
काठमाडौं । पाकिस्तानले साफ महिला च्याम्पियनसिपमा सान्त्वना जित दर्ता गरेको छ । पाकिस्तानले मंगलबार माल्दिभ्सलाई ७–० ले हराएको हो । योसँगै पाकिस्तानले काठमाडौंमा जारी प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानकी नादिया खान एक्लैले चार गोल गरिन् । बाँकी तीन गोल रमिन फरिद, खादिजा काजमी र अनमोल हिराले गरे ।
पाकिस्तान समूह चरणको पहिलो खेलमा भारतसित ३–० ले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ६–० ले हारेको थियो । यो समूहबाट भारत र बंगलादेशले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
आजै हुने भारत र बंगलादेशबीचको खेलले यो समूह विजेताको टुंगो लाग्नेछ । समूह ‘बी’बाट नेपाल विजेता र भुटान उपविजेता हुन् । नेपालले सोमबार श्रीलंकालाई हराएको थियो ।
पाकिस्तान आठ वर्षपछि अन्तरास्ट्रिय फुटबलमा फर्किएको हो । यसअघि, सन् २०१४ को साफ महिला च्याम्पियानसिप पाकिस्तानी टिमले खेलेको अन्तिम प्रतियोगिता थियो । त्यति बेला पाकिस्तानले अन्तिम खेलमा भुटानलाई हराएको थियो ।