निजामती सेवाको स्वतन्त्र अस्तित्व स्वीकार भएको दिनको आफ्नै महत्त्व भएर नै त्यो दिन ऐतिहासिक भएको हो । तर, विद्यमान व्यवस्थाअनुरूपको ऐन जारी गर्न प्राथमिकता नदिई २०१३ सालकै ऐन आएको दिन सम्झेर कति दिन निजामती सेवा दिवस मनाउने?
निजामती सेवालाई गैरसैनिक चरित्र भएको, समस्त सरकारी सेवाको मानक र योग्यता प्रणालीमा आधारित सेवा भनिन्छ । यसलाई सरकारको नीति कार्यान्वयन गर्ने स्थायी संयन्त्र, शासनको मेरुदण्ड, बौद्धिक व्यक्तित्वको जमात, लोकतन्त्रको प्रतिफल नागरिक सम्म लैजाने औजार आदि पनि भनिन्छ। मुलुकको शासन, विकास र सेवा प्रवाह गर्ने सबैभन्दा मुख्य नै निजामती सेवा भएकाले राज्यले यसप्रति वेवास्ता गरिराख्न मिल्दैन । आदर्शमा स्खलन, विचलन एवं व्यवस्थापकीय कमजोरी भने निजामती सेवामा देखिने विकृति तथा दुर्बल पक्ष हुन् । निजामती सेवाको विकल्प सुधारिएको निजामती सेवामात्र हुनसक्छ ।
नेपालको निजामती प्रशासनको अवस्थाले देशकै यथार्थ चित्र प्रस्तुत हुन्छ । निजामती सेवामा विभिन्न कारणले विकृति बढ्दै गएको छ । मूलतः संरचनागत विकृति (भद्दा, अनावश्यक दरबन्दी, काम, कर्तव्य र अधिकारको अस्पष्टता, उत्तरदायित्वको अभाव, अत्यधिक केन्द्रीकरण, अधिकार प्रत्यायोजन नहुनु), नीतिगत विकृति (अपुरो नीति, व्यक्तिगत स्वार्थमा आधारित नीति, कार्यान्वयन पक्ष कमजोर), प्रक्रियागत विकृति (तटस्थ नहुनु, प्रक्रियामुखी हुनु, नतिजालार्इ गौण मान्ने प्रवृति), व्यवहारवादी विकृति (राम्रो भन्दा हाम्रो मान्छे, परिवर्तन नचाहने प्रवृति, चाकडी प्रथा, आधुनिक प्रविधिप्रति अनभिज्ञता, साधन स्रोतको दुरुपयोग, अपारदर्शिता, नातावाद, हैसियतलाई प्राथमिकता दिने), राजनीतिक हस्तक्षेप, भ्रष्ट मनोवृतिका जनता, न्यूनतम आवश्यकता पूर्ति नहुने तलबजस्ता कारणहरूले विकृति बढाउँदै लगेको छ । यस्ता विकृतिले क्रमशः नेपालको निजामती सेवा फजुलखर्ची बन्दै गएको हो ।
सार्वजनिक प्रशासन सुधार गर्ने भनी हामीकहाँ आधा दर्जन बढी आयोग र समिति बनाइए तर कार्यान्वयन भने आधा दर्जन विषय पनि भएनन् । सार्वजनिक प्रशासन सुधारको काम संगठनात्मक, संरचनात्मक (हार्डवेयर) सुधारमात्र होइन, सफ्टवेयर (कार्यशैली, व्यवहार, संस्कृति) र इन्फोवेयरमा (सूचना, प्रविधि) पनि सारभूत परिवर्तन गर्नु आवश्यक हुन्छ । कर्मचारीको वृत्ति विकास र सेवाको सुरक्षाको विषयबाहेक अबको निजामती सेवा ऐनले यी अन्य विषयसमेत सम्बोधन गर्न सकेमा बल्ल आधुनिक निजामती सेवा बन्न सक्छ । त्यस्तै, व्यवस्थापन परीक्षणलार्इ औपचारिकतामा सीमित नराख्ने, राजनीति र प्रशासनबीचको अन्तरसम्बन्ध स्पष्ट परिभाषित गर्ने, सेवाग्राही सन्तुष्टि मापनका आधारमा कार्य ढाँचा परिवर्तन गर्ने, कार्य सम्पादनमा आधारित पारिश्रमिक र प्रोत्साहनको व्यवस्था गर्ने गरेमा निजामती सेवा अहिलेभन्दा सुधारिन्छ ।
परिवर्तित सन्दर्भमा राजनीतिक रुपान्तरणको लाभ जनतासम्म पुर्याउन, नवीतम प्रशासनिक तथा व्यवस्थापकीय मूल्य मान्यताअनुसारको परिवर्तन आत्मसात गर्न, निजामती सेवालाई आकर्षक, उत्प्रेरित र नतिजामुखी बनाउन, शासन विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन, निजामती प्रशासनलाई व्यावसायिक बनाउन निजामती सेवासँगै समग्र सार्वजनिक प्रशासनमा सुधार गर्नु आवश्यक छ ।
विशेषतः निजामती सेवामा सुधार गर्दा यसमा आकषर्ण र विकर्षण गर्ने तत्त्वहरूमा ध्यान दिनुपर्छ । जस्तो सेवामा आकर्षण गर्ने तत्त्वहरू वृत्ति विकास र आम्दानी, पुरस्कार र सम्मान, सेवाको सुरक्षा, उत्तरदायित्व निर्धारण, नवीनकार्यका लागि चुस्त व्यवस्थापन, थप शैक्षिक अवसर र तालिम हुन् भने सेवामा विकर्षण गर्ने तत्त्वहरूमा बढुवामा रोकावट, अवसरमा कमी, एकोहोरो र झर्को लाग्दो कार्यप्रणाली पर्छन् ।
राजनीतिक प्रतिबद्धता र प्रशासनिक क्रियाशीलता मार्फत् अबको निजामती सेवा खण्डीकृतबाट एकीकृत, श्रेणीगतबाट तहगत प्रणाली, प्रक्रियामुखीबाट नतिजामुखी, राजनीतिकरूपमा तटस्थ र निष्पक्ष, व्यवस्थित र वैज्ञानिक ढङ्गले संचालन हुने, नागरिक मैत्री, प्रतिस्पर्धी, न्यायपूर्ण बनाइनुपर्छ । यसका साथै, निजामती कर्मचारीको व्यवहार र आचरणमा समेत सुधारको आवश्यकता छ जुन व्यक्तिको अन्तःस्करणबाट मात्र विकास हुन सक्छ ।
निजामती सेवा सरकार र जनताबीचको सम्बन्ध सेतु हो । यसले ठूलासाना, धनीगरिब, उचनीच, शासकसेवक आदि इत्यादि नभनी सबैलाई विधिसम्मत र विवेकसम्मत सेवा प्रवाह गर्नुपर्छ र संकटमा परेको गरिमा बचाइराख्नुपर्छ । यति हुनसकेका बेलामा निजामती सेवा दिवस मनाउँला बेग्लै मजा आउँदो हो।
बागवानी विकास अधिकृत, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, पोखरा)