
काठमाडौं । केही वर्ष अघिसम्म तराईको रोग भनेर चिनिएको डेङ्गु पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा फैलिँदै गएको छ ।
काठमाडौं र ललितपुर यो वर्ष डेङ्गुको चपेटामा परेका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ओपीडीमा ज्वरो र डेङ्गुसँग मिल्दोजुल्दो लक्षण लिएर आएका बिरामीमा संक्रमण पुष्टि हुनेको संख्या बढेको छ । शुक्रबारसम्म काठमाडौंको अस्पतालमा २३ जना डेङ्गुका बिरामी उपचाररत रहेको अस्पतालको तथ्यांक छ ।
दुई महिनामा एक हजार संक्रमित
यो वर्ष उपत्यकामा ललितपुर महानगर वडा नं. ५ मा गत असार ९ गते डेङ्गुको पहिलो केस देखिएको थियो ।
ललितपुरका सानेपा, लगनखेल, थसिखेल हुँदै महालक्ष्मीसम्म देखिएको डेङ्गु संक्रमण भदौ ९ गतेसम्म आइपुग्दा सातसय २६ जनामा देखिइसकेको छ । यो संख्या दिनहुँ थपिँदै गएको र अबको एक महिना अझै बढ्ने जोखिम रहेको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख सतिस बिस्ट बताउँछन् ।
त्यस्तै काठमाडौंमा यो वर्ष डेङ्गु संक्रमितको संख्या दुईसय ९३ पुगेको छ । संक्रमितमध्ये दुईसय ४४ जना अगस्टमा मात्रै थपिएको काठमाडौंका स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीले बताए ।
भक्तपुरमा पनि यो संख्या २० भन्दा बढी रहेको स्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांक छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार यो वर्ष देशभर डेङ्गु संक्रमितको संख्या एक हजार एकसय २६ पुगेको छ, जसमध्ये एक हजार ३९ जना काठमाडौं उपत्यकामा छन् ।
गत वर्षहरूको आँकडा हेर्दा यो वर्षपनि असोजसको अन्तिमसम्मै डेङ्गु संक्रमण बढेर जाने महाशाखाको आकलन छ । तर, यो वर्षका तीन महिनामा नै देखिएको संक्रमितको संख्या दोब्बर भएको महाशाखाका महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।
आर्थिक वर्ष २०७७/०७८ मा चारसय ९३ जनामा सीमित डेङ्गु संक्रमण गत आर्थिक वर्षमा बढेर ५४० जनामा देखिएको थियो । यो वर्ष साउन अन्तिमसम्ममा नै गत वर्षको दोब्बरभन्दा बढीमा संक्रमण देखिनुले यो वर्ष डेङ्गु संक्रमण उच्च संख्यामा बढ्न सक्ने अनुमान महाशाखाले गरेको छ ।
अघिल्ला वर्ष डेङ्गु प्रभावित जिल्लाहरूमा सरकारले नियन्त्रणका कार्यहरू गरिरहेको भएपनि पहाडी जिल्लाहरूसँगै नयाँ नयाँ स्थानमा संक्रमण फैलिँदै गएकाले चुनौती थपिएको डा. दाहाल बताउँछन् ।
वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा देखिएका बिरामीको संख्या हेर्दा यसले प्रकोपको रूप लिनसक्ने बताउँछन् ।
चिसो ठाउँ खोज्दै लामुखट्टे
पछिल्ला वर्षहरूमा लामखुट्टेजन्य रोगहरू पहाडी जिल्ला र काठमाडौं उपत्यकामा बढी देखिँदै आएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
सवारीका साधन र मानिसहरूको आवतजावत लामखुट्टेका लागि एक ठाउँबाट अर्को ठाउँमा सर्ने माध्यम भएको विज्ञहरू बताउँछन् । त्यस्तै, ‘ग्लोबल वार्मिङ’ लामखुट्टेका माथि माथि जाने प्रमुख कारण भएको वातावरणविद्हरूको भनाइ छ ।
सन् १८८० यता पृथ्वीको तापक्रम १.२ डिग्री सेन्टिग्रेटले बढेको विभिन्न अध्ययनहरूले देखाएका छन् । नेपालको हकमा यो तापक्रम ०.०५ सेन्टिग्रेट प्रतिवर्षका दरले बढेको काठमाडौं विश्वविद्यालयका वातावरण विभाग प्रमुख डा. रिजनभक्त कायस्थ बताउँछन् ।
पृथ्वीको बढेको यो तापक्रम नै लामखुट्टेका लागि हिमाली जिल्लाहरूमा समेत बाँच्न उपयुक्त वातावरण रहेको डा. कायस्थको दाबी छ ।
सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धिविकास हुन्छ ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनकाअनुसार डेङ्गु भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ । विशेषरी वर्षायाम लामखुट्टेको वृद्धिविकासका लागि ‘उपयुक्त तापक्रम र ह्युमिडिटी’ भएकाले डेङ्गुको प्रकोप बढेको उनी बताउँछन् ।
तर, लामखुट्टे फैलिनुमा १०० दिनको सिद्धान्त लागु हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन् ।
कुनैपनि पहाडी वा हिमाली जिल्लाको तापक्रम लगातार १०० दिनसम्म १५ डिग्री सेन्टिग्रेटभन्दा बढी भएमा त्यहाँ लामखुट्टेका लागि प्रजननमैत्री वातावरण बन्दछ । प्रजनन अगाडि डेङ्गु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे एकदमै सक्रिय हुन्छ । प्रजननका लागि यो जातको लामखुट्टेलाई धेरै प्रोटिन आवश्यक पर्ने भएकाले यसले एकैपटक ३ देखि ४ जना व्यक्ति र जनावरको समेत रगत चुस्दछ ।
