बैंकक । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री प्रायुथ चान–ओचालाई निलम्बन गरिदिएको छ । बुधबार पाँचजना न्यायाधीशको इजलासमा भएको निर्णयमा चारजना न्यायाधीश प्रधानमन्त्री प्रायुथलाई तत्काल निलम्बन गर्ने पक्षमा उभिएपछि उनी निलम्बित भएका हुन् ।
तर अदालतबाट अन्तिम फैसला आउन बाँकी छ । अदालतले अन्तिम फैसलाको मिति पनि तोकेको छैन ।
आजैदेखि लागु हुनगरी अन्तिम फैसला नआउन्जेलसम्मका लागि उनलाई निलम्बन गरिएको अदालतले बताएको छ ।
उनको कार्यकाल सकिएको दाबीसहित विपक्षी राजनीतिक दलहरूले अदालतमा मुद्दा दायर गरेका थिए । सन् २०१४ देखि सरकारको नेतृत्व गर्दै आएका प्रायुथ आफ्नो कार्यकाल भन्दा बढी सयम सत्तामा रहेको उनीहरूको दाबी छ ।
थाइल्यान्डको संविधान अनुसार प्रधानमन्त्रीको कार्यकाल सीमा आठ वर्ष हो । सन् २०१४ मा पहिलोपटक सत्ता कब्जा गरेका पूर्व सेनाप्रमुख प्रायुथले सन् २०१९ मा भएको अत्यन्तै नियन्त्रित चुनाव जितेका थिए । तर, केही समययता उनले बढ्दो विरोध र आफ्नै गठबन्धनभित्रबाट आलोचनाको सामना गर्दै आएका छन् ।
यसै वर्षसम्म पनि उनी आफूविरुद्ध राखिएको अविश्वासको प्रस्तावमाथि भएका थुप्रै मतदान जित्दै आएका थिए । विपक्षी राजनीतिक दलहरू र उनीहरूका कार्यकर्ताहरूले जुन्ता नेता अर्थात सैनिक सरकार प्रमुख भएदेखि नै प्रायुथको कार्यकाल सुरु भएको दाबी गर्छन् ।
सन् २०१४ को मेमा सैनिक विद्रोह गरी सत्ता कब्जा गरेका उनले सोही वर्षको अगस्टमा आफूलाई सैनिक सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । यस हिसाबले संविधान अनुसार उनको कार्यकाल यसै साता समाप्त हुनपर्ने विपक्षीको दाबी छ । तर उनका समर्थकहरू भने उनको कार्यकाल सन् २०१७ मा नयाँ संविधान लागु भए देखि वा सन् २०१९ को आम निर्वाचनमा उनले विजय हासिल गरेदेखि मात्र सुरु भएको बताउँछन् ।
बीबीसीबाट ।