काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठकमा अझै सहमति जुट्न नसकेको छैन । बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटको मापदण्डमा सहमति जुटिनसकेको एक नेताले जानकारी दिए ।
बुधबार साँझको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार कार्यसमितिले सहमति जुटाएर मापदण्डसहितको सुझाव प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउने बताएका थिए । तर, अहिले आजको बैठकले पनि मापदण्ड र सिट बाँडफाँटको टुंगो लगाएर प्रतिवेदन बुझाउने सम्भावना न्यून रहेको ती नेताले बताए ।
“हामी छलफलमै छौँ । सहमति भइसकेको अवस्था छैन,” ती नेताले भने, “प्रतिवेदन आजै बुझाउन गाह्रो छ । हामी मापदण्ड र दलहरूलाई सिट कति कति दिने भन्ने निर्णयमा पुगेका छैनौँ ।”
गठबन्धनमा कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ । ती नेताका अनुसार दलहरूले आफ्नो अडान छाडेका छैनन् ।