काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले जोखिम समेत कायमै रहेको उल्लेख गर्दै सजगकता अपनाउन पनि सचेत गराए । अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै धेरै वस्तुहरूको आयातमा वृद्धि गर्न नमिल्ने गभर्नर अधिकारीको भनाइ थियो ।
“मुलुकको अर्थतन्त्रमा थप सहजता फिल गरिराखेका छौँ । तर, त्यो सहजतामा हामीले त्यत्तिकै सजगकता अपनाउनुपर्ने हुन्छ । हामीले अलिकति सहज भयो भन्दैमा धेरै नै आयात गर्न थाल्यौँ भने हामीलाई त्यही प्रेसर दोहोरिँदैन भन्ने होइन । सहजतासँगसँगै सजगकता पनि हाम्रो लागि आवश्यक विषय छ,” उनले भने, “यसअर्थमा सकारात्मक कुराहरू आइराखेका छन् । पर्यटक गत वर्ष भन्दा पछिल्ला ६ महिनामा दोब्बर आएका छन् । केही वस्तुहरूको निर्यात बढेर गएका छन् ।”
केही वस्तुहरूको निर्यातको राम्रो सम्भावना देखिनु, पर्यटक गत वर्षको भन्दा पछिल्ला ६ महिनामा दोब्बरले वृद्धि हुनु मुलुकको अर्थतन्त्र सुधारको बाटोमा गएको प्रमाणका रूपमा लिनुपर्ने उनले उल्लेख गरे ।
गभर्नर अधिकारीले रेमिट्यान्समा समेत सुधार देखिँदै आएको बताए । उनले अर्थतन्त्रमा देखिएका जोखिम न्यूनीकरणका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने खाँचो समेत औँल्याए ।