न राष्ट्रपतिको । जनताले बनाएको वर्तमान संविधानले संसदीय शासन प्रणाली कायम गरेको छ । यो बेला प्रत्यक्ष निर्वाचित प्रमुख कार्यकारीको प्रस्ताव जनद्वेषी हो ।  

नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र) का अध्यक्ष दाहालको सपनाको एकाधिकार शक्ति प्रयोक्ता राष्ट्रपति संविधानविरुद्धको आग्रह हो । उनी नै कहिले काहीँ आफूले चलाएको ‘हिंसायुद्ध’को परिणाम संविधान सभाले  संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक तथा धर्मनिरपेक्ष संविधान बनाएको सगौरव जस लिने उद्घोष पनि गर्छन् । 

Royal Enfield Island Ad

तर, यस्ता आग्रह वा संविधानप्रतिको दुराग्रहको भावी गन्तव्य जनघाती परिणाममा पुग्नेछ । लोकतान्त्रिक संविधानको उपज राष्ट्रपति नै संवैधानिक प्रावधानमा छिद्रान्वेषण गर्ने र अड्को थाप्ने हाम्रै सामुको उदाहरणले बताएको छ – एकाधिकारवादी राष्ट्रपति यस मुलुकका लागि कस्तो ‘घातक’ होला ? थप बताइरहनु परेन । 

यस विषयमा तराई मधेसमा बढी क्रियाशील दलहरु बरु स्पष्ट छन् । सुरु दिनमा संविधानको धुवाँधार विरोध गर्थे यिनीहरु । समयक्रम र अभ्यास अनुभवले मधेस केन्द्रित दलहरुको आग्रह संविधान संशोधनको स्वाभाविक अडानमा कायम हुन पुगेको छ । संशोधन अन्यथा होइन, संविधानको गतिशीलता पनि हो । संशोधन नागरिक अपेक्षा सम्बोधन गर्ने प्रगतिशील उपाय पनि हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालमा ‘आफ्नै पार्टी’ नेकपा (एमाले)का नेता केपीशर्मा ओली प्रधानमन्त्री बनेपछि उनका सबै सिफारिस द्रूतगतिमा स्वीकृति दिइन्, प्रमाणित गरिन् । त्यतिबेला शीतलनिवासले एउटै तर्क दियो – मन्त्रिपरिषद्को निर्णयबमोजिम भएको प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति दिनु राष्ट्रपतिको संवैधानिक दायित्व हो, संविधानको संरक्षण पनि । 

राष्ट्रपति र प्रधानमन्त्री शर्मा ओलीको सहकार्यले उत्पन्न दम्भको परिणाम ओली नेतृत्वको सरकार विस्थापित भयो । सँगै पाँच दल सम्मिलित सरकार बन्यो । अनि पटकपटक राष्ट्रपतिको संवैधानिक भूमिका फेरिएको अनुभूति दिने व्यवहार प्रदर्शित हुँदैछ । 

उदाहरण तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटनको सिफारिस गरे । त्यतिबेला राष्ट्रपतिलाई कुनै कानुनी परामर्श चाहिएन । कुनै अन्य दल र तिनका नेतासँग छलफल गरिएन । सडकको आवाज पनि महत्त्वहीन बनाइयो । रातारात विघटन सदर गरियो र उही तर्क दिइयो – संविधानले तोकेको दायित्व यही हो ।

ओली नेतृत्वले सिफारिस गरेको नागरिकतासम्बन्धी अध्यादेश पनि हुबहु प्रमाणित गरियो । भनियो, अध्यादेश फिर्ता गर्ने अधिकार राष्ट्रपतिलाई हुँदैन । सही हो । तर स्वयं प्रधानमन्त्रीसँग यस विषयमा आन्तरिक छलफल गर्न संविधानले रोकेको थियो र ? जोखिम भए आन्तरिक परामर्श हुन सक्थेन र ? 

ओलीका पालामा प्रस्तुत अध्यादेश जस्ताको तस्तै नागरिकता सम्बन्धी विधेयकका रुपमा संसद्बाट पारित गर्दा भने उनै राष्ट्रपति संविधानमा छिद्रान्वेषण गर्न लागेको देखिँदैछ । दुवै सदनले पारित गरेको नागरिकतासम्बन्धी विधेयक संविधानको अधिकारबमोजिम राष्ट्रपतिले प्रतिनिधि सभामै फिर्ता गरिन् । ठिकै भनियो । यो अधिकार संविधानले नै राष्ट्रपतिलाई दिएको छ । 

संविधानअनुसार नै पुनः सो विधेयक दुवै सदनले पारित गरेर  प्रमाणीकरणको निम्ति सभामुखले राष्ट्रपतिसमक्ष प्रस्तुत गरे । अब विधेयक रोक्ने अधिकार त संविधानले राष्ट्रपतिलाई दिएको छैन नि । अनेक बहाना र अनपेक्षित सल्लाह, परामर्शको नाममा विधेयक रोक्ने चेष्टा किन वा कुन अधिकारबमोजिम हुँदैछ ? राष्ट्रपतिको प्रमुख सल्लाहकार को हो ? सरकार वा प्रधानमन्त्री नै होलान् नि ?  

