काठमाडौं । छोर्तेन स्नुकर क्लबले भदौ २५ गतेबाट गोकर्णेश्वर मेयर कप प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपाल विलियार्ड स्नुकर तथा पुल संघको प्रविधिक सहयोग रहने प्रतियोगितामा २५६ भन्दा धेरै खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताका झन्डै ५२ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष सरोजकुमार मुल्मीले बताए ।
प्रतियोगितामा पहिलो चरणका खेल वेस्ट अफ फाइभ र फाइनल चरणका खेल वेस्ट अफ थर्टिनमा खेलाइनेछ ।
प्रतियोगितालाई गोकर्णेश्वर नगरपालिकाले सहयोग गर्नेछ । प्रतियोगितामा हालसम्मकै ठुलो पुरस्कार राशि राखिएको अध्यक्ष मुल्मीले बताए ।
प्रतियोगितको विजेताले दुई लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछ । दोस्रो हुनेले एक लाख ११ हजार रुपैयाँ नगद जित्नेछन् । तेस्रो हुने दुई जनाले समान ५१ हजार रुपैयाँ नगद जित्नेछन् ।
१४७ ब्रेक गर्नेका लागि १० लाख रुपैयाँ पुरस्कार राशि राखिएको छ । त्यस्तै सेन्सर ब्रेक गर्नेले एक लाख एक हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।
हाइएस्ट ब्रेक गर्नेले २५ हजार, बेस्ट प्लेयरले १५ हजार, राइजिङ प्लेयर, बेस्ट डिसिप्लिन प्लेयर र क्वार्टरफाइनल खेल्ने खेलाडीले समान ११ हजार नगद पुरस्कार राखिएको छ ।
प्रतियोगितालाई तीन महिनापछि बंगलादेशमा हुने साफ च्याम्पियनसिप र टर्कीमा हुने युरो च्याम्पियनसिपको छनोटका रूपमा पनि हेरिएको संघका अध्यक्ष मुल्मीले बताए । प्रतियोगितामा महिला खेलाडीको भने सहभागिता हुनेछैन ।