मुम्बई । चर्चित भारतीय स्ट्यान्ड अप कमेडियन राजु श्रीवास्तव १५ दिनपछि होसमा आएका छन् । १० अगस्ट हृदयघाट भएपछि दिल्लीको एम्स अस्पताल लगिएका उनी सोही दिनदेखि बेहोस भएर भेन्टिलेटरमा थिए ।
यसबीच श्रीवास्तवको अवस्था गम्भीर रहेकोदेखि उनको निधन भएकोसमेत खबर फैलिए । उनै कमेडियन १५ दिनपछि होसमा आएपछि उनका नजिकका व्यक्तिहरूदेखि उनका प्रशंसकहरू पनि खुसीले गदगद भएका छन् ।
कमेडियन राजु होसमा आएकोमा अर्का स्ट्यान्डअप कमेडियन सुनील पलको खुसीको सीमा छैन ।
खुसी हुँदै इन्स्टाग्राममा पल भन्छन्, “खुसीको खबर, खुसीको खबर, साथीहरू खुसीको खबर । राजु दाइलाई होस आएको छ । खुसीको खबर । धन्यवाद भगवान् । मैले भनिरहेको थिएँ नि चमत्कार हुन्छ । परमात्माले हसाउनेहरूलाई निराश गर्नै सक्दैनन् । सम्पूर्ण परिवार, सम्पूर्ण मित्रहरू, पूरै संसारलाई जोजोसले प्रार्थना गर्नुभयो, सबैलाई माया, धन्यवाद भगवान् धन्यवाद ।”
सबैको प्रार्थनाले काम गरेको भन्दै उनले छिट्टै भेन्टिलेटरबाट पनि निस्कने आशा व्यक्त गरे ।
राजुको स्वास्यमा देखिएको सुधारमा मनोरञ्जन क्षेत्रकादेखि उनका प्रशंसकहरू पनि निकै खुसी छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरिरहेका छन् ।
नवभारत टाइम्सबाट ।