site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तपोवन : आफैँले उत्तर खोज्ने ठाउँ  
Sarbottam CementSarbottam Cement

नजिकै भएर पनि टाढै छ जस्तो । एकान्तमा भएर पनि भिडै छ जस्तो ।

बेलाबखत ओशो तपोवन आईजाई गरिरहे पनि बासै बस्ने अहोभाग्य मिलेको थिएन । घरनजिकैको चियापसलमा चिया पिउँदै गफिने र घरैनजिक अन्यत्र रातै बास बस्ने कुरा मनले मान्दो रहेनछ । त्यसैले यसअघि ओशो तपोवनमा बसिएन ।

श्रीमान्जीले एक हप्ताका लागि तपोवन जाने कार्यक्रम बन्दै छ भनेर सुनाउँदा पनि मन उचालिएन । अन्त कतै घुम्न जाने कुरा सुन्दा चञ्चल बन्ने मन यसपालि चञ्चलिएन । सायद मनले पत्याएन होला ! मनले कल्पना बुन्नै सकेन ।

Prabhu Bank
Agni Group
NIC Asia

जब नेता सीके राउत र विद्युतीय क्षेत्रमा चर्चित कुलमान घिसिङ ओशो तपोवन गएको फोटो सामाजिक सञ्जालमा ‘भाइरल’ भयो, तब मनले ‘हँ...!’ भन्न थाल्यो । कस्तो चुम्बक छ होला तपोवनमा ? मनमा कौतूहल जाग्न थाल्यो ।

क्रमशः त्यहाँका क्रियाकलाप र सामाजिक सञ्जालमा आएका प्रतिक्रियाले तपोवनमा आफ्नो बसाइलाई लिएर मन क्रियाशील हुन थाल्यो । आफैँ जाने भएपछि सतही बहसमा उत्रन कुनै जाँगर चलेन । बरु, उठेका प्रश्न र प्रतिक्रियाको मनन गर्ने सोच बढ्दै गयो ।

Global Ime bank

ओशोले ‘फ्री सेक्स’को वकालत गर्छन्, त्यसैले मानिस ओशोका अनुयायी बन्छन् ? धनीहरू मोजमस्ती गर्न जाने ठाउँ हो तपोवन ? त्यहाँ गएर मानिस किन रुन्छन् क्वाँक्वाँती ? किन हाँस्छन् पेट मिचीमिची ? आफैँ भोगेर थाहा पाउने चाह बढ्न थाल्यो ।

के–के सोच्दा हुन् त्यहाँ गएका मानिसले ? अनुसन्धानै पो गराैँ कि ! मनले के–के सोच्यो सोच्यो । आफू जान समय रिजर्भ गर्नु र समाजले ‘असामान्य’ मानेका मानिस त्यहाँ पुग्नु, सामाजिक सञ्जाल नकारात्मक टिप्पणीले भरिनु एउटा संयोग पनि बन्यो ।

मनभरि अथाह कौतूहल बोकेर २०७९ श्रावण १७ गते अपराह्न ५ बजे हामी तपोवन पुग्यौँ । एन्टिजेन कोरोना जाँच गर्न ढोकैमा लामबद्ध भयौँ । रिपोर्ट नेगेटिभ आएपछि बल्ल त्यहाँ बस्ने कुरा पक्का भयो ।

के धनी के गरिब, के स्वदेशी के विदेशी सबैले एउटै रङका गाउन लगाउनुपर्ने नियमबमोजिम हामी प्रत्येकले कलेजी र सेतो रङको एकएकवटा गाउन किन्यौँ । वर्षामासको मध्य मौसम, कान नै अवरुद्ध होलाजस्तो गरी कराएका झ्याउँकिरीको संगीतमय आवाज, कल्कलाउँदा हरिया बुट्यानहरू, कतैकतै ठूला रुखहरूका शीतलता, बाटाका दायाँबायाँ बुद्ध, ऋषि र अनेकन् योगीका मूर्ति लामबद्ध छन् ।

