गत स्थानीय निर्वाचनमा केही स्थानमा स्वतन्त्र उमेदवारसँग सत्ता गठबन्धन (घोषित) र प्रतिपक्षी गठबन्धन (अघोषित) दुवै एकसाथ पराजित हुनु सामान्य घटना थिएन । यद्यपि, उक्त घटनामा ठूला दलहरुले आफु स्वतन्त्र उम्मेदवारसँग पराजित भएको स्वीकार नगरी यसलाई आफ्ना कार्यकर्ताहरुको असहयोग र अन्तर्घातका कारण आएको परिणामका रूपमा व्याख्या गरे । यो तथ्यहिन र सतही विश्लेषण हो ।
दलहरुको यो निष्कर्ष घटनाको सही विश्लेषण नभई नेतृत्वको ‘पानीमाथि ओभानो‘ बन्ने उपक्रमका रुपमा आएको कुरा घाम झैँ छर्लङ्ग देखिन्छ । घटनाको यथार्थपरक विश्लेषण गर्ने हो भने यो परिणामलाई दलहरुले आफूहरु शासकीय भूमिकामा रहँदा जानाजान गरेका थुप्रै कमी कमजोरी तथा गलत क्रियाकलापविरुद्धको स्वाभाविक जनआक्रोशका रुपमा लिनु उपयुक्त हुनेछ । सँगै यस घटनालाई जनमानसमा दलहरु प्रतिको आकर्षण र सान्दर्भिकता घटेको रुपमा अर्थ्याउँदा पनि अतिशयोक्ति नहोला ।
दलहरुले सामाजिक परिवर्तनलाई आत्मसात नगरी उल्टै जनमतलाई धन, शक्ति, सत्ता र बलको आधारमा आपूm अनुकूल प्रयोग गर्दै यथास्थितिलाई निरन्तरता दिन खोज्नुको परिणाम पनि हो यो । यति ठूलो सामूहिक पराजयको घटनालाई समेत यथार्थपरक विश्लेषण गरेर विगतमा भएगरेका दलीय कमजोरीहरुलाई सच्च्याउन नचाहँदा आगामी निर्वाचनमा दलहरुले झनै अकल्पनीय परिणाम प्राप्त गर्ने निश्चित छ ।
परिवर्तन अवश्यंभावी छ । स्थान विशेषमा यसको गति, मात्रा र समयसीमा भने फरकफरक हुनसक्छ । ढुङ्गे युगबाट सुरु भएको सामाजिक परिवर्तनको यात्रा एक्काइसौं शताब्दीको सभ्य सामाजिक परिवेशसम्म आइपुग्दा मानव जीवनले धेरै उतारचढावको सामना गर्दै यहाँसम्म आइपुगेको तथ्य विभिन्न अध्ययन अनुसन्धानबाट पुष्टि हुन्छ । ढुङ्गे युग मानव जीवनको सबैभन्दा अन्धकारपूर्ण समय थियो किनभने त्यहाँ जीवजन्तुको जस्तै मानिसको पनि एकमात्र लक्ष्य जीवन निर्वाहका लागि संघर्ष नै थियो । त्यतिबेला अहिलेको जस्तो मान्छेहरुबीच मानवता, भाइचारा तथा सौहार्दकोे अवस्था थिएन । मानिस मानिससँगै तर्सिनुपर्ने अवस्था थियो ।
दार्शनिक थोमस हब्स्को भनाइलाई आधार मान्ने हो भने त्यतिबेलाको मानव जीवन निकै कष्टकर, त्रासदीपूर्ण र ‘सबैको सबैसँग युद्धको खतरा’को अवस्थाबाट गुज्रिएको थियो । कृषि युगमा आइपुग्दा मानव जीवनमा उल्लेख्य परिवर्तन देखियो । मानिसहरु निश्चित स्थानमा व्यवस्थित बसोबास गर्न थाले । कष्टकर मानव जीवन विभिन्न आविस्कारहरूमार्फत सहजतातिर उन्मुख भयो । यसको लगत्तै औद्योगिक युगको आरम्भ भयो । मानव जीवन विज्ञान र प्रविधिबाट सुसज्जित हुन थाल्यो र यो तुलनात्मक रुपमा व्यवस्थित तथा सुखद भयो । औद्योगिक युगपछि मानव समाज झनै परिष्कृत र व्यवस्थित हुँदै उत्तरऔद्योगिकताको परिवेशसम्म आइपुग्यो । आज हामी त्यही युगका मानिस हौँ ।
प्रत्येक युगमा मानव जीवनमा आएको परिवर्तनसँगै राजनीति, शासन प्रणाली तथा शासकीय स्वरुपमा पनि उल्लेख्य परिवर्तन हुँदै गए । मध्ययुगसम्म अस्तित्वमा रहेको ससाना राज्यमा विभक्त पारिवारिक, वंशाणुगत तथा जातीय, क्षेत्रीय तहको शासकीय प्रणाली आधुनिक युगसम्म आइपुग्दा प्रतिनिधिमूलक प्रजातान्त्रिक व्यवस्थामा रुपान्तरित र विकसित हुँदैगयो । प्रत्येक राजनीतिक सामाजिक परिवर्तनपछि विश्वव्यापीरूपमै शासन प्रणाली, शासकीय स्वरूप र शासकको भूमिकामा उल्लेख्य परिवर्तन देखियो । हाम्रो देशमा भने पटकपटक भएका ऐतिहासिक परिवर्तनहरु सैद्धान्तिक तथा कागजीरूपमा सीमित गरिए ।
हामीले छोटो समयमा थुप्रै राजनीतिक सामाजिक क्रान्ति गर्र्यौँ । साम्यवादी व्यवस्थाबाहेक विश्वमा देखिएका धेरैजसो शासकीय अभ्यास भयो तर व्यवहारमा अझै पनि हाम्रो राजनीति कृषि युगको सामन्तवादी सोचबाट मुक्त हुनसकेको देखिँदैन । राजनीतिक व्यवस्था पटकपटक परिवर्तन भए पनि व्यक्ति र सोच भने पुरानै छन् । सभ्य समाजिक परिवेश तथा प्रजातान्त्रिक युगमा पनि हामी फरक विचार र समूहलाई सम्मान गर्न सकिरहेका छैनौ । क्षमतावान व्यक्तिलाई उपयुक्त स्थान दिएर जनतालाई सुशासन दिनुको साटो बेलाबखत परिवारवादको राणाकालीन अभ्यासलाई निरन्तरता दिने असफल प्रयास गरिरहेका हुन्छौँ ।
वर्तमान राजनीतिक परिवेश ढुङ्गे युगको जस्तो हिंस्रक आक्रमणको अवस्थाबाट नगुज्रिए पनि असहमतलाई समूल नष्ट पार्नुपर्छ भन्ने सोच नेतृत्व तहका प्रायः सबै राजनीतिक नेतामा छ । संविधानमा बहुलवादको प्रावधान समावेश गर्ने दलहरु नै मुलुकमा विद्यमान विभिन्न राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक समूहका फरकफरक विचारहरुलाई राज्य सञ्चालनको क्रममा उपयुक्त स्थान दिन चाहँदैनन् ।
नेतृत्वले आफूलाई जति नै ‘प्रजातन्त्रवादी’ भएको दाबी गरे पनि आफ्ना आत्मकेन्द्रित विचार र योजनासँग सहमत नहुने व्यक्तिलाई छानीछानी तिरस्कार गरिएका थुप्रै उदाहरण देख्न सकिन्छ । अहिले पनि परम्परागत सोच तथा दासमनोवृत्ति बोकेका व्यक्तिहरुलाई नै प्रायः दलीय नेतृत्वले काखी च्यापेको पाइन्छ । नेतृत्व वर्गले अझै पनि दलीय हैकम स्थापित गर्दै एक्काइसौँ शताब्दीको जनमतलाई सत्ता, शक्ति र धनको आडमा नियन्त्रित गर्न खोज्नु स्वाभाविकजस्तै बनिसकेको देखिन्छ । यही दम्भको पछिल्लो कडीका रुपमा अहिलेको गठबन्धनलाई लिन सकिन्छ ।
दलहरू जनमानसमा कति धेरै अप्रिय र असान्दर्भिक भइसकेका छन् भने अबको निर्वाचनमा भोटका लागि दिइने दलीय आश्वासन, प्रतिबद्धता, डर, त्रास आदि सबै प्रयास निरर्थक हुने निश्चित छ । एक दल, दुई दल, पाँच दल वा जतिसुकै ठूलो गठबन्धन किन नहोस् जनता यथास्थितिलाई स्वीकार गर्ने पक्षमा देखिँदैनन् । दलहरु जनताप्रति उत्तरदायी हुने हो भने उनीहरुसँग तत्काल निर्वाचनअघि सुधार गर्न सक्ने दुईवटा विकल्पमात्र देखिन्छ । पहिलो, दलहरुभित्र यथाशीघ्र व्यापक संरचनागत परिवर्तन गरेर दलीय संरचना नेतृत्व वर्गको सत्ता आरोहण गर्ने भर्याङमात्र नभई जनताको समृद्धि र विकासको संवाहक भएको विश्वास दिलाउने । दोस्रो, राजनीतिलाई दलीय नेतृत्वको आफन्त भर्ती केन्द्र नबनाई जनताले रुचाएका व्यक्तिहरुले प्रतिनिधित्व गर्ने थलोका रुपमा विकास गर्ने । फलस्वरुप, सामान्य नागरिकले दलका सक्षम एवं जनप्रिय उमेदवारमध्ये उत्कृष्ट विकल्प छनोट गर्ने अवसर प्राप्त गर्न सकुन् र जुन दलको उम्मेदवार जिते पनि शासन व्यवस्थाभित्र अपनत्व महसुस गर्न सकुन् ।
स्थानीय निर्वाचनको परिणामले प्रजातान्त्रिक प्रणालीमा सत्ता पक्षको विकल्प प्रतिपक्ष हुन्छ भन्ने स्थापित मान्यतामाथि नै प्रश्न खडा गरिदिएको छ । यतिमात्र होइन सत्तापक्ष र प्रतिपक्षलाई एकैपटक पराजित गरेको यस घटनाले उक्त मान्यतालाई पुनर्विचार गर्नुपर्ने अवस्थामा पुर्याइदिएको छ । त्यसैले यस घटनाले सरकार परिवर्तनको मात्र नभई राजनीतिक युग परिवर्तनको पूर्वसंकेत गरिरहेको छ । यसपटकको निर्वाचनले परम्परागतरूपमा स्थापित केही राजनीतिक आधारहरू जसले निर्वाचनमा जितहारको निर्धारण गरिरहेको हुन्थ्यो सबै भत्काएको देखिन्छ । काठमाडौँ महानगर जहाँ परम्परादेखि नै नेवार समुदायको बाहुल्य छ त्यहाँ मदेसी समुदायको गैरराजनीतिक पृष्टभूमिका युवक निर्वाचित हुनुले त्यहाँ निर्वाचन जित्न नेवार समुदायकै व्यक्तिलाई उमेदवार बनाउनुपर्छ भन्ने पूर्व मान्यता भत्किएको छ ।
त्यसैगरी निर्वाचन जित्न दलहरुले क्रान्तिकारी पृष्टभूमिको दलीय राजनीतिभित्र लामो समयसम्म योगदान गरेको व्यक्तिलाई उम्मेदवार चयन गर्नुपर्छ भन्ने मान्यता पनि यसले भत्काइदिएको छ । त्यसैगरी धरानको निर्वाचनमा हर्क सामपाङले ब्राह्मणक्षेत्री समुदायको अपार समर्थन पाएको घटनाले पनि पहिले जितहारलाई निर्धारण गर्ने मानिएका जातीय क्षेत्रीय पर्खालहरू भत्कँदै गएको पुष्टि हुन्छ ।
