अनुसन्धानकर्ताहरू मानव सभ्यताभन्दा अघि नै कलाको जन्म भएको ठान्छन् । पाषाण युगमा मानिसहरूको विकास र विस्तारका क्रममा बिस्तारै कलाको आरम्भ हुन थाल्यो । ईपू २५ हजारतिर स्पेनको अल्टामिरा गुफा चित्रलाई यसको उदाहरणका रूपमा लिइन्छ । समयसँगै प्राणीमा चेतनाको विकास हुन पुग्यो । आत्मरक्षाका गुफालाई आश्रयको रूपमा प्रयोग गर्न थाले । त्यति सबैभन्दा धेरै जंगली जनावरबाट खतरा भएपछि साना जनावरलाई मारेर खान थालियो र ठूला जनावरको आक्रमणबाट बच्ने उपाय खोज्नु थालियो ।
मानिसमा चित्र कोर्ने चेतना आयो र उनीहरूले चित्र कोर्न थाले । चित्रका विषयमा आफूलाई आक्रमण गर्नेदेखि आफ्नो भोजन हुने जनावरहरू हुन्थे। पछि प्राकृतिक प्रकोपबाट पनि असुरक्षित भएपछि प्राकृतिक वस्तुहरूको चित्र कोर्न थालियो । यस्तै गुफामा हुँदा गुफाका भित्ता र छतमा आकृतिहरू कोरिए । गुफाबाट बाहिर निस्केर, रुख, टाँड र मचाङमा बसे मानिसहरू । अझै ठाँउ नपुगेपछि नदी किनार, समुद्र हुँदै महासागरको किनारमा बस्ती बसाले ।
यसरी सुरुमा आफूले जित्न नसकेका जनावर र प्रकृतिमाथि विजय हासिल गर्ने आकांक्षामा चित्र कोरिए । आफू विजयी भएको अवस्थामा उत्साहित हुँदै कलालाई जादू र कलाकारलाई जादूगरको रूपमा चित्रण गरियो । समयसँगै कलाको विकास आवश्यकता, इच्छा, सोख, विलासको रूपमा भयो ।
अफ्रिका, युरोप, एसिया र दक्षिण अमेरिकालगायत सबै प्राचीन र मध्यकालीन सभ्यतामा कलाका विविध स्वरूप जन्मिएका छन । सभ्यतासँगै संस्कृतिको पनि विकास भएको छ । विकासका क्रममा बिस्तारै माटाका भाँडाकुडाँ बनाउन र मूर्ति कुँद्न थालियो । कलात्मक सौन्दर्यका साथै तिनमा सामाजिक संस्कार तथा आध्यात्मिक विश्वास प्रकट भएका छन् । यद्यपि प्राचीन कलालाई पास्चात्य कलाविदहरू कलाप्रतिको आधुनिक दृष्टिकोण तथा परिभाषाअनुसार कलाको कोटीमा राख्न सहमत छैनन् ।
पाषण युगमा मूर्तिहरू पनि बनेका थिए । तर, ती साना ४ सेमीदेखि २५ सेमीसम्म अग्ला र नारी आकृतिको बाहुल्य थियो । मूर्तिहरू कमलो ढुङगादेखि हाड, हस्तीहाड, काठ , माटा आदिबाट बनाइएका थिए । बीसौँ शताब्दीका पुरातत्व विदहरूले, प्राचीन रोमनहरूका सौन्दर्यकी देवी भिनससँग जोडेर भिनस नाम दिएका थिए - विलेनडोर्फ भिनस, लस्सेल भिनस आदि । यस्तै गुफा चित्रमा साँडेहरूको कक्ष, द्वन्द्वरत जनावर आदि प्रख्यात छन् । पाषण युगलाई पनि पूर्वपाषण युग, उत्तरपाषण युग, नवपाषण युग भनेर विभाजन गरिएको छ । त्यसपछि सभ्यताको इतिहासको थालनी भयो । यस्तै गरेर कला विकासका क्रममा वैजाइनटाइन कला, रोमन कला, हेलेनिक कला तथा हेलेनिस्टिक कला भनेर नामाकरण भयो । युरोपियन कलासँगै एसियन कलाको पनि चित्रण गरिनुपर्छ । भारतलगायत नेपाली प्राचीन कलाको इतिहासको अत्यन्तै कम अनुसन्धान भएको देखिन्छ ।
भारतवर्षमा आदिकालदेखि नै चित्रकला व्यवहारमा थियो । भारतमा कलाको उत्पतिबारे अध्ययन गर्दा प्रमाणितरूपमा सिन्धुघाँटी सभ्यतालाई लिने गरिन्छ । सिन्धुघाँटी सभ्यताको अध्ययनमा वास्तुकला वा स्थापत्यकला, मूर्तिहरू, सिल, टेराकोटा र भाँडामा कुँदिएका चित्रकला महत्त्वपूर्ण देखिन्छ । यहाँका मूर्तिहरूमा दाह्री भएको मानिसको टाउको वा पुजारीको अनुहार, पुरुषको अर्ध कदको शरीर, स्त्रीको धड, नर्तकीको मूर्ति, पुरुष नर्तकको रहेको पाइएको छ । भारतमा सिल, तेराकोटा, भाडामा कुँदिएका चित्रकला नामाकरण गरेको भन्दा पनि विषयवस्तुहरूमात्र पाइएका छन् ।
नेपालको कलाकृतिको स्वरूप
नेपाली कला र संस्कृतिको आफ्नै इतिहास छ । के नेपाली कला पनि विश्वप्रसिद्ध छ त ? युरोपियन कला र कलाकारको चर्चा निकै हुन्छ । विश्वप्रशिद्व कलाकारहरू भ्यानगोग, लियोनारदो दा भिन्ची, माइकल एन्जेलोजस्ता थुप्रै कलाकारको नाम आउँछ ।
नेपालमा सर्वप्रथम कहिले, कहाँ र कस्तो कलाबाट इतिहास सुरु भयो होला ? सन् ४६४ मा मानदेवको चाँगुनारायणको अभिलेख नै नेपालको सबैभन्दा पुरानो अभिलेख मानिएको छ । यसभन्दा अघि किराँतकाल र लिच्छिवीकालमा पनि चित्रहरू बनेका अनुमान गरिएको छ । चित्रहरूको सतह कमजोर भएका कारण त्यस समयका चित्रहरू उपलब्ध हुन सकेका छैनन् । लिच्छवीकालीन मूर्तिहरू भने देखिएका छन् ।
चित्रलाई लामो समयसम्म टिकाइराख्ने साधन नहुँदा पनि चित्रका प्रमाणहरू हराउँदै गएका हुन् । पछिल्लो समयमा पाइएका ताडपत्रमा लेखिएका नेपालका प्राचीन ग्रन्थचित्रहरू लगभग ९०० वर्ष पुराना छन् । त्यसकारण ग्रन्थचित्रलाई नै प्राचीन नेपाली चित्रको रूपमा मानिएको छ ।
नेपाली चित्रकलालाई ३ भागमा विभाजन गरिएको पाइन्छ - ताडपत्रमा लेखिएको ग्रन्थचित्र, पौभाचित्र, पटचित्र र भित्ते चित्र ।
नेपालमा ग्रन्थचित्र लेख्न कहिलेबाट सुरु भयो भन्ने निश्चित छैन । पाँचौ शताब्दीका लिच्छवी राजा नरेन्द्रदेवले मृत्युशैय्यामा पुगेको समय प्रज्ञापारमिता नामक ग्रन्थ आफ्नो सन्तानको हातमा दिएको एउटा पुस्तकमा उल्लेख छ । प्राचीनकालमा कागजको आविष्कार नभएका बेला ताडपत्र अथवा भोजपत्रमा लेख्ने चलन थियो । यस्तै गरेर पौभाचित्र पनि नेपालको प्राचीनचित्रभित्र पर्दछ । यो विशुद्ध नेपाली संस्कृति हो । तल र माथि काठ हाली झुन्ड्याउन मिल्ने अथवा काठमा बेरेर सानो पार्न मिल्ने कपडामा कोरिएको चित्रलाई पौभााचित्र भनिन्छ ।
तिब्बती भाषामा यसलाई थांका भन्ने पनि गरिन्छ । पौभा चित्र नेपालमा चौथो शताब्दीबाट चलेको केही इतिहासविद्को मान्यता भेटिन्छ । आठौं शताब्दीतिर यसको पौभा नामाकरण गरिएको अनुमान छ । तेह्रौं शताब्दीदेखि धेरै लेख्ने चलन भएको यो पौभाचित्र आजसम्म पनि लोकप्रिय छ । अर्को प्राचीन नेपाली चित्रमा पटचित्र रहेको छ । यो पौभा जस्तै जस्तै हुन्छ तर एउटै भने होइन । यो पौभाभन्दा अलि ठूलो हुन्छ र विषयवस्तुलाई केही फरक ढंगबाट प्रस्तुत गरिएको हुन्छ ।