देवीदेवताकै नामाकरण गरिएको स–साना कम्युनहरू छन् । हाम्रो बसाइको लागि कृष्णा कम्युनको यशोधरा कोठा परेछ । स–साना दुईवटा खाट, आडैमा दराज, भित्तामा टेलिभिजन अड्याइएको, सामुन्ने कुर्सी–टेबल, खाना पकाउने चुलो, तातो–चिसो पानी राख्ने जग र तातो–चिसो पानी भएको ट्वाइलेट–बाथरुम सबै एउटै कोठाभित्र चटक्क अटेका छन् ।

सबै बन्दोबस्तीका सामानहरू मिलेर आ–आफ्नो स्थानमा अनुशासित भएर बसेका छन्, थपक्क ! यहाँ देख्दा मानिसभित्र बढ्दै गएको धन जोड्ने मोह र अग्लो घर बनाएर सम्पन्न देखिने होड कति कमजोर रहेछ भन्ने लाग्यो ।

मन दौडियो रुसी साहित्यकार लियो टोल्सटायले लेखेको ‘एउटा मान्छेलाई कति जमिन चाहिन्छ’ भन्ने निबन्धतिर । निबन्धको मूल आशय नै शीर्षकको वरिपरि घुमेको थियो । घाम उदाएदेखि अस्ताउँदासम्म टेकेको जमिन आफ्नो हुने लालसाले मानिस दौडन्छ । अब अलिकति थप्न पाए हुने भन्दाभन्दै दिनभरि कुदेर आर्जेको जमिन टुंगोमा पुग्दा रगतै छादेर मरेको पात्रलाई गाड्न जम्मा ६ फिट जमिन चाहिएको प्रसंग सम्झन्छु । बस्नलाई त यत्ति एउटा कोठा भए पुग्ने रहेछ त, आलिसान महल किन चाहियो ? यस्तै सोच्यो मनले ।

“अलिकति मात्रै ढिला हुनुभयो, खाना खाएर मात्रै कक्षामा पस्न पाउनुहुनेछ अब,” हामीलाई यस कुराको रिसेप्सनमा नै जानकारी गराइएको थियो । अरू साथीहरू हामीभन्दा अगाडि नै आएर कक्षाकोठामा हाजिरी जनाइसक्नुभएको थियो ।

बुढेसकाल लागेपछि पढ्न आएको पहिलो क्लासमा नै गयल भयौँ । अब साँझको खाना खाएर नै कक्षाकोठामा जाने भन्दै कक्षाकोठा हेर्दै भान्सातर्फ ओरालो लाग्यौँ । चटक्क मिलेका ढुंगाका सिँढी, दायाँबायाँ मनग्यै हरियाली, जता हेर्यो उतै आध्यात्मिक संसार, जताततै जीवनको परम सत्यलाई बोध गराउने वाक्यांशहरूले मन सलल बगेको छ ।

चिटिक्क र सफा डाइनिङ टेबल, डाइनिङका वरिपरि शिष्टाचारपूर्वक अनुशासित भई बसेका ओशोका चेलाहरू छन् । टेबलभरि खानाका विभिन्न परिकार छन् । थोरथोरै राख्दा पनि प्लेट भरियो । पहिलो छाक प्रेमपूर्वक यौगिक खाना खाइयो ।

आफैंले प्रयोग गरेको भाँडा आफैँ माझ्नुपर्ने राम्रो व्यवस्थापन रहेछ । मज्जा आयो ।

कक्षा पस्ने समय हुन लाग्यो । हतपत वस्त्र लगाउन थाल्यौँ । सेतो लुगा पतञ्जलि योगमा पनि लगाउथ्यौँ । त्यसमा रातो किनार र रातो सल हुन्थ्यो । रङको मिश्रणले खुब सुन्दर देखिन्थ्यो । तर, यहाँ निक्खर सेतो कपडालाई मनले सहजै स्वीकार गरेन । अर्कै सल ओढेँ ।

हामी दुवैजना उस्तै पोसाक र एउटै रङमा थियाैँ । कक्षाकोठामा पुग्दा पूरै सेताम्मे मानिस बत्तीको उज्यालोमा उज्याल्लिएका छन् । मन सरर दौडिएर हरिद्वारको पतञ्जलि योग आश्रममा पुग्यो । हजारौँ सेता मानिस एउटै हलमा, झन् बिहान–बेलुका ध्यान शिविरतर्फ जाँदै गर्दाको दृश्य साँच्चै मनमोहक हुन्थ्यो । माथि कोठाबाट हेर्नुको आनन्द बेग्लै हुन्थ्यो ।

तपोवनको पहिलो सत्रमा त्यस्तै लाग्यो । भजनसँगै आरती र आरतीमा थपिएको नृत्य, कुण्डलिनी ध्यानको विधि ‘सेक द बोतल बिफोर युज’ भनेर झोल औषधिको बाहिर लेखेको जस्तै पो हुनेरहेछ । यो ध्यानमा हातगोडा मात्रै होइन, टाउकोदेखि पैतालासम्म पूरै अंग हल्लाउनुपर्ने । यसले थुनिएका नसा, जाम भएको मांंसपेशी र हड्डी सबै पूर्ण स्वचालित हुन्छन् भनिने रहेछ ।

केही समयको कुण्डलिनी ध्यानपछि ओशोसम्बन्धी वृत्तचित्र देखाइयो । अब भने गुरु वाणीसँगै विश्रामको सूचना । कति नियमबद्ध, कति मिठो लय मिलेको ।

तत्क्षण गुरुलाई भेटने प्रबन्ध मिल्यो । रातको झन्डै साढे दश बजेको थियो, असी वर्ष टेक्नै लागेका बोधिसत्त्व आनन्द अरुणलाई निन्द्रा लागेको छैन ? प्रश्न मनभित्रै दबाएर हाम्रो समूह गुरुको बैठकतिर लाग्यो । उहाँको अनुहारमा देखिएको कान्ति साँच्चै लोभलाग्दो थियो ।

ओशोसँगको उहाँको भेट र उहाँ ओशोको अनुयायी कसरी हुनुभयो भन्ने कुरा सुन्यौँ । केही जिज्ञासा शान्त भए र केही जन्मिए पनि । एघार बजेतिर हामी आ–आफ्ना विश्राम कक्षमा फर्कियौँ । अनौठो अनुभूति । पानी बगेको एकनासको कलकल आवाजले लोरी गाएजस्तो भयो । कुन बेला निन्द्रा देवीको काखमा पुगियो पत्तो भएन ।

बिहान चराको चिरबिर र पानीको कलकल आवाजले ब्युँझायो ।

बिहानी कक्षाका लागि तयार भएर बाहिरिँदा विदेशी महिला भुईँ बढारिरहेकी छिन् । आश्चर्य ! हिजो राति उनी नाचेको देख्दा लागेको थियो– यिनी भोलि अबेला उठ्छिन होली । तर, मेरो सोचाइ गलत भयो । म उधुमै खुसी भएँ । सबै कुरा यसरी नै गलत हुँदै जाऊन्, कामना गर्दै ओरालो लागेँ ।

भान्सा हामी बसेको कोठाभन्दा केही तल छ । ओरालो झरेर जानुपर्छ । हरियो जंगलमा कलेजी रङका लुगा लगाएका शान्त मानिसको ओहोरदोहोर छ । कोही झर्दै गरेका कोही उकालो चढ्दै गरेका । यो जमातमा सबैभन्दा ठूलो समूह हाम्रै छ, दुई प्रहरी पूर्वप्रमुखदेखि बहालवाला कर्मचारीहरू छन् ।

भान्सामा तातोपानी, कालो चिया खाएर कक्षाकोठातिर उक्लियौँ ।

गुरुमन्त्रमा नृत्य गरेपछि सुरु भयो बिहानको डायनामिक ध्यान । यस ध्यानमा विज्ञान र अध्यात्मको मिश्रण छ । साइकोथेरापी विधि छ, हास्यरस छ र आनन्द छ । आहा ! तानिरहने घर–व्यवहार, केही गर्न नसकेको मनभरिको थकथकी सबै हराउँदै गए ।

दश मिनेट ठूलो श्वास जोडजोडसँग फालेपछि अर्को दश मिनेट ‘ल जे मन लाग्छ गर्नुस्, रुनु, कराउनु, हाँस्नु, चिच्याउनु र शरीरमा भएका सबै विकार बाहिर निकाल्नु जसले आफूलाई दुःख दिएको छ,’ गुरुको आवाजसँगसँगै मानिस अकस्मात् कराउन लागे । क्वाँक्वाँ रुन थाले । हलमा कोकोहोलो मच्चियो ।