सबैभन्दा गलत अभ्यास राष्ट्रपतिले यस विधेयकको सम्बन्धमा प्रधानसेनापति समेत पूर्वसैनिक जर्नेलहरु गुहार्नु हो ।

यस्तो अभ्यास संविधान र नागरिक दुवैको हितमा छैन । यी दुवैको हित नहुने अभ्यास राष्ट्रको हितमा हुन्छ भन्ने पनि मानिँदैन । 

सेनाको सुरक्षा सीमा र परिधि छ । राष्ट्रिय सुरक्षा सैनिक दायित्व हो, राजनीतिक होइन । सेनालाई बलजफ्ती राजनीतिमा तानियो भने त्यसको परिणाम के हुन्छ ? दुनियाँको धेरै ठाउँमा देखिएकै छ । पदासीनहरुको आँखा झन् बढी खुल्नुपर्ने हो । राष्ट्रपतिको यस्तो कृत्यको सन्देशात्मक परिणाम के हो ?

एउटा प्रावधान प्रयोग गरेर विधेयक फिर्ता गर्नु संविधान प्रदत्त अधिकार वा संविधानको संरक्षण बताइने । त्यही संविधानको अर्को प्रावधानलाई कुल्चेर उही विधेयकप्रति अनेक अड्को र तर्क झिक्नु संविधानको संरक्षण हो कि, अधिकार ? यति सामान्य बुद्धि पनि शीतलनिवाससँग छैन र ? 

कानुनवेत्ताहरु भन्छन् – नागरिकतासम्बन्धी प्रस्तुत विधेयक २०६३ को कानुन अनुसारकै हो र ओलीले जारी गराएको अध्यादेशको जस्ताको तस्तै । यो विधेयक कानुन बने आमाबाबु नेपाली नागरिक तर छोराछोरी अनागरिक रहेको अवस्थालाई समाधान गर्ने हो । नेपालीका छोराछोरीलाई नेपाली नागरिकता दिन किन आपत्ति ? विधेयक वा कानूनको जस, अपजस त सरकारले लिने हो, राष्ट्रपतिले त लिने होइन नि । कमजोरी भए दोष सरकारले लिन्छ, जनताबाट दण्डित हुन्छ ।  

प्रस्तुत विधेयक कानुन बन्न राष्ट्रपतिले प्रमाणित गर्नुपर्छ ।  विधेयक कानुन बने पहाड, हिमाल र अधिक तराईमधेसमा गरी झन्डै डेढलाख नेपाली बाबुआमाका चार लाख पचास हजार जति अनागरिक छोराछोरीले नेपाली नागरिकता पाउने बताइन्छ । एउटा गहन समस्या समाधान हुनेछ । 

वैवाहिकलगायत अन्य नागरिकताको विषयमा यो विधेयकले बोलेको छैन । यी विषयमा सहमति, संशोधन गरेर सम्बोधन गर्ने अवसर छ । आगामी दिनमा गर्नु पनि पर्छ र सरकारले पनि यो कुरा भनेकै छ, मानेकै छ ।           

एमालेले अड्को नथापेको भए समाधान सहज हुन्थ्यो । राष्ट्रपतिले पनि विधेयक प्रमाणित गर्न वा नगर्न संवैधानिक छिद्र खोज्ने थिइनन् होला । संविधानअनुसार भइजान्थ्यो । संविधान विरोधी कामको थालनी एमालेको अड्कोले गरेको हो कि ?   

नागरिकतासम्बन्धी विधेयकको विषयमा सदाजस्तै तराईवासीतिर औँला तेस्र्याएर छद्म राष्ट्रवादको खेल खेलिँदैछ । तर, आफ्नो नेपाली भूमि बचाउन केही वर्षअघि तिलाठीमा कहाँको नेपाली मरेको थियो ? त्यस्तै कञ्चनपुरतिर कुन नेपालीले सीमा जोगाउन आफूलाई आहुति दिएको हो ? राष्ट्रवादको राजनीति गर्नेहरुलाई हेक्का होला नि ? ती तराईमधेसकै बासिन्दा थिए । दक्षिणी सीमाभूमिको सादा पोसाकका रक्षक सिपाही त तिनै तराईका नेपाली हुन् । 

यति भनिसकेपछि ‘किम् अधिकम् ?’ संविधानले दिएको पद, प्रतिष्ठा, सेवा, सुविधा उल्लिखित सत्ता सम्भ्रान्त सबैले थपीथपी, बाँडीचुँडी लिएकै छन् । नैतिकता प्रतिकूल  यिनीहरु नै आआफ्नै कोण र जोडबाट संविधानमाथि प्रहार गर्न उद्यत पनि छन् । 

व्यवहारमा त्रुटि होलान् तर नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) संविधानको विषयमा अरुभन्दा सजग र सन्तुलित सुनिन्छन् । तैपनि प्रश्न छ – दलहरुको नेतृत्वमा जनताले बनाएको संविधानको पूर्ण स्वामित्व लिन को कति प्रतिबद्ध तयार छन् ? 

संविधान दिवस नजिकै छ । केहीले अनुमान गरेजस्तै संविधानबमोजिम राष्ट्रपतिले नागरितासम्बन्धी विधेयक प्रमाणित गर्नेछिन् र नेपाली आमाबाबुका अनागरिक छोराछोरीलाई नागरिकता वा नेपाली हुन पाउने खुसी र अधिकार यही अवसरमा दिनेछन् । मुलुकलाई संवैधानिक सहज बाटो दिनेछन् । अन्यथा, संवैधानिक दुर्घटना निम्तिने छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro