विराटनगर । विराटनगरस्थित गुरुकुल थिएटरमा अहिले चहलपहल छ । दैनिक रूपमा नाटक मञ्चन हुन थालेपछि दर्शक आकर्षित भएका छन् ।
हाल गुरुकुलमा विद्यालय नाटक महोत्सव जारी छ । शनिबार साँझ ‘प्रत्यागमन’ नाटक मञ्चन गरियो ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको बूढानीलकण्ठ सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलले पाठ्यक्रममा समावेश नाटक मञ्चन गराएको हो । गुरुप्रसाद मैनालीको कथालाई विद्यालयकी शिक्षक अस्मिना भट्ट कर्णले नाट्य रूपान्तरण र निर्देशन गरेकी हुन् ।
नाटकमा प्रविण मोते, अभिषा आचार्य, सर्वश्री भट्टराई, समर्पण खनाल, युनिशा दाहाल, संस्कृति पाण्डे, विवेश चौधरी, जीवन ढकाल, सिर्षदा सुवेदी, रिदम घिमिरे र विपुल प्रधानले अभिनय गरेका थिए ।
नाटक महोत्सव यही भदौ ३१ गतेसम्म चल्नेछ । दैनिक अपराह्न ४ बजे फरक–फरक विद्यालयका नाटक मञ्चन हुने आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।
शिक्षक तथा विद्यार्थीको निर्देशनमा तयार पारेको नाटकमा विद्यार्थीलाई नै अभिनय गराइएको छ ।