मेरो मन आत्तियो । आँखा बन्द हुन छोडेर ट्वाल्ल परेँ । कोही सिरानीलाई पिटिरहेका छन् । कोही कराइरहेछन् । मैले दुवै हातले कान बन्द गरिदिएँ । मनभित्र जमेर बसेको बरफलाई पगाल्ने, मनभित्र बलेको आगोलाई निभाउने विधि रहेछ यो ।

“पहिलो दिन लाज लाग्ला । भोलिदेखि सहज हुन्छ,” सायद मेरा ट्वाल्ल परेका आश्चर्यचकित आँखा र दुवै हातले कान थुनेको दृश्य गुरुका नजरमा पर्यो । वा नयाँ आउने सबैको हालत मेरोजस्तै हुन्थ्यो, केही भेउ पाउन सकिनँ ।

संगीत फेरियो, “अब हुँ हुँ गर्दै मुखबाट मात्रै श्वास फालौँ । हात माथि, गोडालाई उचालेर भुईँमा बजारौँ ।”

गुरु आदेशसँगसँगै ‘हुँ हुँ’ को आवाज हलभरि गुञ्जिन्छ । म आँखा बन्द गरेर ‘हुँ’ मा सामेल भएँ । फेरि संगीत बन्द हुन्छ ।

“नाच्नुस !” सबै साधकहरू नाच्न थाल्छन् । शरीर गलेर हत्तु भएको छ ।

फेरि, “जस्तो अवस्थामा हुनुहुन्छ त्यस्तै अवस्थामा रहनुस् । मान्नुहोस्, तपाईंको शरीर मृत लास हो, न खोक्छ न बोल्छ । न चिलाउँछ न कन्याउँछ ।”

यो दृश्य पनि खुबै हेर्न लायक हुँदो रहेछ । नाच्दानाच्दै मानिसका हातगोडा कता बटारिएका हुन्छन्, ‘गोडाफाट सतर्क’ भनेको भए पो एउटै लयमा देखिँदा हुन् ! यत्तिकै रोकिँदा अनेक प्रकारका स्ट्याचुजस्ता मानिस । जस्ताको तस्तै हुँदा शरीर तातेर थरर्र काम्न थाल्यो । होसैले सम्हाल्नु छ शरीर । लड्नबाट जोगिनु छ ।

पहिलो दिन कहाँ मेलोमा हिँड्यो र मन । कुरा खेल्न थाल्यो– के हामी आजसम्म ब्रेक नभएको गाडी चलाइरहेका थियाैँ त ? हाँसे घण्टौँसम्म हाँस्ने, रोए पिलपिलाइरहने । हैन भने बीस मिनेटअगाडि रोइरहेको मानिस कसरी उफ्रन सक्छ ? कसरी नाच्न सक्छ ?

गुरुहरूले भन्न त भनिरहनुभएको छ, हामी होसमा हुनुपर्छ । सजग रहनुपर्छ । ध्यान भनेको नै सजगताको यात्रा हो । एकपटक भन्दैमा मान्ने मन कस्तो ! मनमनै सोचेँ– हो त, धेरै वर्ष गाडी चलाएको ड्राइभरले बेहोसीमा गाडी चलायो भने के हुन्छ ? हामीचाहिँ धन्न ब्रेकविना चलिरहेका रहेछौँ ।

शरीर गलुन्जेल थेरापी गरेको छ, शिथिल गराएर ध्यान र सबआसनमा सुताएको छ । बाहिर निस्कँदा शरीरको दुःखाइ गायब ! मेरो भद्दा शरीर पनि हल्का, एकदम हल्का भएको छ । मैले मोबाइललाई फ्लाइट मोडमा राखेँ । मनलाई बच्चाकै जस्तो दृश्यमा सीमित राख्ने प्रयास गर्न थालेँ ।

दिवासत्रका लागि कक्षाकोठामा जाँदै गर्दा एउटी छोरी आमालाई अँगालो हालेर रुँदै गरेको देखेँ । मन कटक्क भयो । छोरीलाई अँगालो मार्न घरतर्फ दौडियो मन । म कक्षाकोठा जाँदै छु, तर मन भने छोरीको आँसु पुछ्न कुदेको छ ।

