
काठमाडौं । पोर्चुगिज टोली बेन्फिकाविरुद्ध अन्तिम–१६ को दोस्रो लेगमा ३–१ को जित निकाल्दै स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति घरेलु मैदानमा भएकोे दोस्रो लेगमा बार्सिलोनालाई जित दिलाउन ब्राजिलियन फरवार्ड राफिन्हा र लामिन यमल नायक बने ।
राफिन्हाले दुई गोल गर्दा यमलले एक गोल र एक असिस्ट गरे । योसँगै यमलले च्याम्पियन्स लिगको नकआउट चरणमा गोल र असिस्ट गर्ने सबैभन्दा युवा खेलाडीको कीर्तिमानसमेत बनाए ।
खेलको ११औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए । तर, बार्सिलोनाको यो अग्रता लामो समय टिक्न सकेन । त्यसको दुई मिनेटपछि नै निकोलस ओटामेन्डीले गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काए ।
२७औँ मिनेटमा यमलले बार्सिलोनालाई २–१ को अग्रतामा राखे । यमलले करिब २५ यार्ड परबाट दर्शनीय गोल गर्दै घरेलु टिमलाई पुनः अग्रतामा राखेका थिए ।
४२औँ मिनेटमा राफिन्हाले नै गोल गरेपछि बार्सिलोना पहिलो हाफमै ३–१ को अग्रता बनाएको हो । दोस्रो हाफमा कुनै पनि गोल नहुँदा स्पेनिस क्लबले समग्रमा ४–१ को जितसहित क्वार्टरफाइनल यात्रा तय गरेको हो ।
यसअघि, पहिलो लेगमा बार्सिलोनाले १–० को जित तिकालेको थियो । बार्सिलोनाले अब प्रतियोगिताको सेमिफाइनलमा प्रवेशका निम्ति बोरुसिया डर्टमन्ड र लिलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।