यसरी प्रजनन अगाडि लामुखट्टेले धेरैमा संक्रमण सार्न सक्ने वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन् ।
सन् २०१६ देखि २०१८ सम्म इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य संगठनसँग मिलेर गरेको एक अध्ययनले सन् २०१७ मा सबैभन्दा धेरै २६० जना कालाजारका बिरामी भएको र ओखलढुंगाको मानेभञ्ज्याङमा समेत जापानिज इन्सेप्लाइटिसका बिरामी भेटिएको पुष्टि गरेको थियो ।
सोही अध्ययनबाट सन् २०१४ यता पहाडी जिल्लाहरूमा जापानिज इन्सेप्लाइटिस, कालाजार, मलेरिया र डेङ्गुको संक्रमण बढ्दै गएको पुष्टि भएको डा. मरासिनी बताउँछन् ।
सन् २०१४ अगाडि काठमाडौंमा मात्रै जापानिज इन्सेप्लाइटिस विरुद्धको खोप दिइँदै आएकोमा त्यसयता देशभर यो खोप वितरण गरिँदै आएको छ ।
पछिल्ला वर्षहरूमा चुरे क्षेत्रमासमेत लामखुट्टेजन्य रोगको प्रकोप बढेको डा. मरासिनीको अनुभव छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१२ मा गरेको डेङ्गुसम्बन्धी अनुसन्धानले नेपालमा एडिज एजिप्टाईले १८ सय मिटर तथा एडिज अल्बोपिक्टसले २१ सय मिटरको उचाईसम्म पुगेर प्रजनन गर्न सक्ने देखिएको थियो ।
यसकारण काठमाडौं डेङ्गुको जोखिममा
डेङ्गु फैलाउने लामखुट्टेका लागि सहरी वातावरण नै सबैभन्दा अनुकूल भएको विज्ञहरूको ठहर छ ।
काठमाडौं उपत्यकामा अव्यवस्थित र बिना मापदण्ड सञ्चालनमा रहेका वर्कसपका कारण लामखुट्टेलाई सर्भाइभ गर्न उचित वातावरण मिलेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारी बताउँछन् ।
“वर्कसपहरूमा अव्यवस्थित रूपमा राखिएका टायरमा जमेको पानी, घरैपिच्छे पानी जम्मा गरेर राखिएका ट्यांकी, कुलरमा जम्मा हुने गमलामा जम्मा भएको पानी नै लामखुट्टेका लागि उपयुक्त वासस्थान बनिरहेको छ,” अधिकारी भन्छन् ।
सहरीकरण भएपनि मजबुत सहरी स्वास्थ्य व्यवस्थापन नहुनुले काठमाडौं संक्रमणजन्य रोगहरूको हब बन्दै गएको अधिकारीको अनुभव छ । मापदण्ड नराखी सञ्चालन गरिएका वर्कसप, कवाडी लगायत व्यावसायले यो जोखिम अझै बढाएको उनको भनाइ छ ।
काठमाडौंमा पहिलेदेखि नै डेङ्गु फैलाउने लामखुट्टे रहेपनि पछिल्ला वर्षहरूमा बढ्दो सहरीकरण नै संक्रमण फैलाउन काफी भएको डा. बास्तोलको पनि दाबी छ ।
डेङ्गु कति घातक ?
डा. बास्तोलाकाअनुसार समुदाय स्तरमा १० हजार मानिस डेङ्गुबाट संक्रमित भए भने एक हजार जनामा लक्षण देखापर्छ । जसमध्ये पाँच सय जना भाइरल ज्वरोले संक्रमित हुन्छन् भने अर्को पाँच सय जनामा डेङ्गु ज्वरोका लक्षण देखिन्छन् ।
विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण फैलिने गर्छ ।
उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, ढाड करकरी दुख्ने, शरीर दुख्ने, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । डेङ्गु ज्वरो सन्चो हुने बेलामा शरीरमा राता दागहरू पनि देखा पर्छन् । डेङ्गुकै कारण ‘गम्भीर डेङ्गु’ को सम्भावना पनि रहन्छ ।
सन् २०१९ मा नेपालमा डेङ्गुले प्रकोपको रूप लिएको थियो, सो वर्ष डेङ्गु संक्रमणबाट छ जनाको मृत्यु भएको महाशाखाको तथ्यांक छ ।
गम्भीर प्रकृतिको डेङ्गु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षणहरू देखा पर्छन् ।
यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । डेङ्गु संक्रमण प्रत्यक्ष मानिसबाट मानिसमा नसरे पनि संक्रमित लामुखट्टेले अर्को व्यक्तिलाई टोकेमा संक्रमण फैलिन सक्छ ।
कसरी जोगिने ?
डेङ्गुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो ।
एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुला रूपमा पानी राख्न हुँदैन ।
साँझ बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनु, घरमा जालीढोका लगाउनु, झुल टाँगेर सुत्नु, साँझ बिहान सकेसम्म बाहिर ननिस्कनु, निस्कनै परे लामो बाहुला भएको लुगा लगाउनु वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्नु डेङ्गुबाट बच्ने उपायहरू हुन् ।
त्यस्तै घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनु र डेङ्गुको सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउनु डेङ्गुबाट बच्ने प्रभावकारी उपायहरू हुन् ।
प्रकोपकै रूपमा फैलिन सक्ने डेङ्गुलाई रोकथाम र नियन्त्रणका लागि सतर्क रहन ढिला नगर्न र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान अघि बढाउन डा. बास्तोलाको अनुरोध छ ।