पश्चिमी सभ्यताको प्रभावले होला, सिधै गएर उनीसँग सोध्ने हिम्मत आएन । सरासर कक्षाकोठामा गएँ । ध्यानमा मन लगाउन सकिनँ । उफ् ! मन हलभरि घुम्न थाल्यो । आँखा बन्द हुन अटेर गर्न थाले । भर्खरका केटाकेटी कोही रोइरहेका छन्, कोही हाँसिरहेका छन् ।

विचित्रको समाजशास्त्र थियो त्यहाँभित्र । जसोतसो मनलाई थुमथुम्याएँ । आजको कक्षा सकेर रातको दश बजेतिर हामी कक्षाबाट बाहिरिने तयारी गर्दै गर्दा हलको पछाडि फेरि रोएको ठूलो डाँको सुनियो । जति पर जान्छु, आवाज झन् ठूलो हुन्छ । रातभर छटपट भयो ।

हाम्रो समूह मात्रै त्यस्तो थियो, जो शान्तिको खोजीमा थियो । भनौँ, तनावमुक्त भएर आनन्द लिने प्रयासमा थियो ।

दुःखको न त गहिराइ छ न चौडाइ । सुगर, प्रेसरको मात्रा नाप्नेजस्तै यन्त्र बनेको हुँदो हो त यहाँका मानिसका दुःखको नम्बर कति आउँदो हो ? प्रश्नैप्रश्नको हुन्डरी मनभित्र चल्छ । गुरुहरूसँग जिज्ञासा राख्छु– समस्यामा परेकालाई परामर्श किन नगरेको होला भनेर ।

“उहाँहरू आफैँले खोज्ने हो समाधान । अरूले सम्झाएर मनले एकैछिन मात्रै बुझ्छ वा बुझेझैँ गर्छ । भन्नुहुन्छ, फेरि बल्झन्छ । आफैँले बुझायो भने स्थायीरूपले बुझ्छ !”

म अवाक् हुन्छु । यो कस्तो उपचार पद्धति हो भनेर छक्क पर्छु । एक–दुईजनाका घटना सुनेपछि र तिनको रुवाइको भोलुम घट्दै गएपछि म पनि शान्त हुन्छु । अनि, एकाकार हुन पुग्छु साधनामा ।

भर्खर विवाह गरेका सुन्दर जोडी पनि छन् । छुट्टाछुट्टै समूहमा बस्छन् । आमाले छोरालाई, दिदीले भाइलाई ल्याएका छन् ।

कुनै बेला लाग्छ, यो सुधारगृह हो । जोक्स र हाँसो सुन्दा लाग्छ, यो क्रिडास्थल हो । ध्यान र साधनामा डुब्दा यो तपोवन हो । मात्रै तपोवन, ऋषिमुनिहरूका यज्ञभूमि र तपोभूमि । बाहिर पूरै हरियाली छ । आँखालाई भरपुर ऊर्जा मिलेको छ । फोक्सोलाई टन्नै अक्सिजन मिलेको छ ।

तपोवन आउनुअगाडि निस्किएका अफवाह, जिज्ञासा र आलोचनाहरू एकएक गर्दै मेटिँदै छन् । खै मानिसले सेक्सलाई कुन अर्थमा बुझ्छन् कुन्नि ! सँगै एउटै बिस्तारामा सुतेका लोग्नेस्वास्नी त सानो चित्त दुःखाइले अर्कोतिर फर्केर सुत्छन्, यहाँ को तयार भएर बस्लान् फ्रीमा बाँडिनलाई ! हरिद्वारको गल्लीमा बाँड्न राखेको खिचडी त हैन नि सेक्स !

ओशोका सात सय पुस्तक र हजाराैँ प्रवचनमा किन मानिसले फ्रिसेक्स र स्वतन्त्रतालाई मात्रै सम्झे होलान् ? ओशोतिर लागेपछि घरबार त्याग्छन् भनेर किन सोचे होलान् ? खुसी भएर आनन्दसँग जीवन बिताउन गरेको आग्रह किन सुनेनन् होला ?

