मुम्बई । प्रदर्शनरत बलिउड चलचित्र ‘लाल सिंह चड्डा’माथि भारतीय सेनाको अपमान गरेको आरोप लागेको छ । सामाजिक सञ्जालमा बहिष्कारको अभियानपछि अभिनेता आमिर खान र अभिनेत्री करिना कपुर खानको चलचित्र अब कानुनी झमेलामा फसेको छ ।
नयाँ दिल्लीका एक वकिलले उक्त चलचित्रविरुद्ध उजुरी दिएका हुन् । उनले चलचित्रले भारतीय सेनाको अपमान गरेको भन्दै निर्माताहरू आमिर खान, अद्वेत चन्दन र पारामाउन्ट पिक्चर्स तथा चलचित्रसँग जोडिएका अरू केही मुख्य व्यक्तिहरूविरुद्ध उजुरी दर्ता गराएका छन् ।
“चलचित्रमा मानसिक अपांगता भएका व्यक्तिलाई कारगील युद्धमा लड्नका लागि सेनामा भर्ती हुने अनुमति दिइएको छ । जबकि, कारगील युद्धका लागि उत्कृष्ट सेनाका जवान र कडा तालिमप्राप्त जवानहरूलाई मात्रै पठाइन्छ भने सत्य सर्वविदित छ । तर, चलचित्रमा नियतवश नै भारतीय सेनाको अपमान गर्न त्यसरी चित्रण गरिएको छ,” उजुरीपत्रमा उल्लेख छ ।
यस्तै, चलचित्रको एउटा दृश्य जसमा अभिनेता आमिरले पूजापाठलाई ‘मलेरिया’को संज्ञा दिएका छन्, त्यसविरुद्ध पनि उजुरी छ । फिल्ममेकरले धार्मिक दंगा र अराजकता फैलाउने काम गरेको र विभिन्न धर्म र विचारका समूहबीच वैचारिक मतभेद निम्त्याउन खोजेको उजुरीकर्ताको आरोप छ ।
‘लाल सिंह चड्डा’ अंग्रेजी चलचित्र ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । चलचित्र यही अगस्ट ११ तारिखमा रिलिज गरिएको हो । बलिउड हंगामाबाट ।