काठमाडौं । काठमाडौं महानगरपालिकाले राजस्व बुझाउन ‘अल्टिमेटम’ दिएपछि संस्थाहरूले धमाधम कर बुझाउन थालेका छन् । महानगरले विभिन्न मितिमा दिएको अल्टिमेटमपछि ६ संस्थाले ८४ लाख ३४ हजार ९३१ रुपैयाँ मनोरञ्जन कर बुझाएका हुन् ।
महानगर राजस्व विभागका प्रमुख शिवराज अधिकारीका अनुसार काठमाडौं फनपार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ मनोरञ्जन कर बुझाएको छ ।
यस्तै, मेरियट होटेल डेल्टिन क्यासिनोले २१ लाख ४२ हजार ३४ रुपैयाँ, क्यासिनो प्यालेस अन्नपूर्ण होटेलले ११ लाख ८५ हजार ४६३ रुपैयाँ, प्राइड इन्टरटेनमेन्ट इन रिक्रियसन हायात होटेलले नौ लाख ८९ हजार ४६०, माल्जोङ इन्टरटेनमेन्ट होटेल सोल्टीले नौ लाख ९३ हजार ६०० र बेलीज क्यासिनो मल्ल होटेलले १३ लाख ८८ हजार ३६३ रुपैयाँ राजस्व बुझाएका छन् ।
क्यासिनो र्याड र्याडिसन होटेल र रोयल क्यासिनो याक एन्ड यति हाल सञ्चालनमा नरहेको पाइएको विभागीय प्रमुख अधिकारीले बताए ।
महानगरले यही भदौ १९ गते सात क्यासिनोलाई सात दिनमा मनोरञ्जन कर तिर्न अल्टिमेटम जारी गरेको थियो ।
यी हुन् कर नबुझाउने निकाय
अल्टिमेटम दिइएका विभिन्न संस्थाहरूले अहिलेसम्म कर नबुझाएको महानगरले जनाएको छ ।
महानगरका अनुसार राष्ट्रिय नाचघर, चेम्बर अफ कमर्स, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, नेसनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामग्री संस्थान सेन्टर, डेन्टल कलेज साझा भन्डार, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल प्रालि, हाइट फिल स्कुल र रञ्जना ट्रेडले महानगरलाई सम्पत्ति कर बुझाएका छैनन् ।
यस्तै, नेपाल आर्मी केन्द्रीय कार्यालय, समाजकल्याण परिषद्, नेपाल प्रहरीको केन्द्रीय, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पसलाई पनि महानगरको १० दिने अल्टिमेटम छ ।
महानगरको राजस्व ऐन, २०७५ बमोजिम लामो समयदेखि कर तिर्न अटेर गर्ने संस्थालाई जरिवाना पनि तिराउन थालिएको छ । विद्युत् प्राधिकरणले महानगरलाई २० करोड राजस्व बाँकी रहेको चिट पठाएको छ ।
बाँकी संस्थाहरू पनि एकपछि अर्को गर्दै सम्पर्कमा आउन थालेको विभागीय प्रमुख अधिकारीले बताए । “संस्थाहरूको विवरण हेर्न समय लाग्छ । आफ्नो संस्थाको विवरण र सम्झौतासहित केही संस्थाहरू महानगरमा आएका छन् । सबै विवरण हेर्दै जरिवानासहित कर संकलन भइरहेको छ,” उनले भने ।