आजकल काठमाडौंका बच्चादेखि बूढामात्र होइन विदेशी आगन्तुकसमेतबाट काठमाडौं फोहोरको दलदलमा फसेको टिप्पणी हुनेगरेको छ । यो दिनप्रतिदिन बढदै जाने समस्या हो । मुख्यतः समस्याको पहिचान समयमा नगर्दा यसले विकरालरूप लिएको हो ।
काठमाडौंका जनताले बडो विचार गरेर बालेन शाहलाई महानगर प्रमुख (मेयर) पदमा विजय गराए । त्यो काठमाडौंका जनताको चाहना थियो । पदभार समाालेदेखि नै उहाँ फोहोरको समस्या समाधान गर्न लाग्नुभएको छ र यो उहाँको प्राथमिकतामा पनि परेको छ ।
फोहोरको थुप्रो देखिनु एक दिनको समस्या भने होइन । यो त महिनौंदेखि थुप्रिएको फोहोरको थुप्रो हो । उहाँको मनमा काठमाडौं–पाटनको फोहोर सिसडोल–बञ्चरे डाँडामा लगेर राख्न फयाक्न पाइन्छ भन्ने रहेछ । साथै उहाँको मित्र वा कार्यालयका साथीहरूले ‘ल्यान्डफिल’को समस्याले नै काठमाडौंमा फोहोर थुप्रिएको हो भनेको र त्यसलाई शाहले विश्वास गरेजस्तो देखियो । सरसरी हेर्ने हो भने त्यो विचार पनि ठीकै हो । तर, काठमाडौं पाटनबाट दैनिक उत्पादन हुने फोहोरलाई उहाँ र उहाँका सहकर्मी साथीहरूले राम्रो चिन्न सक्नुपर्छ ।
फोहोर व्यवस्थापनको मूल कडी भनेको उत्पादित फोहोरको सही पहिचान हो । त्यसपछि फोहोरसम्बन्धी अरू कुराहरू तपसिलमा आउँछन् । काठमाडौं पाटनको फोहोरमा तलदेखि माथिसम्म राजनीतिको खेल्ने क्षेत्र बनाएको हो भने मैले बुझ्न सकिन । यस बेला नगर प्रमुख शाहले एकचोटी पछाडी फर्किएर हेर्ने हो । के काठमाडौंमा ल्यान्डफिल साइटमा फोहोर राख्ने समस्या पहिले थिएन र ? सो समय के कसरी फोहोर उठाउने र व्यवस्थापन कार्य गरियो ? ल्यान्डफिल साइट गोकर्ण, नागदहको बेलामा बेलाबेला आउने समस्या कसरी हल गरियो ? आदिबारे जान्नुपर्ने हो । वा साथीहरूले जानकारी गराउनु पर्नेथियो । सायद उहाँ नयाँ भएकोले त्यसबेलाको फोहोरको समस्या पुरानो भएको होला ।
समस्या हल गर्ने उपाय राम्रो हुन्छ भने नयाँ वा पुरानो भनेर छुट्टाउनु हुँदैन । पंक्तिकारले २०३८–२०३९ सालदेखि २०४६–२०४७ सालसम्म फोहोर मैला व्यवस्थापन तथा स्रोत परिचालन केन्द्रको प्रमुख भएर काम गरेको थिएँ । सो अवधिमा ठूलासाना धेरै समस्या आएको थिए । तिनलाई एक समूहको भावनामा र स्थानीयको सहयोगमा गोकर्ण ल्यान्डफिल साइटको समस्या समाधान गरिन्थ्यो ।
अब प्रस्तुत समस्याको समाधान गर्नेतर्फ अग्रसर होऊँ । मेरो सानो विचार, अनुभव, छिमेकी देशहरूले बेलाबेलामा अपनाएका सिद्धान्त आदिका आधारमा म केही चर्चा गर्दैछु ।
अहिलेको फोहोरको समस्या समाधान गर्न गराउन निम्न मुख्य कामतर्फ लाग्नुपर्छ – १. यो समस्यालाई पहिलो प्राथमिकता दिएर संकट व्यवस्थापन रणनीतिको माध्यमबाट फोहोर तह लगाउने । जस्तैः टेकुलाई एक ट्रान्सफर स्टेसनको रूपमा खडा गरेर अधिकतम फोहोरलाई तह लगाउने । यसमा जति पनि फोहोर उठे वा उठाएर ल्याइन्छ लामो लामा थुप्रा (विन्ड्रो)हरू बनाएर फोहोर तह लगाउने । त्यहाँ भएका सबै साधन मालसामान अन्य ठाउँमा लगेर राख्ने । केही दिन वा साता टेकु ट्रान्सफर क्षेत्रलाई अस्थायी ल्याण्डफिल साइट बनाउने ।
त्यस क्षेत्रको वरिपरि जस्तापाताबाट ३० फिट अग्लो पर्खालजस्तो बनाएर घेर्ने र सो क्षेत्रलाई सफा सुग्घर राख्ने । ती थुप्राहरू (विड्रो)लाई अहिलेको समय २१ दिनमा फोहोर पल्टाउने र मल तयार गर्ने वा त्यो माटो भए पनि अन्य क्षेत्रमा प्रयोग गर्ने वा दिने व्यवस्था मिलाउने । पछि ठाउँको अभाव भएमा ललितपुर महानगरपालिका क्षेत्र रहेको मल पोखरीको दक्षिणपट्टि क्षेत्रमा व्यवस्थित तरिका एरोबिक वा एनेरोबिकबाट लामोलामो खाल्डो खनेर फोहोर राखौँ र त्यस क्षेत्रलाई पूरै वरिपरि जस्तापाताबाट घेरेर राखौँ । हामी झन्डै काठमाडौं–पाटनको तीनचार महिनाको फोहोर उठाएर राख्न सक्छौँ । यसमा सबैको सहयोग चाहिन्छ ।
यस्तो खालका ठाउँ काठमाडौं–पाटन केही स्थानलाई यस घडीमा प्रयोग गरौँ । फोहोरमा रहेको पुनः प्रयोग वस्तु छनौट कार्यलाई पूरा प्राथमिकताको साथ सो कार्य अगाडि बढाऊँ जसले फोहोरको मात्रामा झन्डै १५, २० प्रतिशत कमी ल्याउँछ । उक्त छनोट गरिएको वस्तुलाई पछि स्रोतका रूपमा परिचालन गरूँ ।
अहिले काठमाडौं–पाटनको भू बनोट, बाटो र बस्तीलाई मनन गरेर पुरानो बाक्लो क्षेत्रमा हरेक परिवारले आफ्नो घरको फोहोर तीनदेखि चार दिन घरमै राख्ने, अलि खुल्ला क्षेत्र छरिएर भएको बस्तीमा ५ देखि ७ दिन घरमा फोहोर राख्न लगाउने र जसको घर कम्पाण्ड छ त्यहाँ आफ्नै जग्गामा खाल्डोमा फोहोर राख्न लगाउने ।
यसो गर्न लगाएपछि सो क्षेत्रमा फोहोर संकलनको समय र दिन तोकी साधन पठाउने र सो फोहोर टेकुमा ल्याई माथि उल्लेख भएका विधि अपनाउने । ठूला ठूला कार्यालयहरूले हाललाई आफ्नै क्षेत्रमा मिलेर फोहोर खाल्डोमा राखेर पुर्ने व्यवस्था गर्ने । हाल निजी क्षेत्रबाट जुन तरिकाले फोहोर टोलटोलमा उठाउने कार्य गरिएको छ त्यसलाई सात दिन सट्टा दस दिनमा फोहोर उठाउने व्यवस्था गराउने । निजी क्षेत्रलाई झन् प्रोत्साहित गरेर र सहयोग दिएर कार्य क्षेत्र बढाउन लगाउने । हाल निजी क्षेत्र गरेको कार्य सन्तोषजनक छ र सो क्षेत्र अन्य ठाउँभन्दा सफा देखिन्छ ।
