site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
उल्झिएका उद्भट अध्येता प्रदीप गिरि

प्रदीप गिरि विद्वतामा उल्झिएको व्यक्तित्वजस्तो लाग्छ मलाई । अन्तिम बिदाइमा उर्लिएको श्रद्धावान्हरुको घुइँचोका प्रत्येकले उहाँलाई आआफ्नै प्रकारले बुझेका होलान् र अन्तिम सान्निध्यको लागि बिदाइमा उपस्थित भए होलान् । यस्तै उहाँबारे मेरो बुझाइ सीमित छ तर बुझाइ चाहिँ आफ्नै प्रकारको ।

गत शनिवार सदाजस्तै सार्वजनिक बिदाको दिन । उहाँले धर्तीका समस्त भौतिक उपस्थितिलाई त्यही दिन ‘बिदाइ’मा आँखा बन्द गर्नुभयो र शारीरिक प्रतिक्रिया शून्यमा विलीन गर्नुभयो । बाँकी बच्यो जीवित चेतनामा आआफ्नो सम्झनाका प्रदीप्त प्रदीप गिरि ।

प्रदीप गिरि मेरा लागि पढी सिध्याउन नसक्ने उल्झिएको उद्भट अध्येताको नाम हो । प्रसंगवशात् उहाँको कुरा निस्कदा मेरो पहिलो सम्झनामा बनारस उहाँसँगै अन्योन्याश्रित आउँथ्यो र छ । मैले उहाँलाई बनारसमै देखेँ, भेटेँ र भव्य भौतिक ‘पर्सनालिटी’ पहिलोपटक बोध गरेँ । बुझाइले होइन, देखाइमा थियो यो सबकुछ ।

Agni Group

बनारस त्यतिबेला नेपाली राजनीतिक प्रवासीको संघर्षको दियो बाल्ने केन्द्रीय थलो भारतीय सहर थियो । त्यति मात्रै होइन,  शिक्षा र धार्मिक आस्थाले पनि नेपालीसँग बनारस जोडिएको थियो । प्रजातान्त्रिक समाजवादी आन्दोलनका विश्वनेता बीपी कोइराला पनि बनारसकै सारनाथमा बस्नुभयो ।

त्यसताका त्यहीँ बस्ने प्रदीप गिरिप्रति खासगरी प्रवासी नेपाली कांग्रेसका कार्यकर्ताबीच सकारात्मक सुनिन । चर्चित रहेको चाहिँ बुझ्नसक्ने थिएँ । दुग्धविनायकको गल्ली गल्छेडाका चिया पसलबाट उहाँलाई देख्नेबित्तिकै खासखुस हुन्थ्यो, ऊ प्रदीप आए । कोही आदरार्थी शब्दमा त कोही अनादरार्थी बोली प्रयोग गर्थे ।

Global Ime bank

सामान्य याद आउँछ । रातो वर्णको उहाँ कहिले कुर्ता पाइजामा र कहिले घम्लङ्ग पछ्यौरा ओढेर ती गल्लीतिर देखा पर्नुहुन्थ्यो । त्यहाँ चिया खाएको चाहिँ कहिल्यै भेटिन । कसै कसैसँग बाटोमै उभिएर कुरा गरेको भने देखेँ । मेरो मस्तिष्क फराकिलो हुन बाँकी नै थियो । तिनै साँघुरा गल्लीजस्तै मेरो मस्तिष्कमा लिपिबद्ध सम्झना हुन् यी ।

बनारसले उहाँप्रति केही तीतो स्मृति दिएको छ, मीठोभन्दा बढी । अरू आउँदाजाँदा कसैले वास्ता गर्दैन तर प्रदीप गिरि आउँदा खासखुस सुरु हुन्छ, इसारा इसारैको टिप्पणी । यो पाटो यहीँ बिसाऊँ, कतै उठाउँला । तर, त्यो दृश्यावली अनौठो लाग्थ्यो । ऊ कस्तो मान्छे हो ? प्रश्नले उत्तर खोज्ने नै भयो । धेरै वर्षपछि लाग्यो उल्झिएको उद्भट प्रदीप गिरि । ज्ञानराशि ।

उद्भट मान्छे सामान्यभन्दा केही भिन्न हुन्छन् रे । इतिहासका मूर्धन्यहरुको जीवनीले पनि प्रायः यस्तै देखाउँछ । प्रदीप दाइ पनि यस्तै रहेछन् । बुझ्न खोज्दा यस्तै लाग्छ । उहाँलाई धेरैले धेरै प्रकारले बुझे । लेख्दैछन् र लेख्नेछन् । अनुभूति पनि स्वतन्त्र छ, अभिव्यक्तिभन्दा बढी स्वतन्त्र । मेरा अनुभूतिमा उहाँ उल्झिएको उद्भट लाग्नुभयो ।

केही कुरा यस्ता हुँदा रहेछन् – ती लाग्छन् तर अभिव्यक्ति शब्दहारभन्दा पर अमूर्त, अस्पष्ट र व्याख्यामा कुद्न नसकिने अनुभूति । मेरो लागि प्रदीप गिरि त्यस्तै उज्यालो तर व्याख्याभन्दा पर, मात्र उज्यालो । उज्यालो आफैँमा पूर्ण छ, बाँकी के व्याख्या सकिन्छ र ?

