काठमाडौं । ‘संगीतले लिंग छुट्याउँदैन, जसले बजाए पनि उत्तिकै मिठो हुन्छ’ शुक्रबार साँझ प्रज्ञा प्रतिष्ठानको मञ्चमा पूर्वमिस नेपाल सुगारिका केसीले यसो भनेसँगै छोरीहरूको बाहुल्यता रहेको दर्शकदीर्घाबाट तालीको गडगडाहट आयो । शुक्रबार प्रज्ञाको प्रेक्षालय छोरीमय रह्यो । केही छोराहरूको उपस्थिति रहे पनि त्यो साँझ विशेषगरी देशका छोरीहरूका लागि समर्पित थियो ।
नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा विभिन्न पेसा अनि उमेर समूहका छोरीहरूको उपस्थिति थियो । छोरीहरूको सांगीतिक समूहको मालश्री धुनबाट सुरु भएको साँझ थुप्रै छोरी अनि केही छोराहरुको प्रस्तुतिसँगै अन्त्यमा गायिका अञ्जु पन्तको ‘आमा’ गीतबाट सम्पन्न भयो ।
जब १२ छोरीहरूले मञ्चमा आएर ‘नौमती’ बाजा घन्काउन थाले, दर्शकदीर्घाका छोरीहरू कोही सिटबाटै त कोही जुरुक्क उठेर छमछमी नाँच्न थाले, केहीले ताली पिट्न थाले । उपस्थित छोरीहरूको अनुहार हाँसिरहेका थिए ।
साँझको सांगीतिक प्रस्तुतीको अन्त्य ३४ जना छोरीहरूको मिठो बासुरीको धुनबाट भयो । यी प्रस्तुतिले प्रेक्षालयको माहोलमा पैदा गरेको रोमाञ्चकताले प्रस्तोता केसीले सुरुमा भनेको भनाइले सार्थक पाएको थियो ।
सांगीतिक माहोलसँगै साँझ साहित्यिक बन्यो । ‘सिस्नोपानी नेपाल’को आयोजना उक्त ‘छोरी’ कार्यक्रममा सिस्नोपानी कै अध्यक्ष लक्ष्मण गाम्नागे महिला र समाजमाथि व्यंग्यात्मक कविता वाचन गरे । उनले महिलालाई होच्याएर सभ्य कविता भनेको भन्दै गर्व गर्ने पुरुष कविलाई एक महिला कविको दृष्टिकोणबाट व्यंग्य गरे । उनका व्यंग्यात्मक कविताले दर्शकदीर्घाबाट बारम्बार तालीको गडगडाहट पाए ।
उनले लोग्नेको अत्याचार सहन नसकेर आफ्ना सन्तानलाई आफ्नै शरीरमा बाँधेर कर्णालीमा हामफालेर आत्महत्या गरेकी आमा, छोरी, श्रीमती, बुहारीको व्यथा सुनाएर समग्र छोरीहरूको विवशतालाई इङगित गरे ।
छोरीलाई सशक्तिकरण गर्ने उद्देश्यले आयोजना गरेको ‘छोरी’ कार्यक्रममा चिरपरिचित अनुहार आनी छोइङ डोल्मा, मुस्कान खातुन, करिष्मा मानन्धरलगायत डीआईजी मिरा चौधरीलगायत नेपाली राजनीति, वाङ्मय, सुरक्षा अधिकारीहरु, महिला अधिकारकर्मीहरूको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा समाजमा छोरीहरूको महत्व, छोरीहरूको पीडा, अवस्थालाई सम्बोधन गर्ने कविताहरू वाचन गरिएको थियो ।
नेपाली कलाकारिता विशेषगरी हाँस्यव्यंग क्षेत्रका अग्रज कलाकार मदन कृष्ण श्रेष्ठ मञ्चमा आउने बित्तिकै प्रेक्षालयमा हाँसोको माहोल जम्न थाल्यो । समाजको सत्य अनि यथार्थलाई व्यंग्यात्मक रुपमा घोचचेप गर्दा पनि सम्बन्धित व्यक्ति आफैमाथि गरेको घोचपेचमा हाँस्नु नै कलाकार श्रेष्ठको विशेष खुवी हो ।
राष्ट्रपतिदेखि न्यायालय, जमिनमा गुडाउनेदेखि आकाशमा उडाउनेसम्म हरेक क्षेत्रमा छोरीहरूको सफल पहुँचलाई उनले गीतको लयमा सुनाएका थिए । पितृसत्तात्मक समाजमा, यही सोचमाथि टेकेर छोराले छोरीमाथि गर्ने दुव्र्यवहार, हेपाई अनि अत्याचारलाई व्यंग्य गर्दै आफ्नो प्रस्तुति सुरु गर्नुअघि उनले प्राविधकलाई भने, “सबैभन्दा पहिले साउण्ड इन्जिनियर भाइलाई एउटा रिक्वेस्ट गर्छु है । एउटा त्यो पित्तृसत्तामक ज्याक जोडिदिनुस् है, मैले भनेको कुराहरू दिदीबहिनी छोरीबेटीले नसुनोस् खाली हामी छोरा मान्छेले सुनोस्” उनले यसो भनेसँगै हाँसोले पे्रक्षालय गुन्जियो ।
छोरी मान्छेले आधा अकाशमात्रै ढाकेको भन्ने कुरा गफ भएको भन्दै छोरीहरूले पूरै आकाश ढाक्न लागेको आफूले देखेको बताए । उनले सडकपेटीमा अस्तव्यस्त फालिएका फोहोरको डुंगुरलाई गठबन्धन दलसँग तुलना गरी व्यंग्यगर्दा उपस्थित अधिकांशले ताली बजाएका थिए ।
उनको प्रस्तुतीमा दिल खोलेर हाँसेका उपस्थित छोरीहरू कवि मोमिला जोशीको आफ्नै श्रीमानबाट बेचिएकी ‘नरबधु’को व्यथाले दुखित भए । कवि कुन्ता शर्माको चर्चित कविता ‘पोथी बास्नु हुँदैन’मा उनीसँगै लयमा लय मिलाइरहेका थिए छोरीहरूले ।
‘...उन्मुक्त हाँसो हाँस्नु हुँदैन, पोथी बास्नु हुँदैन ।’ उनको कवितामा दोहोरिरहने यी अन्तिम हरफलाई उपस्थित छोरीहरू खुलेरै उनीसँगै पछ्याइरहेका थिए ।
कहिले डोनाल्ड ट्रम्प, कहिले नरेन्द्र मोदी त कहिले प्रचण्ड गरी थुप्रै पात्रमा आफूलाई हुबहु उतारेर व्यंग्य गरिसकेका कलाकार मनोज गजुरेल ‘छोरी’मा आफ्नै आमा बनेर आए । उनले आफ्नी आमाको पात्रबाट समग्र एकल महिलाको अवस्थालाई प्रस्तुत गरेका थिए ।
दर्शकले ‘सिस्नोपानी’कै उपाध्यक्ष कवी अर्जुन पराजुलीको कवितामा भने केही आपत्ती जनाए । छोरा नजिन्मए स्वर्ग पुगिँदैन भन्ने पित्तृसत्ताम्क सोचमा छोरीलाई गर्वमै तुहाउने गरिन्छ । उनले यो तीतो उथार्थलाई आफ्नो कविताको विषय बनाउनु तारिफ योग्य कुरा हो । तर, संसारमा जन्म लिन पेटमा भएकी एक छोरीले आफ्नी आमासँग गरिरहेको लाचार अपिललाई दर्शकदीर्घाका कति छोरीले चित्त बुझाएनन् ।
‘बलात्कार भए पनि, कसैले तेजाब फ्याँके पनि कसैले कू–दृष्टिले हेरे पनि त्यसको जिम्मा म आफैँ लिन्छु तर मलाई जन्मिन देऊ आमा’ उनका कविताका यी र यस्ता अन्य हरफ उनले मञ्चबाट वाचन गरिरहँदा दर्शकदीर्घाबाट विरोधमा केही आवाज गुन्जिन थालेको थियो ।