घरघरमा फोहोरलाई अलग छुट्टाउन प्रोत्साहित गरौँ । माथि उल्लेख भएको ठाउँहरू फोहोर उठ्न बाँकी छ भने पुनः नगरपालिकाले त्यस्तो ठाउँमा फोहोर संकलन गर्न पठाउने । अस्पतालका फोहोर, निर्माणजन्य फोहोर, आफूआफूले नै व्यवस्थापन गर्नुपर्ने आदेश गर्ने । मरेका जनावरलाई वातावरण दूषित नहुने गरी विसर्जन गर्ने । ठाउँठाउँमा फोहोरको थुप्रो भएको ठाउँमा फोहोरको झोल (कालो तरल पदार्थ) देखा परेका छन् । सो झोललाई लिचेट भनिन्छ जुन स्वास्थ्य र वातावरणको लागि हानिकारक हुन्छ । हाललाई जुन ठाउँमा फोहोर सार्वजनिक रूपमा राखिन्छ नगरपालिकाले प्रदान गर्ने सेवा क्षेत्र होस वा निजी क्षेत्रले फोहोर उठाउने क्षेत्र त्यसको पूरा पहिचान गरी समय हेरेर ४.५ क्यू मिटर वा ५.५ क्यू मिटरको कन्टेनरहरू राख्ने व्यवस्था हाललाई गर्न सके पनि ९० प्रतिशत लिचेट समस्या हल हुनेछ । सो कन्टेनर राख्ने क्षेत्र कहिले र कुन समयमा उठाउने भन्ने बारे नगरबासीलाई नगरपालिका जानकारी दिनुपर्छ । कन्टेनर राखेको ठाउँ वा यसको वरिपरि चुन वा कुनै औषधि छर्नु राम्रो हुन्छ ।
यस्तो अवस्थामा महानगरपालिकालाई सरकारदेखि सबै सरोकारवाला व्यक्ति वा समुदायले सहयोग गर्न सक्नु पर्यो र माथि उल्लेख काम गर्दा कोही कसैलाई बाधा अडचन हुन्छ भने केही समयको लागि सहनु पर्यो ।
२. दोस्रो कदम सिसडोल–बञ्चरे डाँडाका स्थानीय जनतासँग बाचा गरेका कुरा सही तरिकाले मान्नुपर्यो र यसमा सरकारले प्रत्यक्ष सहयोग गर्नुपर्यो । त्यहाँ स्थानीय जनतासँग सम्झौता भएपछि वा सम्झौताअनुसार ल्यान्डफिल साइटको मापदण्ड र अक्षरसहित पालना गर्नुपर्छ ।
हाम्रो फोहोरमा जैविक फोहोरको मात्रा झन्डै ६५ प्रतिशतभन्दा बढी भएकोले टेकु ट्रान्सफर क्षेत्रका हाललाई ५० टन क्षमता भएको दुईवटा कम्पोस्ट प्लान्ट निर्माण कार्य थालनी गरौँ जसबाट हामी झन्डै १०० टन प्रागारिक मल उत्पादन गर्न सुरू गर्न सक्छौँ ।
यसलाई पछि गएर २०० टन प्रांगारिक मल उत्पादन गर्न सकिन्छ । अहिले हामीले १०० टन मल उत्पादन कार्य एक वर्षको अवधि लगाएर प्रांगारिक मल कारखाना तयार गर्यौँ भने झन्डै ५० ट्रिप ४ क्युबिकमिटर क्षमताको गाडीले बोक्नुपर्ने जति फोहोर सिसडोल–बञ्चरेडाँडा पठाउनु पर्दैन ।