धर्म र अध्यात्मको नाममा खुलेका अनगिन्ती धार्मिक र आध्यात्मिक पसलहरू छन् । ती सबैले ज्ञान, सत्यको बाटो सिकाउँछन् । गर्न हुने, नहुने काम र कतव्र्यका कुरा सिकाउँछन् । ज–जसले सुन्न र हेर्न भ्याउछौँ, ती सबैका राम्रा कुरा लिन सक्याैँ भने त राम्रो हुँदो हो ।

ओशोले चाहिँ संसारमा रहेर सांंसारिक हुँदै आनन्दसँग जीवन बिताउने कुरा सम्झाउने रहेछन् । ‘दुःखको मुख्य कारण अपेक्षा हो, अपेक्षा गर्न छाडेपछि सुख प्राप्त हुन्छ ।’ दुःखरहित जीवनको कामना कहाँ गलत भयो र कुन्नि !

कसरी पेट पाल्ने ? परिवार कसरी धान्ने ? भन्ने अवस्थामा न त ज्ञानको भोकको पत्तो लाग्छ न त ध्यानको खोजी नै । झन् आनन्दमा पुग्ने लक्ष्य हुन त भोक र रोगको अवस्थाबाट माथि उठेपछि नै हो । त्यहाँको बसाइ र खुवाइको स्तर पैसासँग तुलना नै हुँदैन रहेछ । दश हजारको सुइट र एक हजारको सामूहिक हलमा बस्नेले खाने एउटै छ ।

तालिम लिने भनौँ वा सिकाइ एउटै छ । अनि, तालिम केन्द्रमा पुगेको प्रहरीलाई तालिम दिएझैँ थकाउने र खुवाउने मात्रै काम हुनेरहेछ । मोजमस्ती गर्ने भनेको त फुर्सदमा होला नि ! थाकेर लखतरान भएर निदाउनुको आनन्द अन्त कहाँ होला र ? त्यो आनन्दचाहिँ भरपुर प्राप्त भयो ।

हप्ता दिनको बसाइपछि बोधिसत्व आनन्द अरुणबाट दीक्षित हुन पाइने रहेछ । हाम्रो समूहका व्यवस्थापक भरत शर्माजीले भन्नुभयो, “यत्रो समूहमा आएका छौँ, हामीले दीक्षा लिनुपर्छ ।”

साथीहरूले सोध्नुभयो, “हजुरले दीक्षा लिने हो ?”

मैले सरल जवाफ दिएँ, “खोला जता बग्छ उतै बग्यो भने यात्रा सहज हुन्छ ।”

मेरा स्वामी (दीपकजी)ले लिने भए मैले पनि लिने भनेँ । उहाँहरू दोमन हुनुहुन्थ्यो । म भने एक मन थिएँ ।

दुई दिन दीक्षा लिने तालिका थियो । हामीले दोस्रो दिन लिने निर्णय गरेका थियाैँ । भव्य तयारीसँगै सबैलाई गुरुले नाम दिने कार्य हुनेरहेछ । त्यसपछि मात्र मालाको आह्वान । नयाँ दीक्षा लिनेसँग एकजना पुराना साधकसँगसँगै बस्ने ।

ठूलो आवाजको संगीतमा पुराना साधकहरू मस्तीसँग नाचिरहेका छन् । नयाँ दीक्षा लिनेहरू भने आश्चर्यचकित म्रर्तिवत् बसेका छन् । यस बेलाको माहोल अनौठो थियो । पुराना साधकहरू रोइरहेका छन् । हैन यो के हो ? मनभरि जिज्ञासा छ ।

भोलिपल्ट ती साधकहरू जस्ताको तस्तै छन । मेरो पालो आयो, केही भय र केही उत्सुकताबीच म गुरुका अगाडि पुगेको थिएँ ।

मेरी हजुरआमाले भन्नुहुन्थ्यो, ‘सोध्ने मानिस कोही छैन भने आफ्नै घुँडालाई सोध्नु अनि काम गर्नु !’

