काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको नेतृत्वमा जारी सिजन अपराजित यात्रालाई कायम राखेको छ । पीएसजीले बुधबार राति फ्रेन्च लिग वानमा टुलुजलाई ३–० ले पराजित गरेको हो ।
पाहुना टोली पीएसजीले ३७औं मिनेटमा नेइमारको उत्कृष्ट खेलबाट अग्रता लिएको थियो । ५०औं मिनेटमा एमबाप्पेले पीएसजीको अग्रता दोब्बर बनाए । नेइमार र एमबाप्पे दुबैको गोलमा लियोनल मेसीले अवसर सिर्जना गरिदिएका थिए ।
स्पेनका फुलब्याक हुआन बेर्नाटले इन्जुरी समयमा तेस्रो गोल थपे । यससँगै पीएसजीले पाँच खेलबाट १३ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा छ । समान १३ अंक जोडेका लेन्स र मार्से क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । पराजित टुलुज ५ अंकका साथ १३औं स्थानमा छ ।
पीएसजीले मंगलबार यूईएफए च्याम्पियन्स लिगमा इटालियन सिरी ‘ए’ क्लब युभेन्टसलाई आथित्यता प्रदान गर्नुअघि फ्रेन्च लिग वानमा नान्टेसको भ्रमण गर्नेछ ।