प्रदीप गिरि कसैको लागि समाजवादी चिन्तक, कसैको लागि विचारपुञ्ज । कसैको लागि शास्त्रीय आध्यात्मको अध्येता, वक्ता र व्याख्याता । व्यक्तिको अविच्छिन्न सार्वभौम स्वतन्त्रताको प्रयोक्ता, प्रवक्ता । माक्र्सवादका शिष्यलाई मार्क्सवाद बुझाउने गुरु ।  प्रजातन्त्रका सर्वस्वीकार्य पथप्रदर्शक प्रदीप गिरि । ज्ञानको भकारीमा के होइनन् प्रदीप गिरि ? बुद्ध, बुद्धत्वका मर्मज्ञ ।

कृष्णप्रसाद भट्टराई (किसुनजी)ले उहाँलाई जोगी भन्नुहुन्थ्यो रे । ज्ञानी गिरिलाई कुन मर्ममा जोगी भन्नुभयो  किसुनजीले ? थाहा छैन । सोध्न उहाँ दुवै यहाँ हुनुभएन । कसैले फकिर भने, कसैले फक्कड । मानिसहरुको मनमनै यतिधेरै पहिचान र विशेषण बनाउने प्रदीप दाइलाई म के भनूँ ? त्यसैले बहुपहिचानमा उल्झिएको उद्भट अध्येता भन्न मलाई मन लाग्यो । यस्तो स्वतन्त्रताको प्रदीप्त उहाँ नै हो ।

कसैको लागि उहाँ निर्भिक आलोचक, समालोचक । अर्थात् निर्मम समीक्षक । योगी पुकारे कसैले तर सबैका दीप्त प्रदीप । विचारमा दलभन्दा माथि, सिद्धान्तमा प्रतिबद्ध पाए उहाँलाई ।

धेरै पटक भेटेको होइन । उहाँ धापासीमा बस्न थालेपछि केही पटक भेट्न गएँ । कहिले काहीँ महाराजगन्जतिर जाँदै र फर्कदै गर्दा भेट्थेँ बाटोमा । प्रायः एकजना साथी, सहयोगी हुन्थे । सधैँ एकनासको हिँडाइ, सुस्त मन्दमन्द ।

बसुन्धराको पत्रिका पसलमा अडिएको पनि पाएँ । श्रद्धा अटेसमटेस हुन्थ्यो – जय नेपाल । उहाँ मुस्कुराउनु हुन्थ्यो, शिर हल्लाएर मेरो श्रद्धा स्वीकार्य सन्देश दिनुहुन्थ्यो । मैले यस्तै बुझ्थेँ । पातलो भेटको कारण सायद उहाँले मलाई चिन्नु पनि भएन, घुरमैलो घुरमैलो देखिएँ कि ?

बिदाइको अन्तिम घडीमा उपस्थितहरुलाई उहाँले कति चिन्नु भएको थियो होला र ? तिनीहरुले कतिपटक नै उहाँलाई भेटे होलान् ? स्पर्श र संगत पाए होलान् ? तर विद्वत्ता र त्यागी चरित्रको दीप्त प्रकाश अनुभूत गरेर नै अन्तिम दर्शनमा ती ओइरिएका थिए ।

संसदीय समाचार संकलनको क्रममा उहाँलाई कैयन्पटक देखेँ, सुनेँ । भन्छन् नि– ‘पिन ड्रप साइलेन्स’ । प्रतिनिधि सभा कक्ष र दर्शक, स्रोता दीर्घा चकमन्न चुप । सबै मन्त्रमुग्ध स्रोतामात्र हुन्थे । प्रायः महाभारतको प्रसंग मिसाएर गम्भीर मन्तव्य दिने उहाँको सायद् व्यंग्यवाण थियो कि प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई घोचेछ ।  चन्दजस्तो शालीन व्यक्तिले त्यतिबेला उहाँलाई दिएको प्रत्युत्तर आरोप असहिष्णु सुनियो । राखिएको भए संसदीय अभिलेखमा भेटिएला २०५१ पछिको बात हो ।

थाहा पाउँदै जादा, अध्ययन, बहस र अन्तरक्रिया उहाँको बौद्धिक अम्मल रहेछन् भन्ने बुझेँ । खुला जीवन, भरिलो पात्र । बीपी खुब मन पाराउनु हुन्यो रे । लाग्छ, विश्वास र शंका दुवैमा हेर्नु भएको छ बीपीले प्रदीप गिरिलाई । बीपीले मन पराउने कारण नै प्रवासी बनारसी उहाँप्रति कम सकारात्मक सुनिएका थिए कि ?

बीपीले प्रगतिशील साहित्यबारे व्यक्त गर्नुभएको धारणा पढ्न खुबै धोको थियो मलाई । अभिलेख कतै पाएको थिइन । प्रायः सधैँजस्तो एक दिन भृकुटीमण्डपको उत्तरी सडकतिर बारको आडमा उठाएर राखिएका पुस्तकको लहरमा बीपी व्यक्त विचारहरुको संकलन, अभिलेख देखेँ ।  प्रगतिशील साहित्यबारे बीपीको विचार विषय सूचीमा पढेँ ।  पुस्तक किने । फर्किएर अघिभर्खरै निस्किएको चिया पसलमा पुगेँ । एकसर्कोमा पढी भ्याएँ । अनन्त सन्तुष्टि मिल्यो । संकलन प्रदीप गिरिकै थियो । उहाँप्रति कृतज्ञ बने ।

घर आएर अभिलेख संकलनमा प्रदीप दाइले लेख्नुभएको भूमिका पढें । जसमा उहाँले महामना बीपीको विरोधाभाषी व्यक्तित्व र त्यसभित्र निहित उदात्तभावको निर्धक्क टंकण गर्नुभएको रहेछ । बीपी शिष्य प्रदीप गिरिसमेत विरोधाभाषले उल्झिएका उद्भट अध्येता भन्ने नै मैले बुझेँ । बुझ्नुको आकृति र सीमा भूगोल जस्तै त हो नि ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC