काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लामा डेंगुको सङ्क्रमण भए पनि सरकार र जनसमुदायले गम्भीरतापूर्वक लिएको छैन । बेलैमा सावधान नहुँदा डेंगुले महामारीको रूप लियो भने त्यसबाट अकल्पनीय क्षति हुन सक्छ ।
एक प्रकारको लामखुट्टेले टोकेर मानिसमा सार्ने भएकाले वर्षा याममा डेंगुको प्रकोप बढी देखिन्छ । उच्च हिमाली बस्तीहरूबाहेक पहाड र तराईका जिल्लामा यतिखेरको तापक्रम र वर्षा लामखुट्टे फैैलन अनुकूल मानिन्छ ।
विशेषज्ञका अनुसार डेंगुबाट सङ्क्रमित बिरामीमा ज्वरो आउने, शरीर र विशेषगरी हाडजोर्नी एवं आँखाको गेडी वरपर दुख्नेजस्तो लक्षण देखिने गर्छ । त्यस्तै वान्ता हुने, खान नरुच्ने, छालामा रगत जमेजस्तो दाग देखिने, नाक, गिँजा आदिमा रगत देखिने हुन्छ ।
जनताका स्वास्थ्य चेनता र सरकारी संयन्त्रमा आवश्यक तदारुकताको अभावका कारण डेंगुको जोखिमप्रति यसरी बेवास्ता गरिएको हुनुपर्छ । विशेषगरी यसको सङ्क्रमण रोक्न र लक्षण देखिएका बिरामीको परीक्षण गम्भीरता देखिएको छैन ।
सन् २०२० को सुरुका दिनहरूसमेत नेपाली समाज, सरकार र संसद्ले कोभिड - १९ प्रति यस्तै उपेक्षा देखाएको थियो । तत्कालीन प्रधानमन्त्रीलगायत सरकारी पदाधिकारीहरूको कोभिडलाई मामुली रुघाखोकी ठान्ने मूर्खताका कारण मुलुकले ठूलो क्षति सहन पर्यो ।
विडम्बना, यति चाँडै नै महामारीको जोखिमप्रति गम्भीर हुनुपर्ने पाठ सरकार र नेपाली समाजले बिर्सेको देखियो । अर्को महामारीको जोखिम नलिने हो भने कोभिडकालको गल्तीबाट सिकेर रोकथाम र परीक्षणका लागि सरकार र जनताले अभियानै चलाउनुपर्छ ।
व्यक्तिका घरआँगन र सार्वजनिक ठाउँको पानी जम्ने ठाउँमा डेंगु फैलाउने लामखुट्टेले फुल पार्ने गर्छ । घरभित्र र बाहिर पानी जम्ने ठाउँ रहन नदिने हो भने डेंगुको सङ्क्रमण नियन्त्रण गर्न धेरै सजिलो हुनेछ ।
त्यसका लागि स्थानीय सरकारले जनतालाई सजग गराएर लामखुट्टे फैलन रोक्ने अभियान सञ्चालन गर्नु आवश्यक देखिन्छ । बस्ती नजिकका पानी जम्ने खाडलहरू पुर्ने र घरभित्र लामखुट्टेले फुल पार्न सक्नेगरी पानी जम्न नदिने हो भने सङ्क्रमण रोक्न खासै कठिन हुनेछैन ।
डेंगुको लक्षण देखिएका बिरामीहरूले पैसाका कारण परीक्षण नगराउने वा गराउन नसक्ने अवस्था पनि हुन दिनु हुँदैन । यसैले डेंगुका बिरामीको निःशुल्क परीक्षणको व्यवस्था हुनुपर्छ । सङ्क्रमण रोक्न गरिने लगानीले जनस्वास्थ्यमा तत्काल सकारात्मक प्रभाव पर्छ भने दीर्घकालीनरूपमा पनि लाभदायी नै हुन्छ ।