३. तेस्रो काम : काठमाडौं–पाटनबाट उत्पादित फोहोरलाई राम्रोसँग पहिचान गरौँ । फोहोर पहिचान गर्दा फोहोरको भौतिक, रासायनिक, जैविक र भूउपयोग तथा वातावरणीय पक्षलाई विचार गरेर विभिन्न विषयका विज्ञहरूसँग सरसल्लाह, सहयोग लिएर काम गरौँ । फोहोर सुरूमा कहाँ कसरी राख्ने ? घरघरमा, घरबाट आएको फोहोर के कसरी संकलन गर्ने ? संकलित फोहोरलाई के, कसरी, कहाँ लग्ने ? स्थानान्तरण स्थान (ट्रान्सफर स्टेसन)को सही उपयोग गरौँ ।
सुरूदेखि नै फोहोरमा भएको काम लाग्ने वस्तुलाई छनोट गर्ने कार्य व्यापक बनाऊँ, जैविक फोहोरबाट प्रांगारिक मल उत्पादन गराऊँ, सो मल कृषि, वागवानी, पार्क, बगैचामा प्रयोग गरौँ र यसको प्रयोगको लागि सरकारबाट सहुलियत दिनुपर्छ र यसले कृषि जमिनको माटो राम्रो बनाउनेछ । बाँकी हुन आएको फोहोर झन्डै कुल उत्पादित फोहोरमा १५ – २० प्रतिशत फोहोर जसमा ढुंगा, ईँट्टाका टुक्रा, माटो, बालुवा, काठका टुक्रा आदि जुन वातावरण दूषित नहुने फोहोरलाई सिसडोल–बञ्चरे डाँडामा पठाऊँ । त्यसले गर्दा जनगुनासो आउँदैन र लयान्डफिल साइटको वातावरण राम्रो हुने र त्यसको क्षमता पनि दोब्बर हुनेछ ।
स्थानीय सरकार, सरोकार समुदायको प्रत्यक्षमा सहभागिता ल्यान्डफिल साइटको रेखदेख अनुगमन कार्य गर्नु गराउनुपर्छ । विकसित देशमा पनि सो अनुसार काम भएका छन् ।
काठमाडांै–पाटन नगर सफा राख्न अर्को मुख्य कार्य भनेको उत्पादित फोहोरलाई सुरूदेखि अन्तिम विसर्जन गर्ने ल्यान्डफिल साइटसम्म गर्ने कार्य ज्यादै नै जटिल भएको हुँदा कुन कुन ठाउँ ? कुन बाटो ? कुन फोहोरको भाँडो कहाँ लग्ने ? कति फोहोर भरिएको भाँडा कहिले उठाउने ? कुन कुन ठाउँमा घर दैलो फोहोर उठाउने ? कुन कुन सडकलाई कहिले कुन दिन सफा गर्ने ? फोहोर ढुवानी गर्ने साधन कति प्रतिशत तयारी राख्ने ? कति क्षेत्रमा सेवा पुर्याउने भन्नेजस्ता विषयलाई विचार गरेर एउटा ‘रुट अप्टिमाइजेसन फर कलेक्सन एन्ड डिस्पोजल मोडल’ तयार गरेर काम गर्दा राम्रो हुन्छ ।
अर्को मुख्य पाटो फोहोर व्यवस्थापन कार्यमा जनसहभागिता हुनु अनिवार्य हो । यसमा जनसंचार नीति तय गरी व्यापक सफाइमा उत्प्रेरण कार्य सुरु गर्ने । जनसहभागिता नभएमा फोहोर व्यवस्थापन कार्य अधुरो हुनेछ । हाललाई मेरो सुझाव माथिका बुँदाहरूमा राखेको छ ।
(पूर्वमहाप्रबन्धक, फोहोरमैला व्यवस्थापन तथा स्रोत परिचालन केन्द्र)