तसर्थ राजनीतिक दलहरूले विगतमा आफूले गरेका गल्ती र कमजोरी तथा आफ्ना कारण सिर्जित विकृति विसंगतिहरुलाई सुधार गर्ने प्रतिबद्धताका साथ अघि बढ्नुको विकल्प छैन । आगामी निर्वाचनमा जनविश्वास आर्जन गर्न पटकपटक निर्वाचित भइसकेका र सत्तामा रहँदा सधैँ विकृतिका वाहकमात्र बनेका व्यक्तिहरुलाई उमेदवारको सूचीमा समावेश गर्नुहुँदैन । आगामी निर्वाचनमा कम्तीमा पनि एक्काइसौँ शताब्दीको आर्थिक सामाजिक परिवेश बुझ्ने, जनचाहना र प्राथमिकतालाई राज्यका नीतिकार्यक्रममा समाविष्ट गर्न सक्ने, तिनको सफल कार्यान्वयन गर्ने अठोट र क्षमता भएको व्यक्तिमात्र दलको उमेदवार बनाइनुपर्छ । यसो गर्न सकेमात्र वर्तमान राजनीतिमा देखिएको युगपरिवर्तनको चहनालाई सम्बोधन गर्न सकिन्छ र दलहरुको विकल्प दल नै हुन् भन्ने मान्यता पनि कायम राख्न सकिन्छ । साथै, दलहरु सचेत हुन सकेमा नेपथ्यबाट परिवर्तनको यो यथार्थलाई नियाल्दै स्वतन्त्र उमेदवारलाई योजनबद्धरूपमा अघि बढाएर दलहरुलाई पराजित गर्ने र एउटै दलको सरकार बन्न नदिने गृहकार्यमा रहेका विभिन्न शक्तिकेन्द्रहरुसँगै सूक्ष्मरूपमा नेपालको राजनीतिमा आफ्नो हस्तक्षेपकारी भूमिका खोजिरहेकाहरुको रणनीति पनि निस्तेज हुनेछ । स्थानीय निर्वाचनको यो मूल सन्देशलाई दलहरुले बेलैमा आत्मसात गरुन् ।
राजनीतिक परिवर्तनको यो संकेतलाई दलहरूले गहन विश्लेषण नगरी सत्ता, शक्ति, पैसा र कार्यकर्ताको बलमा यथास्थितिमा नै निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न सकिन्छ भन्ने भ्रममा अघि बढ्ने हो भने आगामी निर्वाचनमा पनि उनीहरुलाई स्वतन्त्र उमेदवारको चुनौती महँगो पर्नेछ । अहिले जनताले क्रान्तिको लामो इतिहास बोकेको, जेलनेल सहेको र दलको पुरानो कार्यकर्ताभन्दा असल नीतिनिर्माता, इमानदार कार्यान्वयनकर्ता र सक्षम जनप्रतिनिधिको आवश्यकता महसुस गरेको देखिन्छ । वर्तमान राजनीतिमा मौलाउँदै गइरहेको नवउदारवादको विश्वव्यापीकरणको चरित्र बुझ्न नसक्ने, अझै पनि द्वितीय विश्वयुद्धकालीन राजनीतिक ध्रुवीकरणमा आधारित परम्परागत राजनीतिक चिन्तनका आधारमा घटनाक्रमहरूको साँघुरो विश्लेषण गर्ने नेताकार्यकर्ताहरूले देशको नेतृत्व गर्न गाह्रो छ । अहिले त वर्तमान समाज र देशको आवश्यकता बुझ्ने, जनताको प्राथमिकता पहिचान गर्नसक्ने र तिनीहरुलाई नीतिकार्यक्रममा समाविष्ट गर्नसक्ने फराकिलो हृदय, समग्र राजनीतिक परिवेशको बुझाइ र ज्ञान भएका जनप्रतिनिधि खोजिएको छ ।