घुँडालाई सोध्दासोध्दै मेरो मनले दिक्क मानेको पनि हुनसक्छ । र त गुरुको खोजीमा रहेछ कि ! म को हुँ ? म के हुँ ? र, मेरो खोजी के हो ? अरू मान्छेका जस्ता दुःखको न त पहाड थियो मसँग, न त महत्त्वाकांक्षा र कतै पुग्ने दौड नै । मात्र तमाम बेथितिप्रति केही गर्न नसकेको छटपटी र हुटहुटी ।

एकतिर छटपटी र अर्कोतिर निराशा, कस्तो असुहाउँदो मनोदशाबाट गुज्रँदै गएको हुँ भेउ पाउन नसकेर हैरान थिएँ । सकारात्मक ऊर्जा र नकारात्मक ऊर्जाको सम्मिश्रणले नै करेन्ट निस्कन्छ । बिजुली बत्ती बल्छ । हिटरले तताउँछ । कुलरले चिसो बनाउछ । आजकल नकारात्मक कुराबाट परपर हुँदाहुँदै म निकम्मा त हुँदै छैन !

सकारात्मक ऊर्जाले मात्रै न बत्ती बल्छ न तातो र चिसो नै हुन्छ । विनाउपादेयताको करेन्ट त बन्दै छैन म ? जसले जीवित भएको संकेतबाहेक केही दिन नसकेको होस् ? न मन्त्रम् अक्षरम् नास्ति नास्ति मुलम् अनौषधम्, अयोग्य पुरुषो नास्ति, योजकम् तत्र दुर्लभ अर्थात् मन्त्र नभएको अक्षर हुँदैन, औषधि नभएको कुनै बोटबिरुवा हुँदैन । त्यसैगरी, कुनै गुण नभएको मानिस हुँदैन । मात्रै कमी छ भने मानिस स्वयंभित्र यस्तो गुण छ भनेर भनिदिने मानिसको । म त्यही मानिसकोे खोजीमा थिएँ कि !

यहाँ सरकारी उच्चस्तरका कर्मचारीदेखि विदेशीहरू प्रशस्तै आउँदा रहेछन् । बाहिर आएका नकरात्मक समाचारहरूको किन खण्डन गरिँदैन ? मेरा यी र यस्तै जिज्ञासा दीक्षा लिनुअघि गुरुका अगाडि फरर्र राखिदिएँ ।

उहाँले भन्नुभयो, “तपाईंको प्रश्नको उत्तर कसैसँग छैन । तपाईं आफैँले खोज्नुपर्छ । तपाईंको छटपटी जायज छ । नकारात्मक टीकाटिप्पणी त क्षणिक हुन्, आफैँ हराउँदै जान्छन् । गलत कुराको खण्डन गरेर आफ्नो शक्ति खर्चिनुको कुनै अर्थ छैन ।”

गुरुका कुरालाई आशीर्वचन सम्झिएँ, बस् । अनि, गुरुकै हातबाट माला लगाएँ । यो समयमा मलाई विचित्रको अनुभव भयो । जीवनमा यसअघि यस्तो अनुभव भएको थिएन । मिठो तर्कनामा केही बेर पल्टिएँ मज्जाले ।

नेपालमा बढ्दै गएको मनोरोगको समस्याको एक मात्रै समाधान भनेको ध्यान नै हो । सरकारले अस्पताल खोल्नभन्दा प्रत्येक नगरपालिकामा ध्यान सञ्चालन गर्ने ठाउँ उपलब्ध गराउन पहल गरौँ– बिदा हुने बेलामा गुरुको आग्रह थियो । साधकहरूसँगको यो आग्रह जायज लाग्यो । अहिले मानिस तनावैतनावमा छन् । जीवनप्रति थाकेर, हारेर दिन प्रतिदिन आत्महत्या गर्नेको संख्या बढ्दो छ ।

स–साना घटनालाई पनि आत्मसात् गर्न नसकेर क्षणिक आवेशमा आउनेहरू ध्यान र साधनाले बाँच्दा हुन् कि ! मिठो कल्पना गर्दै हामी फेरि आउने वाचासहित घरतर्फ लाग्छौँ ।

बाटोमा आउँदा तपोवन आउनुअगाडि सुनेका हल्लाहरू फगत हल्ला मात्रै रहेछन् भन्ने लागिरह्यो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय