काठमाडौं । यौनिक तथा अल्पसंख्यक समुदायले तिज मनाएका छन् । आज लाजिम्पाटस्थित एक ब्याङ्क्वेटमा विशेष कार्यक्रमको आयोजना गरी उनीहरूले तिज मनाएका हुन् ।
देशका विभिन्न जिल्लाबाट संघीय राजधानी काठमाडौं आएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरू विभिन्न पहिरन र गहनामा सजिएर तिजका रमाइला गीतमा छमछमी नाचे ।
कोरोना महामारीका कारण दुई वर्षपछि नील हिरा समाजले हरितालिका तिज समूहमा उपस्थित भएर मनाएका हुन् ।
समाजमा अझै पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको नील हिरा समाजकी अध्यक्ष पिङ्की गुरुङले बताइन् । हरेक वर्ष यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरू जमघट गरेर तिजको कार्यक्रम गर्दै आएको उनले बताइन् ।
वर्ष भरीको आफ्नो सबै तनाव भुलेर स्वतन्त्रपूर्वक तिज मनाउन पाउँदा प्रत्यक्ष अप्रत्यक्ष संस्कृतिको जगेर्नाका साथै भरपुर मनोरञ्जन हुने समाजकी अध्यक्ष गुरुङ बताउँछिन् ।
समाजले आयोजना गरेको तिज कार्यक्रमका अवसरमा नृत्य प्रतियोगिता गर्दै उत्कृष्ट नृत्य गर्ने सदस्यलाई हौसला स्वरूप उपहार प्रदान गरिएको थियो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरूलाई दर समेत खुवाइएको थियो ।
तस्बिरहरू : हरिशजंग क्षेत्री र अभिषेक महर्जन/बाह्रखरी