काम नलाग्ने भनेर फ्याँकेको फोहोर वस्तुको पनि मूल्य हुन्छ । नेपालीमा त उखानै छ – रछ्यानमा फालेको काठ त काम लाग्छ ।
खेर गएको फोहर वस्तुलाई पुनः प्रयोग वा स्रोतमा परिवर्तन गर्नेतर्फ विकसित देशले आजभन्दा झन्डै तीन दशक अघिबाट कार्य गर्न थाले । सहरीकरणको विस्तार, जनसंख्या वृद्धि, हरेक देशमा कच्चा पदार्थको कमी हुने, तेलको भाउ बढ्दै जाने, जलवायु परिवर्तनका कारण आएको आर्थिक, वातावरणीय प्रभाव, धनी र गरिब देशको बढ्दो दूरीे, कृषिमा परेको प्रभाव आदिले उनीहरु सोच्न बाध्य भए ।
आज बेलायत, जर्मनी, फ्रान्स, अमेरिका, जापान, सिंगापुर र चीन लगायतका देशमा यस कार्यले प्राथमिकता पाएको छ । यी देशले आफ्नो वार्षिक, पञ्चवर्षीय र दीर्घकालीन उद्देश्य राखेर काम सुरु गरेका छन् । जापानतिर त झन् कच्चा पदार्थको कमीले गर्दा फोहोरको पुनःप्रयोगलाई महत्त्व दिएर काम गर्न थालेको देखिन्छ ।
काठमाडौं उपत्यकाका बस्ती, नगरपालिकाहरुबाट फ्याँकिने फोहोर के कस्ता वस्तु हुन् ? यिनलाई कुन ठाउँबाट कसरी संकलन गरिन्छ ? संकलित वस्तुलाई कहाँ कसरी बेचिन्छ ? संकलित फोहोरको मूल्य कसरी तोकिन्छ र कस्ले खरिद गर्छ ? त्यसरी किनेको वस्तु कहाँ र कसरी पठाइन्छ ? उक्त कार्य काठमाडौं उपत्यकाको कुन कुन ठाउँमा मानिसहरुले घरघरबाट संकलन र खरिद हुन्छ ? कति व्यक्तिहरु यस्तो कार्यमा संलग्न छन् ? संकलित वस्तु कहाँ ल्याएर खरिद व्यवसायमा बुझाइन्छ ? यस्ता प्रश्नहरुको उत्तर खोज्ने क्रममा मैले गएको तीन महिनादेखि ठाउँ ठाउँमा फोहोर संकलन गर्ने व्यक्तिहरुसँग सोधपुछ गरेको छु । यस्तै कतिपय साथीहरु र आफू पहिले काम गरेको पुरानो फोहरमैला प्रबन्ध तथा स्रोत परिचालन केन्द्रका फोहोर व्यवस्थापनसँग प्रत्यक्ष सरोकारवाला कामदार साथीहरुको मद्दतले विवरण तयार गरेको छु ।
यो काठमाडौं उपत्यकाभित्रका विभिन्न ठाउँहरु रामकोट, सीतापाइला, बालाजु, गोंगँबु, धापासी, बूढानीलकण्ठ, चुच्चेपाटी, बौद्ध, चाबहिल, थानकोट, कलंकी, चन्द्रागिरी, इमाडोल, चाकुपाट, गोदावरी, सूर्यविनायक, नगरकोट, गोकर्ण, काँडाघारी, महाराजगन्ज, उपत्यकाका विभिन्न नगरपालिका, महानगरपालिकाहरु आदिबाट पुनःप्रयोग हुने वस्तु बारेको अध्ययन हो ।
यी ठाउँहरुमा विभिन्न व्यक्तिहरुले वर्षौदेखि घरघरबाट फोहर वस्तु खरिद गर्ने गरेका छन् । उनीहरु घना बस्ती भएका ठाउँमा फोहर वस्तु खरिद गर्न बढी रुचाउँछन् । नगर क्षेत्रमा ठमेलबाट सबभन्दा बढ पुनः प्रयोग योग्य वस्तु बाहिर आउँछ । त्यहाँ बाहिरको मानिस त्यस्ता वस्तु खरिद गर्न त्यहाँ जान पाउँदैन । त्यहाँ त्यहीका केही नाइकेले तोकेको १५ वा २० जनाबाट घर वा पसलको फोहोर उठाउने र खरिद गर्ने व्यवस्था छ । वस्तु खरिद गर्नेहरुले नाइकेहरुलाई रिझाएका हुन्छन् ।
माथि उल्लेख भएका क्षेत्रमा झन्डै ४० हजारभन्दा बढी वस्तु खरिद छनोटकर्ताले काम गर्छन् । ती ४० हजार कामदारमा नेपाली भने नगन्य छन् । संकलन गरेर ल्याइएको वस्तु तिनले कबाडी थोक पसलेलाई दिन्छन् । यस सम्बन्धमा म विभिन्न ठाउँका सम्बन्धित ५० जनासँग सोधपुछ गर्दा र साथै १६ गोटा कबाडी थोक पसल मालिकसँग कुरा गर्दा निम्न जानकारी पाएँ :
