बुटवल । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट उमेदवार सिफारिस भएका छन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त क्षेत्रबाट उनको नाम सिफारिस गरिएको हो ।
बिहीबार बसेको कांग्रेस रुपन्देही क्षेत्र नम्बर–२ को बैठकले खाँणसहित चारजनाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उमेदवारका रूपमा सिफारिस गरेको जनाइएको छ ।
प्रत्यक्षतर्फ खाँणसहित युवराज गिरी, कृष्णप्रसाद पोखरेल र चुन्नप्रसाद पौडेलको नाम सिफारिस गरिएको क्षेत्रीय कार्यवाहक सभापति परशुराम ढकालले जानकारी दिए ।
उक्त क्षेत्रबाट समानुपातिकतर्फ नौजनाको सिफारिस गरिएको छ । समानुपातिकतर्फ डा. बुद्धबहादुर थापा, चिरञ्जीवी जोशी, मनोरमा शेरचन, अर्जुन रानाभाट, रीता सेन ओली, राममाया पौडेल अर्याल, नुमा थापा, हुमकला सुवेदी र लक्ष्मी जोशीको नाम सिफारिस गरिएको ढकालले बताए ।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले विजयको ‘ह्याट्रिक’ गरेको यस क्षेत्रमा खाँणको नाम सिफारिसले स्थानीय नेता–कार्यकर्तामा तरंग पैदा गरेको छ ।
यद्यपि, खाँणले प्रतिस्पर्धा गर्दै आएको क्षेत्र रुपन्देही–३ हो । उक्त क्षेत्रबाट उमेदवारको नाम सिफारिस गर्न बैठक बसेको छैन । खाँणनिकट स्रोतले रुपन्देही–३ बाट पनि उनको सिफारिस गरिने जनाएको छ ।