काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले 'परमादेशी सरकार' भनेपछि कानुनमन्त्री आक्रोशित भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रतिपक्ष दलका सांसदहरूले अहिले पनि संविधानले न्यायपालिकालाई दिएको स्वतन्त्र अधिकारको निर्णयलाई काम चलाउ नभन्न भन्दै आक्रोश नै पोखे ।
उनले संविधानले काम चलाउ सरकारको परिकल्पना नगरेको पनि उल्लेख गरे । एकछिनको न्यानो नहेरी भाबी दिनलाई सोचेर बोल्नुपर्ने उनको भनाइ छ ।
उनले स्वतन्त्र न्यायपालिकाका बारेमा जथाभाबी शब्द प्रयोग नगर्न विपक्षी दलका सांसदहरूसँग आग्रह गरे । उनले नेपालको संविधानले सर्वोच्च अदालतलाई दिएको अधिकारलाई प्रयोग गरेर गरेको निर्णयलाई व्यंग्यात्मक रूपमा संसद्मा प्रश्न उठाइरहने हो भने कस्तो न्यायपालिकाको कल्पना गरेका हौँ ? भन्दै प्रश्न गरे ।
"हामी हरेकपटक काम चलाउ सरकारको कुरा किन गरिरहेका छौँ ? के कुरा गरिरहेका छौँ हामी ? हाम्रो संविधानले कामचलाउ सरकारको परिकल्पना गरेको छ ? हामी अहिले पनि जिम्मेवार ठाउँमा बसेर भोलि सरकार चलाउनुपर्नेहरूले भनिरहेका छौँ । अहिले एकछिनको न्यानो नहेरौँ । अहिलेको प्रतिपक्षलाई भोलि सरकार चलाउनु पर्छ," उनले भने ।
मन्त्री कोइरालाले नयाँ निर्वाचित संसद्को बैठक नबस्दासम्म प्रतिनिधिसभाको कार्यकाल चालु रहने प्रस्तावबाट सरकार पछि हटेको बताए । उनले यसबारेमा अन्योलता काम रहेकाले अन्योतालाई चिर्न प्रस्ताव ल्याइएको भएपनि तत्कालका लागि भने सरकार पछि हट्ने जानकारी दिए ।
एमाले सांसदहरूले अहिलेको सरकारलाई 'परमादेशी सरकार' बताउँदै आएका छन् ।