काठमाडौं । नेकपा माओवादीले महाधिवेशन सम्पन्न भएको ८ महिनापछि पदाधिकारी चयन गरेको छ ।
लामो समयसम्म रस्साकस्सी भएको महासचिवमा भने देव गुरुङले बाजी मारेका छन् ।
पार्टी विभाजनको बेलामा अध्यक्ष पुष्पकमल दाहालको साथ छाडेका नेता गुरुङलाई अहिले दाहालले नै महासचिव बनाएका छन् ।
यसअघि वर्षमान पुन र जनार्दन शर्मा महासचिवका प्रबल दाबेदार थिए । माओवादीको महाधिवेशनका बेला पुन उपचारका लागि चीनमा थिए ।
महासचिवमा प्रतिष्पर्धा गर्ने चाहना राखेका पुनलाई दाहालले नै ‘तपाईं उपचारबाट नफर्किएसम्म महासचिव चयन हुँदैन अहिले हतार गरेर नआउनू’ भन्ने सन्देश पठाएका थिए ।
त्यसपछि पुन ढुक्कजस्तै थिए । तर शर्मा र पुनबीच सहमति हुन नसक्दा गुरुङले बाजी मारेको एक माओवादी नेता बताउँछन् ।
“शर्मा र पुनबीच जति विवाद देखाइयो, त्यस्तो होइन, देखाउने पनि अध्यक्ष प्रचण्ड हुन्, बनाउने पनि,” ती नेताले बाह्रखरीसँग भने ।
उनको भनाइमा माओवादीभित्र जे जति भएका छन् त्यो सबै दाहालको चाहनाअनुसार नै भएको हो ।
एमसीसी पारित गर्ने बेलामा त्यसको तीव्र विरोधमा रहेका गुरुङलाई अहिले दाहालले साथ दिएको देख्दा पार्टीका प्रभावशाली नेताहरु पनि अचम्ममा परेको ती नेताको भनाइ छ ।
२०१५ सालमा मनाङमा जन्मिएका गुरुङ २०५१ सालदेखि माओवादीमा लागेका हुन् ।
पार्टी विभाजनका बेला मोहन वैद्यको साथ लागेका गुरुङले २०७० सालको दोस्रो संविधानसभा निर्वाचन बहिस्कार पनि गरेका थिए ।
पार्टी विभाजनका बेला दाहालकै खरो आलोचक रहेका गुरुङ पछिल्लो समय ‘एस म्यान’मा परिणत भएको ती नेताको टिप्पणी छ ।
त्यसैले पनि दाहालको रोजाइमा गुरुङ परेका छन् । गुरुङ युद्धकालीन समयकै नेता हुन् । पार्टीभित्र खरो तर कसैसँग मिल्न नसक्ने नेताका रुपमा चिनिन्छन् ।
०५२ सालमा माओवादी सशस्त्र संघर्ष सुरु हुँदा गुरुङ पनि थिए । सशस्त्र संघर्षको अन्तिम तयारीस्वरुप सो पार्टीको बैठक गोरखामा बसेको थियो ।
सो बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व केन्द्रीकरणको प्रस्ताव ल्याएका थिए । प्रचण्डको सो प्रस्तावलाई नेता रामबहादुर थापा ‘बादल’ले माओवादी पतनको सुरुवात भनेर व्याख्या गरेका थिए ।
देव गुरुङ पनि त्यसबेला बादलकै लाइनमा उभिएका थिए । ०६१ सालमा बाबुराम भट्टराईलाई माओवादीले कारवाही गरेपछि गुरुङ पार्टीको पश्चिम ब्यूरो इञ्चार्ज समेत भए ।
युद्धकालीन समयमा प्रचण्डकै लाइनमा उभिएका गुरुङ पार्टीले शान्ति र संविधानको लाइन लिएपछि रुष्ट बन्दै गएका थिए ।
सम्बन्ध बिग्रँदै गएपछि उनले प्रचण्डको आलोचना गर्न थाले । गुरुङकी श्रीमती यशोदा सुवेदी पनि माओवादी सासंद हुन् ।
रामबहादुर थापा बादलको नजिक रहेका गुरुङ ०७३ मा फेरि माओवादीमै फर्किएका थिए उनीसँगै ।
यसबीचमा एमाले र माओवादी मिलेर नेकपा बन्यो । केपी ओलीले दुईपटक संसद विघटन गरेपछि सो विवादमा पार्टी विभाजन भयो । सर्वोच्चले दुई पार्टीलाई पूवर्वत अवस्थामा फर्काइदिएपछि थापा एमालेमा गए भने गुरुङ माओवादीमै रहे ।
उनले त्यतिबेला बादल नेतृत्वमा माओवादीमा आएका नेताहरुलाई रोक्न ठूलो भूमिका खेलेको भन्दै प्रचण्डले विश्वास गरेको एक माओवादी नेताको टिप्पणी छ ।