घरघरमा कबाडी वस्तु लिन जाँदा चिनेको घर धनी भए अलि कम पैसामा सामान पाइन्छ । कतिले त घरमा केहीले नराम्रो व्यवहार गर्ने पनि बताए । उनीहरुको मासिक कमाइ बस्नेखाने खर्च कटाएर रु. १५,०००। हुन्छ । तिनका अनुसार कबाडी पसलमा सामान बेच्न जाँदा पसलेले संकलकलाई कम्ती पैसा दिने तर त्यही सामान अरुलाई बेच्दा दोब्बरमा बेच्ने गर्छन् । जस्तै, प्लास्टिकको पानीको बोतल घरबेटीसँग १ रुपियाँमा किन्छन्, कबाडी पसलले त्यसको १।५० दिन्छ र कबाडी पसलेले फ्याक्ट्रीलाई २।५० वा ३ रुपियाँमा बेच्छन् । फलाम घरबाट ४० रुपियाँ वा ४५ रुपियाँ किलोमा खरिद गर्छन् । कबाडी पसललाई ५०। मा बेचिन्छ । कबाडी पसलेले – ७०। रुपियाँमा फलाम कारखानालाई बेच्छ । नरम प्लास्टिक ३० रुपियाँ किलोमा घरबाट खरिद गरी ४०। मा कबाडी पसलमा बेचिन्छ । कबाडी पसलेले सिमरा नेपालमा रहेको प्लास्टिक फ्यायाक्ट्रीमा ५५ रुपियाँमा बेच्छ । कडा प्लास्टिक सिधै देश भारत जान्छ ।
कागज २० रुपियाँ किलोमा घरबाट खरिद हुन्छ । २५ रुपियाँमा किनेर कबाडी पसलेले ३५ रुपियाँ किलोमा प्mयाक्ट्रिमा बेच्छ । सिसी, काँचका टुक्रा सबै भारतमा जान्छ । यस्मा कबाडी पसलेलाई राम्रो फाइदा हुन्छ भन्ने कबाडी रामकुमार रायले भने ।
फोहोर वस्तुबाट के कस्तो उत्पादन हुन्छ ?
–होटल रेस्टुराँबाट निस्केको फोहरबाट पशु पंछीका लागि खाना तयार गर्न सकिन्छ ।
–प्लास्टिकबाट टाँस्ने गम र प्लास्टिकका विभिन्न समान उत्पादन गर्न सक्छौँ ।
–झुत्रा कपडा, खस्रो कपडाबाट ओड्ने, रंग, बस्ने कुसन, तकिया, ओछ्यान बनाउने, कपडाको धुलो ।
–कागजबाट कागजको कार्डबोर्ड, कापी, भित्तामा राख्ने वालपेपर, बोरेक्स मिसाएर थर्मल इन्सुलेटर, जनावरहरुको ओछ्यान र खोटो, प्लास्टर अफ पेरिस तयार गरिन्छ ।
–काँचबाट रंगीन टायल, काँचकै ससाना सामान, काँचका गहना, काँचका कलात्मक वस्तु, ससाना सीसी पनि बनाइन्छ ।
–फलामको गुणस्तर हेरेर फलाम कारखानाहरुले घर निर्माण गर्ने विभिन्न खालका छड तयार गर्छन् । फलामका भाँडा, भान्छाका सामान, साना औजार बनाइन्छ भने छाला र हाडबाट साबुन, भुइँ सफा गर्ने झोल साबुन, राम्रा राम्रा हस्तकलाका वस्तु पनि निर्माण गर्न सकिन्छ ।
–रबरलाई १५०० सेन्ट्रिग्रेडसम्म पगालेर साइकलको हैन्डल र खुट्टा राख्ने ठाउँको सामान मोल्डको सहायताबाट बनाउन सकिन्छ । ससाना प्रांग्रा, डस्टबिन्स, रबर म्याट आदि तयार गर्न सकिन्छ ।
काठमाडौं उपत्यकाभित्र नै १ हजार २०० टनभन्दा बढी फोहर उत्पादन हुन्छ भन्ने पत्रपत्रिकामा समेत प्रकाशित भएको छ । उत्पादित फोहरको ७०.८७ प्रतिशत जैविक फोहोर र झन्डै २५ प्रतिशत फोहरमा प्लास्टिक, कागज, रबर, कपडा, धातु, सिसा र छाला हुन्छन् । कामै नलाग्ने फोहोरको मात्रा ४. ४४ प्रतिशत हुन्छ भन्ने मानिएको देखिन्छ । यस्ता फोहोर काठमाडौं उपत्यकाको मात्र हो भन्ने उल्लेख भएकाले अझ फोहरको मात्रा बढ्न सक्छ ।
