काठमाडौं । देशभरका मिटरब्याजीमाथि प्रहरीको अनुसन्धान जारी छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालहरू अनुसन्धानमा संलग्न छन् । सीआईबीको सक्रियतामा मिटरब्याजीमाथि छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको हो ।
पीडितको जाहेरीका आधारमा सीआईबीले केही व्यक्तिलाई पक्राउ समेत गरेको छ । तिनैमध्येका हुन्, नवलपरासीका मिटरब्याजी जगदीश बानियाँ, लालबहादुर खड्का र अनीरुद्र साह । सीआईबीले अनुसन्धान गरेकाले उनीहरूलाई काठमाडौं ल्याइएको छ ।
मिटरब्याजी साहुकार बानियाँले नवलपरासीका २७ जनालाई ८७ लाख रुपैयाँ ऋण दिएर तीन करोड बढी रुपैयाँ असुलेको पीडितको आरोप छ ।
नवलपरासीकै प्रतापपुर गाउँपालिका–९ का बानियाँलाई गएको मंगलबार भारतबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए । उनीविरुद्ध गोप्य सूचना र उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको राईले बताए ।
मिटरब्याजी साहुबाट पीडित नवलपरासीका ६४ जना अहिले काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् । मिटरब्याजी आफूहरूभन्दा ‘पावरफुल’ रहेको भन्दै न्याय नपाउने पीडितको चिन्ता छ । उनीहरू धर्नामा बसेको २३ दिन भइसकेको छ ।
नवलपरासीकै तिलेशदेवी राजभरले मिटरब्याजी जगदीश बानियाँबाट एक लाख रुपैयाँ ऋण लिएकी थिइन् । तर, अहिलेसम्म आफूले बानियाँलाई १७ लाख ७५ हजार रुपैयाँ तिरिसकेको उनी बताउँछिन् । उनका अनुसार साउदी अरबमा ६ वर्ष काम गरेर हरेक वर्ष एक लाख २३ हजारका दरले बानियाँलाई ब्याज तिरेकी हुन् । साहुले उनको घर पनि लिलाम गरेको छ ।
नवलपरासीकै उमाशंकर लोनियाले छोरालाई विदेश पठाउन साहुकार रामनरेश गुप्तासँग चार लाख रुपैयाँ ऋण लिएका थिए । अहिलेसम्म आफूले सावाँ–ब्याजसहित आठ लाख ३० हजार रुपैयाँ तिरिसकेको उनी बताउँछन् ।
“सावाँ–ब्याज–स्याजसहित आठ लाख ३० हजार रुपैयाँ तिरिसकेँ । अहिले ११ कट्ठा जग्गा हडप्ने भन्दै साहुले जिल्ला अदालत नवलपरासीमा मुद्दा हालेको छ,” लोनियाले भने, “कसरी न्याय पाउने ?”
लोनियाका छोरा धनञ्जय विदेश गएको डेढ महिनामै पारिवारिक समस्याका कारण स्वदेश फर्किएका थिए । साहुको ब्याज तिर्नका लागि गाउँका सात समूहबाट आफूले आठ लाख रुपैयाँ ऋण लिएको लोनियाले बताए । समूहबाट लिएको आठ लाख पनि तिर्न बाँकी नै छ । उनी सीआईबीमा उजुरी दिने तयारीमा छन् ।
सोही ठाउँका अकबर मियाँले दुई साहुकारबाट १० लाख २५ हजार रुपैयाँ ऋण लिएका थिए । उनले मनोजकुमार सोनारबाट मात्र ६ लाख ऋण लिएका थिए ।
६ लाखको ब्याजसहित मनोजकुमारलाई उनले १० लाख पाँच हजार दिइसके । उनका अनुसार थप साढे तीन लाख लिएर जाँदा साहुले अर्को २० लाख रुपैयाँ मागियो । पीडित मियाँविरुद्ध मनोजकुमारले अदालतमा मुद्दा दायर गरेका छन् । उनको छोराको नाममा रहेको १० कट्ठा जग्गा लिलाम गर्नका लागि एकपटक पत्र समेत काटिएको छ ।
मियाँले अर्का साहुकार सुरेश बानियाँबाट चार लाख २५ हजार ऋण लिएका थिए । तर, १० लाख दिइसक्दा पनि साहुले थप १३ लाख मागेको उनी बताउँछन् ।
मियाँ भन्छन्, “दुई धुर कम तीन कट्ठा जमिन लिलाम गरिसक्यो । म मिटरब्याजको पासोमा पर्दा छोराले घरबाट छुट्ट्याइदिएको छ । मर्नु न बाँच्नुको दोधारमा छु ।”
उनका अनुसार साहुकार बेला–बेला घरमा आएर ताल्चा लगाएर घर लिलाम गर्ने धम्की दिन्छन् ।
यता, गएको साउन २९ गते पहिलोपटक गृह मन्त्रालयका अधिकारी र मिटरब्याजपीडितबीच छलफल भएको थियो । तर, आफ्ना मागहरू पूरा नभएको भन्दै उनीहरू फेरि माइतीघरमै फर्किए ।
सोमबार पुनः गृहका अधिकारी र उनीहरूबीच छलफल भयो । बैठकमा पीडितले दुई माग राखे । मन्त्रिपरिषद्को निर्णयबाट दृष्टिकबन्धक, तमसुकसँग सम्बन्धित व्यक्तिगत लेनदेनलाई अवैध घोषणा गर्नुपर्ने तथा पूर्वन्यायाधीशको नेतृत्वमा संघर्ष समिति पक्ष र विज्ञसहितको उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने उनीहरूको माग छ ।
मन्त्रालयले उनीहरूलाई नवलपरासीमै गएर जाहेरी दिन सुझाव दिएको थियो । तर, न्याय नपाएसम्म गाउँ नफर्कने पीडितहरूको अडान छ ।
मन्त्रालयले मिटरब्याजीबाट पीडित जो कोहीलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आह्वान गरेको छ । सरकारले मिटरब्याजीमाथि अनुसन्धान गर्न उच्चस्तरीय कार्यदल समेत गठन गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले पीडितले जहिले पनि उजुरी दिन सक्ने बताए । उनका अनुसार जिल्ला–जिल्लाबाट उजुरी संकलन भइरहेको छ ।
“उजुरीका आधारमा पक्राउ गर्दै अनुसन्धानको दायरमा मिटरब्याजी छन् । जिल्ला प्रहरी कार्यालयहरूले पक्राउ गर्दै काठमाडौं पठाइरहेका छन् । मिटरब्याजीविरुद्धको प्रमाणहरू के–के छन्, हेरेर कारबाहीमा लागिपरेका छौँ,” उनले भने, “न्याय पाउने कुराको अहिले नै पूर्वआकलन गर्न सकिँदैन ।”
सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक कमल थापाका अनुसार हिजोसम्म सातजनाले काठमाडौंमा उजुरी दिएका छन् । उच्चस्तरीय कार्यदलका अनुसार देशभरबाट एक हजार ९३५ भन्दा बढी मिटरब्याजीविरुद्ध उजुरी परेको छ ।