नेपालमा सत्रौं शताब्दीको अन्तिम वा अठारौं शताब्दीदेखि पटचित्र कोर्न थालिएको अनुमान छ । पटचित्रमा भारतीय प्रभाव परेको छ । भारत र नेपाल जोडिएको देश हुनुले प्रभाव पर्नु स्वाभाविक नै हो । नेपाली प्राचीनकलामा भित्तेचित्रको नाम छुटाउनु हुँदैन । लिच्छवीकालीन कैलाशकुट भवनमा भित्तेचित्र लेखिएको थियो, भन्ने नरेन्द्रदेवको समयमा नेपाल आएका चिनियाँ दूत वाङको वर्णनबाट स्पष्ट भएको छ । प्रमाणको रूपमा रहेका वसन्तपुरको कुमारी घर, भक्तपुर दरबारको कुमारी चोक, बाघभैरवको मन्दिर, कीर्तिपुर, शान्तिपुर, स्वयम्भु आदि मानिन्छन् । यी सबै कलाकृति १८ औँ शताब्दीका हुन् । प्राचीन चित्रकलासँगै नेपाली धातु मूर्तिमा विष्णु मूर्ति, बुद्ध मूर्ति, बज्रपाणि, नामसंगिनी, इन्द्र आदि पर्छन् ।
काष्ठकलामा झ्याल यसमा पनि आँखी झ्याल त छुटाउनु नै हुँदैन । एक्काइसौं शताब्दीमा पनि यसको प्रमाण तथा उदाहरण हामी देख्न सक्छौँ । यिनीहरूको पनि विभिन्न नामाकरण गरिएको छ । देशयामरु झ्या, सूर्य झ्याल, मयुर झ्याल, पच्पन्न झ्याफे, सं झ्या, गं झ्या आदि । नेपाली कलात्मक विषय वस्तुहरूमा टुँडाल, तोरण पनि विषेश उल्लेखनीय छन् ।
नेपाली कलाकारमा अरनिकोदेखि राणाकालीन कलाकारहरू भाजुमान चित्रकार, बखतमान चित्रकार, पूर्णमान चित्रकार, समरसमसेर हुँदै, समसायिक चित्रकार चन्द्रमानसिंह मास्के, तेजबहादुर चित्रकार, बालकृष्ण सम, आनन्दमुनि शाक्य, जीवरत्न शाक्य, केशव दुवाडी, अमर चित्रकार, कालिदास श्रेष्ठ, गोविन्दनारायण ज्यापु, लैनसिंह वाङदेलहरूको नाम अग्रपंक्तिमा आउँछ । नेपाली कलालाई शैक्षिकरूपमा अगाडि बढाउन जुद्ध पाठशाला हुँदै, ललितकला क्याम्पस खोलियो । जुन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एकमात्र कलेज हो । हाल यहाँ पीएचडी तहसम्म पढाइन्छ ।
यस्तै गरेर नेपाली कलाको विकासका लागि अहिलेको अवस्थामा ललितकला प्रज्ञा प्रतिष्ठानले कलाको विकास र प्रर्वधनका लागि काम गरेको देखिएको छ । सरकारी तहबाट भन्दा पनि निजी तहबाट कला क्षेत्र विस्तार गर्ने कार्यहरू राम्रोसँग भएको पाइन्छ । काठमाडौंमा सीमित कलासम्बन्धी पढाइ देशका विभिन्न ठाँउमा विस्तार हुने क्रम जारी छ । कलाकारहरू भने कलाको विस्तारसँगै कलाकै बारेमा चिन्तित पनि छन् । पछिल्लो समयमा कला क्षेत्रमा रुचि राख्ने नयाँ पुस्ता पनि थपिँदै गएको देखिन्छ । तर अझै पनि हाम्रो समाज र सरकार एवं स्वयं कलाकारहरूले समेत नेपाली कलाको बारेमा गम्भीर चिन्तन गरेको देखिँदैन ।
(ललितकलामा स्नात्तकोत्तर )