माथिको आँकडा हेर्ने हो भने झन्डै दैनिक ३०० टन फोहर वस्तु सार्वजनिक रुपमा देखा पर्छ र एक वर्षमा १ लाख ८हजार टन फोहर वस्तु हुन्छ । यसकारण प्रतिदिन १०,करोड किलोग्राम र न्यूनतम मूल्य रु. १०।– राख्दा १ अर्ब ८ आठ करोड रुपियाँ बराबर मूल्यको फोहोर उत्पादन हुने देखिन्छ ।
हाम्रो देशमा यस्तो वस्तु प्रशस्त छ । यसलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । रोजगारमूलक कार्यमा प्रयोग गर्न सकिन्छ भने यसलाई राख्न, सफा गर्न कुनै ठूलो औजार चाहिँदैन । ठूलो रकम जरुरत पर्दैन । सजिलै बेच्न र सोबाट रकम तुरुन्त पाउन सकिन्छ । आफैँले प्रयोग गरेको वस्तुबाट प्राप्त हुने र पछि आवश्यकता अनुसार स्रोतमा परिचालन गर्न सकिने हुन्छ ।
यस कार्यले प्रत्यक्ष गरिबी निवारणमा सहयोग पुर्याउँछ । यस्मा प्रत्यक्षरुपमा संलग्न हुनेहरुको सहभागिता गराउँछ र सम्बन्धित क्षेत्रको भौतिक वातावरण संरक्षणमा सहयोग पुर्याउँछ । यस्ता कार्य गर्न गराउन सम्बन्धित स्थानीय निकाय, सरोकारवाला इकाइ र संघबाट सहयोग हुनु जरुरी हुन्छ ।
संकलित फोहोरबाट पुनःप्रयोग हुने वस्तु छनोट कार्य निम्नप्रकारले गर्न सकिने देखिन्छ । सिसडोल–बन्चरेडाँडामा फोहोर छनौट गर्ने । कीर्तिपुर, मध्यपुर, भक्तपुर नगरमा ल्यान्डफिल साइडमा सबैजसो नेपालीबाट काम भएको छ । काठमाडौं नगरको विभिन्न ठाउँमा निजी क्षेत्रबाट संकलन गरिएका फोहरबाट पुनःप्रयोग हुने वस्तु छान्ने काम पनि अधिकांश नेपालीबाटै भएको छ । घर, पसल, कार्यालय, अन्य व्यवसायमा गएर पुनःप्रयोग हुने वस्तु संकलनमा भने अधिकांश भारतीयहरु संलग्न देखिन्छन् । यस कार्यमा झन्डै ४० हजार जना स्रलग्न छन् । कबाडी पसल खोलेर बस्नेहरुमा भारतीय ७ हजार छन् भने गएको २०–२५ वर्षमा नेपालीले पनि १ हजारवटा जति पसल थापेका छन् ।
केही नेपाली कबाडी पसलेहरुसँग कुरा गर्दा थाहा भयो यस्तो कार्यमा कसैले चासो राखेर सोधपुछ गर्दैनन् । कसैले सहयोग गर्दैनन् बैंकसँग सहयोग माग्दा हाँस्छन् । भारतबाट आएकाहरुले आधारकार्डको भरमा उतैबाट सहयोग पाउँछन् । यस्तो कार्यमा हाम्रो सरकारले सहयोग गर्नुपर्ने देखिन्छ । झन्डै ४० हजार जनाले प्रत्यक्ष रोजगारी पाउने रहेछन् भने ससाना कुटिर उद्योग खोलेर अरु मानिसले रोजगार पाउनेछन् ।
सरोकारवालालाई मेरो सुझाव
–फ्याँकिएको फोहरको पुनः प्रयोग हुने वस्तु हाम्रो लागि धन हो । यसको सही र राम्रो सदुपयोग गर्न सक्ने वातावरण बनाइदिनु पर्यो ।
–यसबाट नेपालीहरुले नै लाभ लिने अवसर प्रदान गरिदिनुपर्यो ।
–गरिबी निवारण कार्यमा ठूलो सहयोग पुग्ने हुँदा बैंकहरुबाट सहुलियत ऋण उपलब्ध गराइदिनुपर्यो ।
–यस्तो वस्तु देशभर हुने हुँदा राष्ट्रिय नीति तर्जुमा गरी यस क्षेत्रलाई प्राथमिकता दिनु पर्यो ।
– नीतिकार, निर्णयकर्ताहरुले यस्तो वस्तुलाई राष्ट्रको कच्चा पदार्थको रुप काममा लगाउन सक्नु पर्यो । फलस्वरुप, विदेशी मुद्रामा बचत र विभिन्न सम्बन्धित कारखानाहरुले कच्चा पदार्थ स्वदेशमै पाउनेछन् ।
नगरको फोहरलाई राम्रोसँग व्यवस्थापन गरी पुनःप्रयोग हुने वस्तुको सही सदुपयोग गरेमा जनस्वास्थ्य तथा वातावरण राम्रो हुन्छ । यसबाट अधिकतम फाइदा लिन सक्नुपर्छ ।
(इन्जिनियर)